हामीले नेपाल भ्रमणबर्ष २०२० मनाईरहेको सन्दर्भमा जनकपूरधाममा ठूलो संख्यामा आउने भारतीय पर्यटकहरुको भूमिकालाई हामीले भुल्नु हुँदैन पैदल मार्गबाट पनि हजारौं पर्यटक धार्मिक पर्यटनकालागि आउने गरेको सन्दर्भमा स्थल मार्गबाट आउने लाखौं भारतीय पर्यटकको संख्याले २० लाख पर्यटक भित्र्याउने राष्ट्रिय लक्ष पुरागर्न महत्वपूर्ण भूमिका रहनेकुरालाई नजरअन्दाज गर्न मिल्दैन । भारतीय पर्यटक स्थलमार्गबाट आउँदा पर्यटकको रूपमा नगनिनु र तिनै भारतीय पर्यटक त्रिभुवन विमानस्थलबाट आउँदा पर्यटकको रूपमा गनिनु भने अचम्मको विषय भएको छ । विश्वमा नेपाललाई फरकरूपमा चिनाउनपर्यटन एकदमै सान्दर्भिक क्षेत्र हो । प्रदेश २ मा पर्यटकलाई संख्यामा भन्दापनि बसाईको अवधि र उनीहरुले प्रतिदिन गर्ने खर्चमा बढी ध्यान दिनसके आर्थिक समृद्धिमा समेत टेवा पुग्ने देखिन्छ । यि र यस्तै बिषयमा रहेर नेपाल भ्रमण बर्ष २०२० को लागि प्रदेश २ का संयोजक समेत रहेका युवा अभियन्ता मनिष झासँग सफल नेपालकी बिशेष सम्वाददाता दुर्गा कुसुमले गर्नुभएको कुराकानीको सम्पादित अंश ।
० नेपाल भ्रमण वर्ष किन आयोजना गरिएको हो ?
कुनै पनि देशमा राजनीतिक, भौगोलिक वा संवैधानिक परिवर्तन आयो भने त्यो देशले कुनै न कुनै किसिमको ठूलो अभियान चलाउने, उत्सव र महोत्सव आयोजना गर्ने गर्दछ । जसले गर्दा त्यो देशको नयाँ ब्रान्ड र इमेज निर्माण हुन्छ । आफ्नो ल्याकत र सान्दर्भिकताअनुसार सबै देशले अभियानहरू आयोजना गर्ने गर्दछन् । नेपालको सन्दर्भमा यहाँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने पर्यटन पनि हो । पर्यटन व्यवसाय हाम्रो लागि एकदमै ठूलो स्रोत हो । किनकि दुई ठूलो देशको बीचमा रहेकोले उत्पादनमा हामी प्रतिस्पर्धा गर्न सक्दैनौं । त्यसैले सेवा प्रवाहमा हाम्रो लागि पर्यटन ठूलो सम्भावना बोकेको छ ।
० भ्रमण वर्षका लागि अहिले उपयुक्त समय हो त ?
हामी राजनीतिकरूपमा पुनःसंरचनामा गएका छौं । यो देखाउनका लागि हामी फरक भएका छौं । माओवादी जनयुद्ध वा दरबार हत्याकाण्ड वा बन्द हड्तालको कहरबाट निस्केर पर्यटनको सम्भावना बोकेको देश पनि हो भनेर देखाउनका लागि अन्तर्राष्ट्रिय आकर्षण गर्न सक्ने अभियान हामीलाई आवश्यक थियो । त्यो क्रममा पर्यटन प्रमोशन देखाउन हाम्रो लागि नेपाल भ्रमण वर्ष हो ।
० पर्यटन नै किन ?
