डा. चन्द्रमणी पौडेल
सिनियर कन्सल्ट्यान्ट कार्डियोलोजिष्ट
दैनिक एक घण्टा आफ्नो शारीरिक स्फूर्तिका लागि दिएमा मुटुरोग लाग्नबाट बच्न सकिने बताउने डा. चन्द्रमणी पौडेल डेढ दशकदेखि चिकित्सा पेशामा सकृय छन् । नेपालगन्ज मेडिकल कलेजबाट सन् २००२ मा एमबीबीएस सकेका पौडेलले सन् २००८ मा काठमाडौंको महाराजगन्ज मेडिकल कलेजबाट एमडी गरेका छन् ।
सन् २०१४ मा सोही मेडिकल कलेजबाट डीएम गरेका उनी सन् २०१६ मा भारतको केरेलाबाट इन्टरभेन्सन कार्डियोलोजिस्टमा एक वर्षको फेलोशीपसमेत गरेका छन् । पौडेल हाल मनमोहन कार्डियोथोरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्डियोलोजिस्टको रूपमा काम गर्दै आएका छन् ।
एमवीवीएस सकिए लगत्तै त्रिवि शिक्षण अस्पतालमा काम सुरु गरेका पौडेल एमडी पढ्दादेखि त्रिवि शिक्षण अस्पतालसँग जोडिएका छन् । इन्टरनल मेडिसीनमा एमडी गरेका पौडेलले सन् २००८ पछि कार्डियोलोजी युनिटमा काम शुरु गरेको बताए ।
त्रिवि शिक्षण अस्पतालले कार्डियोलोजी युनिटलाई विभाग अर्थात केन्द्रको रूपमा विकास गरेर मनमोहन कार्डियोथोरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरको स्थापना गरिएदेखि उनी मुटु रोगको उपचार गर्दै आएका छन् ।
मुटुरोगबाट बच्न खानपानमा ध्यान दिनुका साथै दैनिक शारीरिक व्यायाम गर्नु अनिवार्य रहेको बताउने पौडेलसँग नेपालमा मुटुरोगको अवस्था तथा समग्र चिकित्सा क्षेत्रका अवसर तथा चुनौतीलगायतका विषयमा गरिएको कुराकानी :
पछिल्लो समय नेपालको शहरी क्षेत्रमा मुटुरोगका बिरामी बढेका छन् भनिन्छ । मुटुरोगको अवस्था कस्तो पाउनुभएको छ ?
संसार दिन प्रतिदिन विकासको गतिमा दौडिरहेको छ । त्यो गतिलाई हाम्रो देशले पनि आफ्नै तरिकाले स्विकार गरेको छ । यसको मतलव मुलुक विकासको क्रममा नै छ । त्यसैले ग्रामीण भेगमा भन्दा शहरमा बसोवास गर्ने मानिसको संख्या धेरै छ ।
मानिसको जनघनत्व धेरै भएपछि रोगी धेरै देखिन्छन् । दोस्रो पक्षबाट हेर्दा डाक्टरको संख्या पनि बढेको र सर्वसाधारणमा पनि स्वास्थ्यसम्बन्धी जानकारी हुन थालेको छ अर्थात जनता शिक्षित भएका छन् । सर्वसाधारणले पनि रोग लागेको शंका लागेमा डाक्टरसँग पुगेर जिज्ञासा लिने क्रम बढेको छ ।
शहरी क्षेत्रमा मुटुरोग बढ्नुको मुख्य कारण भनेको खानपान नै हो । विहान सबेरै उठ्ने, विना शारीरिक व्यायाम नै काममा निस्कने गर्दा मुटुको समस्या बढ्न जान्छ । विलासी जीवनको पारखी हुँदा शरीरलाई चाहिने आवश्यक व्यायाम नगर्दा मुटुसम्बन्धी रोग छिटो देखिन्छ । विलासी जीवनको पारखी हुँदा शरीरलाई चाहिने आवश्यक व्यायाम नगर्दा मुटुसम्बन्धी रोग छिटो देखिन्छ ।