उत्पादन र अन्य कुराहरू हाम्रो लागि उपयुक्त हुँदैन । विश्वमा नेपाललाई फरकरूपमा चिनाउनका लागि पर्यटन एकदमै सान्दर्भिक क्षेत्र हो । जसले गर्दा हामीले पर्यटनलाई छान्यौं । हाम्रो सातवटै प्रदेशको आआफ्नै आधुनिक पहिचान छन् । कुनैमा बजारको सम्भावना छ, कुनैमा प्राकृतिक सम्पदाहरू छन् । प्रदेश २ को हकमा अध्यात्म छ । त्यसरी नै सबै प्रदेशहरूले आआफ्नो महत्व रहेको छ । स्थानीय जनताहरूले पनि आआफ्नो महत्व बुझोस्, सम्भावनाहरू महसुस गरोस् भनेर यो अभियान सञ्चालन गरिएको हो ।
० पर्यटन वर्षको लक्ष्य २० लाख विदेशी पर्यटक भित्र्याउने रहेको छ, यसका चुनौतीहरू के–के देख्नुहुन्छ ?
हरेक प्रदेशको आआफ्नो पहिचान र लक्ष्यहरू छन् । यो सन्दर्भमा सबै प्रदेशका लागि २० लाख पर्यटक सान्दर्भिक नहुन सक्छ । २० लाख पर्यटक भित्र्याउने मानकहरू के–केमा केन्द्रित गर्ने, कसरी यो सम्भव हुन्छ भनेर हेर्दा भारत, चीन र अन्य मुलुकहरू छन् । सबभन्दा बढी पर्यटक आउने भनेको भारत, चीन, अमेरिका, युरोप लगायत छन् । ती देशहरूबाट के अपेक्षा गरेर पर्यटकहरू आउने गर्दछन् त भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने हो । म प्रदेश २ को संयोजकको रूपमा हेर्दा संख्याभन्दा पनि बसाईको अवधि र प्रतिदिन गर्ने खर्चमा बढी ध्यान दिनुपर्छ ।
० सरकारको २० लाखको लक्ष्य बाराको महागढीमाई मेला एक्लै पूरा गरेको छ । भारतबाट आउने पर्यटकहरूलाई सरकारले किन गन्दैन भन्ने गुनासोहरू पनि छन् ?
यो एकदमै जायज गुनासो हो र यसमा मेरो पनि ऐक्यबद्धता छ । किनभने भारतीय स्थलमार्गबाट आउनेलाई पर्यटकको रूपमा नगनिनु तर त्यहीं भारतीय त्रिभुवन विमानस्थलबाट आउँदा पर्यटकको रूपमा गनिनु एकदम अचम्मको विषय छ । मैले योभन्दा अगाडिको पर्यटनमन्त्री स्व.रविन्द्र अधिकारज्यूसँग बोर्ड मिटिङ्गमै यो कुरा उठाएको थिएँ । पञ्च वर्षीय महागढीमाई मेला, राम नवमी, सलहेश पुजामा आउने पर्यटकहरूलाई मान्ने हो भने हामीसँग पहिला नै १० लाख वैधानिक पर्यटक छन् ।
० तर, हामीसँग संख्या मात्रै ठूलो चुनौती हो कि अन्य कुराहरू पनि छन् ?
हाम्रो लागि संख्या ठूलो चुनौती होइन । म संख्यामा भन्दा व्यावसायिकरूपमा तथ्यांकमा विश्वास गर्छु । विवाहपञ्चमीमा यसपटक तीन लाख बाह्य पर्यटक आएको प्रहरीको तथ्यांक छ । त्यसको आर्थिक योगदान कति भयो त ? त्यो हाम्रो लागि महत्वपूर्ण छ । ती तीन लाख पर्यटक आउँदा हाम्रो लागि आर्थिकरूपमा कति सहयोग पुग्यो ? कति रोजगारी सिर्जना भयो ? भन्ने कुरा महत्वपूर्ण हुन्छ । मान्छे आउनु त्यति महत्व राख्दैन, उसँग आउने अर्थतन्त्र, संस्कार र सन्देश हाम्रो लागि महत्वपूर्ण हुन्छ । नेपालको सन्दर्भमा पर्यटक आउँदा प्रति पर्यटक औसतमा १२.४ दिन बस्छ भन्ने तथ्यांक देखाइएको छ । एउटा पर्यटकले गर्ने खर्च ५४ डलर देखाइएको छ । तर, प्रदेश २ को हकमा हेर्दा पर्यटकको बसाइ २.५ दिन र उहाँहरूले गर्ने खर्च १० देखि १२ डलर मात्रै देखिन्छ । त्यसैले हाम्रो चुनौती भनेको बसाईको अवधि र उसले गर्ने खर्च नै हो ।
० प्रदेश २ मा पर्यटकको बसाईको अवधि र उसले गर्ने खर्च बढाउनका लागि के गर्न सकिन्छ ?
अहिले जनकपुरको उदाहरण लिऔं । जनकपुर भनेको जानकी मन्दिरलाई लिन्छौं । मान्छेहरू आउँछन्, जानकी मन्दिरमा दर्शन गर्छन् र फर्कन्छन् । पर्यटक आउने र दर्शन गरेर फर्कने सोचलाई हामीले परिवर्तन गर्नुपर्छ । त्यसैले हामीले जानकी सर्किट बनाउनुपर्छ । जनकपुरमा आएका पर्यटकले जानकी मन्दिरको दर्शन गरेर मात्र जाने होइन, धनुषवानको अंश रहेको धनुषाधाम पनि जाने, राम र सीताको विवाह भएको भनिमण्डप पनि जाने । यसरी गर्यो भने उसको बसाई अवधि बढ्छ । हामीले अब गर्नुपर्ने काम त्यो हो । त्यसका लागि आवश्यक जानकारी महत्वपूर्ण हुन्छ । जस्तै, जानकी मन्दिरको बारेमा धेरैलाई थाहा छ तर राम र जानकीको विवाह कहाँ भएको हो भन्ने कुरा धेरैलाई थाहा छैन । जानकी मन्दिरसँग विवाहमण्डप जोडिएकोले त्यसलाई सोच्छन्, तर त्यो त होइन । त्यहाँबाट पाँच किलोमिटर टाढा मनिमण्डप हो । यो विषयमा अहिलेसम्म पनि हामीले पर्यटकलाई बुझाउन सकेका छैनौं । जब हामी एक अर्को स्थानसँग जोड्न थाल्छौं भने पर्यटकको बसाई अवधि बढ्छ, उसले गर्ने खर्च बढ्छ ।
० पर्यटनलाई अर्थतन्त्रसँग जोड्न तपाइँहरूको पहल के छ ?
सबभन्दा पहिला यहाँका स्थानीय जनता र प्रतिनिधिहरूको सोचमा परिवर्तन ल्याउन सक्नुपर्छ । पर्यटन पनि हाम्रो अर्थतन्त्रको अंश हुनसक्छ, पर्यटनले पनि रोजगारी सिर्जना गर्न सक्छ भन्ने सोच पैदा गर्न जरूरी छ । हामीले तीन तहमा रणनीतिक योजना बनाएर काम गर्दैछौं । हामीले प्रदेश ५ मा के छ, गण्डकीमा के छ, १ मा के छ भनेर अवलोकन गर्दैछौं । वैदेशिक पर्यटकलाई भित्र्याउने लक्ष्यका साथ हामीले रणनीतिकरूपमा काम गरेकै छैनौं । किनभने मैथिलीमा एउटा कहावत छ, ‘जब तक अहाँ के अपने घरके अवस्था मालुम नै छ तहन पाहुन के बजा कऽ कि करबै’ । अर्थात् तपाइँलाई आफ्नै घर परिवारको अवस्था थाहा छैन भने पाहुनालाई बोलाएर के गर्ने, के जानकारी दिने । त्यसले हाम्रो पहिलो तीन महिनाको योजना के छ भने प्रदेशमा के छ, त्यसको अस्तित्वको परिभाषा के हो, इतिहास के हो त्यो कुराको जानकारी पहिला प्रदेशवासीलाई हुनुपर्छ । जबसम्म जानकी सर्किटको बारेमा जनकपुरकै मान्छेलाई थाहा हुँदैन भने हामीले विदेशीलाई मात्रै ल्याएर हुँदैन । त्यसकारण प्रदेशमा रहेका कुराको जानकारी पहिला प्रदेशवासीलाई हुनुपर्छ, त्यसपछि पूरा देशवासीलाई हुनुपर्छ । प्रदेश र देशमा सबै कुराको जानकारी भएपछि बल्ल विदेशमा लक्ष्य गर्ने हो ।
० भनेपछि, तपाइँहरूले यसमा काम गरिरहनु भएको छ ?