केही मानिसले मर्निङ वाक तथा फिजिकल इक्सरसाइज गर्ने भए पनि अधिकांशले गर्दैनन् । फिजिकल इक्सरसाईज नगरेपछि मुटुको कोरोनरी आर्टिकमा गएर बोसो जम्ने, शरीरमा मोटोपन बढ्ने समस्या देखिन्छ । साथै शहरमा बसेका अधिकांशले बहुरोजगार गर्ने भएकाले स्ट्रेस धेरै हुन्छ ।
मुटु रोगको अर्को मुख्य कारण भनेको कम सुत्ने र धेरै स्टे«सले नै हो । साथै शहरी क्षेत्र धेरै रक्सी तथा चुरोट खाने तथा चिल्लोमा तारेको धेरै खाने र शारीरिक सकृयता कम गर्ने प्रचलन रहेकाले मुटुको कोरोनरी आर्टिकसम्बन्धी रोग धेरैमा भेटिएको छ । गाउँ र शहरलाई छुट्याएर हेर्दा, शहरमा पनि तल्लो वर्गको जनसंख्या बढ्न थालेको छ । तल्लो वर्गको मान्छे शहरमा वस्दा एउटै कोठामा धेरै जना बस्नुपर्छ ।
त्यसले शहरमा भिड बढ्यो । त्यसरी बस्दा रुघा–खोकी जस्ता समस्याले धेरै सताउँछ । घाँटीको इन्फेक्सन बढेपछि रिम्याटिक फिवर भन्ने पुरानो रोग बढेर मुटुको रोग पनि लाग्न सक्छ । विगतको तुलनामा शहरमा मुटुको रोगमा परिवर्तन आएको छ । त्यसको मुख्य कारण भिडभाड हो । शहरको तुलनामा गाउँ धेरै सुरक्षित देखिन्छ । गाउँमा हिँड्नुपर्ने हुन्छ ।
शहरमा जस्तो गाडी सुविधा हुँदैन । हिँडेपछि शरीर सकृय हुने तथा व्यायाम हुन्छ । त्यसका साथै शहरमा जस्तो जहाँ भन्यो त्यहीँ खान पाउने सुविधा पनि गाउँमा हुँदैन । शहरका मान्छेमा चिल्लोयुक्त खानपान आवश्यकताभन्दा धेरै भयो ।
यस सम्बन्धमा विशेष अनुसन्धान नभए पनि केही भएका छन् । ती अनुसन्धानले पनि शहरमा हर्टअट्याकका समस्या धेरै देखिएका छन् भने गाउँघरतिर रिम्याटिक डिजिज धेरै देखिएको छ ।
अनुसन्धानहरूले काठमाडौंमा ७ देखि ८ प्रतिशत मानिसमा कोरोनरी आर्टिकसम्बन्धी रोग देखिएको तथ्य बाहिर आएको थियो । धरान मेडिकल कलेजको वरिपरीको गाउँमा भएको अनुसन्धानले गाउँमा रिम्याटिक फिवर डिजिज र धरानको शहरमा मुटुको कोरोनरी आर्टिक डिजिज देखिएको थियो । चुरोट, रक्सी, लागुऔषध तथा उच्च बोसोयुक्त खानपानले गर्दा युवा अवस्थामा पनि हर्टअट्याकको समस्या देखिने क्रम बढेको हो ।
त्यसैगरी गंगालाल मुटु अस्पतालले गाउँगाउँमा क्याम्प गर्दा भल्वसम्बन्धी रोग, जन्मजात मुटु रोग तथा ब्लड प्रेसर धेरै देखियो । ब्लड प्रेसर प्रत्यक्ष रूपमा मुटुरोग त होइन । तर, ब्लड प्रेसरका कारण मुटुरोगको समस्या आउन सक्छ । र, यो हार्टअट्याकको जोखिम पक्ष हो । शहरी क्षेत्रमा व्यस्त जीवनशैलीका कारण मुटुरोगको समस्या देखिन्छ भने ग्रामीण क्षेत्रमा जनचेतनाको अभावका कारण मुटुरोग देखिने गरेको पाइन्छ ।
कुन उमेर समूहमा नसर्ने रोगको वृद्धिदरमा हर्मोनल र भास्कुलर डिजिजहरू सबैभन्दा उच्च दरमा बढिरहेका छन् ?