जति सजिलै हुनुपर्ने हो त्यति सजिलै भइरहेको छैन । अभियानको तीनवटा पाटो हुन्छ । प्रशासनिक, प्राविधिक र व्यावहारिक । यी तीनवटा पाटोमध्ये सबभन्दा अप्ठ्यारो प्रशासनिक नै हो । हामीलाई राजनीतिक र सामाजिकरूपमा हुनुपर्ने सहयोग भइरहेको छ । यसको कारण के हो भने यो अभियानको घोषणा संघीय सरकारले ग¥यो, हामीलाई नियुक्ति दियो, प्रादेशिक कमिटी बनाइदियो तर हामीलाई कार्यविधि दिएन । म कसरी काम गर्छु, मेरो पदको वैधानिकता वा व्यवस्थापन के हो, कार्यविधि के हो भन्ने कुरा लिखितरूपमा नदिँदा मैले प्रदेश सरकारसँग गर्ने सहकार्य प्रशासनिकरूपमा कठिनाइ भइरहेको छ । मुख्यमन्त्रीजीले हामीलाई सहयोग गरिरहनुभएको छ, उहाँ अभिभावकको रूपमा हुनुहुन्छ तर कर्मचारीको हकमा उहाँहरूले लिखित कागज बुझ्नुहुन्छ । र कानूनले पनि त्यहीं नै बुझ्छ ।
० प्रदेश २ मा भएका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलहरू ओझेलमा पर्नुको कारण के देख्नुहुन्छ ?
हाम्रा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरू ओझेलमा पर्नुको कारण सरकार मात्रै होइन, स्थानीय पनि हो । उदाहरणका लागि पर्सा जिल्लामा पारसनाथ मन्दिर छ । पारसनाथ मन्दिर जैन धर्मावलम्बीहरूको मुख्य धाम हो । त्यर्ही पारसनाथ मन्दिरको नामबाट पर्सा जिल्ला नामाकरण हुन गएको हो । यो कुराको जानकारी कति स्थानीयलाई छ यो कुरा बुझ्नुपर्छ । म पद सम्हालेदेखि यो एउटा ठूलो कमजोरीको रूपमा पायौं । पहिला हामीसँग भएका कुराको जानकारी हामीलाई नै छैन । यस्तै, सप्तरी जिल्लाको मधुवन गाउँपालिका वडा नं. ६ मा बनसखण्डी भन्ने ठाउँ छ । जहाँ गुरूनानक आएर बसेको विश्वास छ । गुरूनानक आएर बसेको ठाउँलाई हामीले शिख धर्मावलम्बीहरूमा यो कुरा प्रचार गर्न सक्यौं भने जिल्लाको त्यो इकोनोमिक टर्निङ्ग प्वाइन्ट हुनसक्छ । यी कुराहरू जबसम्म स्थानीयरूपमा मान्छेहरू सुसूचित हुँदैनन् तबसम्म हामीले सरकारलाई दोष दिन मिल्दैन । अहिले हामी प्रदेशका आठवटै जिल्लामा पाँच–पाँच वटा पर्यटकीय सम्भावना भएको ठाउँहरूको तालिका बनाएका छौं । त्यसको प्रचार प्रसार गर्ने तयारीमा छौं । पहिला आफैमा के क्षमता छ, मेरो महत्व के हो भन्ने कुरा औंल्याउनु आवश्यक छ । हामीले प्रदेश २ अध्यात्मकको राजधानी हो भनेर ब्रान्डिङ्ग गरिरहेका छौं । प्रदेश २ मा एउटा मात्रै धर्म होइन कि सबै धर्म अटाउने, सबै धर्मको सम्भावना बोकेको हो ।