यसलाई दुई प्रकारमा विभाजन गर्न सकिन्छ । एउटा उमेर समूहअनुसार कुन समूहलाई कुन मुटु रोग लाग्छ भन्ने कुरा भयो । पछिल्लो समयमा भर्खरको मान्छेलाई पनि मुटुरोग लागेको देखिन्छ । जस्तो पाँच वर्षभन्दा मुनिका बच्चालाई जन्मजात मुटुरोगको समस्या देखिन्छ । बच्चा जन्मँदानै मुटुमा प्वाल हुने, भल्व साँघुरिने, कसैको आर्टिकबाट भेन आउने, भेनबाट आर्टिक आउने जस्ता समस्या हुन्छन् ।
यसलाई क्वान्जनाइटल हार्ट डिजिज भनिन्छ । यो ५ वर्षभन्दा मुनीका बच्चामा देखिन्छ । त्यसपछि ५ देखि १५ वर्षका लागि एक्यूट रिम्याटिक फिवर वा मुटुको भल्वको बाथ रोगको समस्या देखिन्छ । यसमा ज्वरो आउने, मुटु सुनिने, स्वास फेर्न समस्या हुने लगायतका समस्या हुन्छन् । त्यही रोग पछिल्लो समयमा गएर पुनः देखिन सक्छ । तर, अब ४० देखि ४५ वर्षको मान्छेलाई मुटुको कोरोनरी आर्टिक डिजिज धेरै देखिन्छ ।
साथै ब्लडप्रेसरको समस्या पनि देखिन्छ । यो समस्या सानैदेखि देखिने तथा पछि गएर बढ्दै जाने हुन्छ । ६० देखि ७० वर्षको मान्छेलाई मुटुको कोरोनरी आर्टिक डिजिज नै देखिने गरेको छ । यस्तै मुटुको झिल्लीमा हुने रोग भाइरलका कारण हुन्छ ।
डायविटीज भएका बिरामीलाई विस्तारै नशाका कारण मुटु रोग हुने समस्या हुन्छ । मुटुको गतिमा खरावी भयो भने मुटुको पेरिफेरल आर्टिकमा रगत जम्ने समस्या हुन्छ । डायविटिजका बिरामीलाई मुटुरोग र भास्कुलर डिजिज धेरै देखिने गरेको छ ।
पछिल्लो समयमा युवा अवस्थामै पनि हर्टअट्याक हुने गरेको देखिएको छ । यसको कारण के हो ?
हो, रोग टे«न्डमा पहिलाभन्दा अहिले केही परिवर्तन भएको छ । पछिल्लो समयमा युवा पुस्तामा पनि हर्टअट्याकका समस्या बढ्दै गएको देखिन्छ । यसको मुख्य समस्या भनेको अल्कोहल र चुरोटको सेवन हो ।
कम सुत्ने र धेरै स्टे«स लिने मान्छेको मुटुको कोरोनरी आर्टिकमा रगत जम्ने समस्या देखिन्छ । कोरोनरी आर्टिक स्पज हुने र हर्टअट्याकको समस्या देखिन्छ । चिल्लो पदार्थ खानुपर्छ । तर, बोसो पचाउन नसक्ने समस्याले आवश्यकताभन्दा अन्य स्थानमा गएर बोसो जम्मा हुने समस्याले पनि हर्टअट्याक हुने देखिन्छ । चुरोट, रक्सी, लागुऔषध तथा उच्च बोसोयुक्त खानपानले गर्दा युवा अवस्थामा पनि हर्टअट्याकको समस्या देखिने क्रम बढेको हो ।
पहिले पहिले मुटुरोगलगायत नसर्ने रोग बुढेसकालमा मात्र हुन्छ भनिन्थ्यो, अहिले त युवा अवस्थामै मुुटुरोग, उच्च रक्तचाप र हृदयघातसम्मका समस्या बढेका छन् । यो अवस्था कसरी आयो ?
यी सबै रोग उस्तै प्रकारका हुन् । यी सबै रोगमा बहुतत्वको जोखिम रहेको छ । मुटुको रक्तनलीको रोग हुनाका लागि एउटा मात्र जोखिम तत्वले पुग्दैन । एउटा जेनेटिकरूपमा नै मुटु रोग हुन्छ । बाबु–आमालाई प्रेसरको तथा कोरोनरी आर्टिकको समस्या छ भने बालबालिकालाई पनि हुने सम्भावना हुन्छ । चुरोट बढी खाने, व्यायाम नगर्ने र स्ट्रेसफुल जीवन भएको खण्डमा कोरोनरी आर्टिक डिजिज धेरै देखिन्छ । बाबु आमालाई प्रेसरको तथा कोरोनरी आर्टिकको समस्या छ भने बालबालिकालाई पनि हुने सम्भावना हुन्छ ।
साथै ४० वर्ष नाघेका केटा मान्छे र महिनावारी रोकिएपछिका महिलामा मुटुरोग धेरै देखिन्छ । बोसो धेरै भएको मान्छेलाई पनि कोरोनरी आर्टिकको समस्या धेरै देखिन्छ । हाम्रो शरीरमा हर्मन कम हुँदै गएपछि पनि मुटुको समस्या देखिन थाल्छ ।
नसर्ने रोगहरूको न्यूनीकरण गर्न सरकारले रणनीति नै बनाएको छ । यो प्रभावकारी छ ? नभए कसरी प्रभावकारी बनाउने ?
सरकारले पहिलेदेखि नै नसर्ने रोगहरूमा लगानी गर्दै आएको हो । हाम्रो झाडापखालाका कारण मान्छे मर्ने देश हो । नसर्ने रोगका सन्दर्भमा धेरै केन्द्रित हुन सकेका छैनौं । सरकारको धेरै खर्च पब्लिक हेल्थमा जान्छ । सरकारले उपचारका लागि धेरै लगानी गरेको देखिँदैन । जनचेतनाका काम गर्दै आएको छ । सन् २०२० सम्ममा सम्पूर्ण जनसंख्याले खाने नुनको खपत २५ प्रतिशत कम गर्ने योजना सरकारले बनाएको छ ।
त्यसैगरी सन् २०२० सम्ममा चुरोटलाई ३३ प्रतिशत र हाइपर टेन्सन २५ प्रतिशत घटाउने योजना छ । यसमा पब्लिक सहभागिता भएको खण्डमा प्रभावकारी हुन्छ । यो धेरै सकारात्मक हो ।
सरकारले भल्वको अप्रेसन गर्न फ्रि गरेको छ । त्यसमा अपरेसन कस्ट र भल्व फ्रि छ । मुटुमा पेसमेकर राख्नुपर्ने अवस्थामा पनि सरकारले लगानी गरेको छ । सरकारको मुटुको बाथसम्बन्धी रोगसम्बन्धी कार्यक्रम सफल हुन सर्वसाधारणको सहभागिता हुनुपर्छ । सरकारले निश्चित स्थानमा निःशुल्क प्रिभेन्सनल काम पनि गर्दै आएको छ ।
मुटुरोगमा गरेको लगानीमा राज्यको भार बढीरहेको छ । सरकारले भार नपर्ने गरी यस्ता रोग नियन्त्रण गर्न कस्तो नीति बनाउँदा उपयुक्त हुन्छ ?
सरकारले साना–साना पाइलट कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य बिमाको कार्यक्रम ल्याएको छ ।
त्यो धेरै प्रभावकारी छ । यो माध्यमबाट उपचार तथा आवश्यक औषधिको खर्च सहज रूपमा जुट्छ । बिमा प्रक्रियालाई प्रयोग गरेर बिमा कम्पनी मार्फत स्वास्थ्य बिमाबाट आएको रकम प्रयोग गरेर सरकारले ठूला काम गर्न सक्छ ।सन् २०२० सम्ममा सम्पूर्ण जनसंख्याले खाने नुनको खपत २५ प्रतिशत कम गर्ने योजना सरकारले बनाएको छ । त्यसैगरी २०२० सम्ममा चुरोटलाई ३३ प्रतिशत र हाइपर टेन्सन २५ प्रतिशत घटाउने योजना छ ।
विश्व स्वास्थ्य संगठनले आगामी १५ वर्षमा नसर्ने रोगका बिरामीको संख्या दुई गुणाले बढ्ने भनेको छ । यो भयावह अवस्थालाई रोक्न के गर्नुपर्छ ?
यसलाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन गरेर कार्यक्रम ल्याउनुपर्छ । तत्काल समस्या भइसकेका मान्छेलाई उपचार त गर्नुप-यो । त्यसपछि जनचेतनाका कार्यक्रम गर्नुपर्छ । जस्तो नुन कम खानुस्, चुरोट रक्सी नखानुस्, चिल्लो धेरै नखानुस्, बोसोजन्य खाना धेरै नखानुस् तथा शरीरलाई सकृय राख्नुस् भनेर दीर्घकालका लागि जनचेतना कार्यक्रम गर्न सकिन्छ ।
सरकारले मुटुरोगको उपचारमा दिँदै आएको सहुलियत धेरै सकारात्मक छ । हृदयाघात भएको बिमारीलाई सरकारले एक लाख रूपैयाँ दिन्छ । यो रकमले हृदयाघातको उपचार पनि हुन्छ । प्रिभेन्सनका लागि सरकारले शहरभन्दा पनि ग्रामीण भेगका सर्वसाधारणलाई सहभागी गराएर कार्यक्रम ल्याएको खण्डमा सफल हुन्छ ।
नसर्ने रोगको परीक्षण र उपचारमा नेपाल प्राविधिकरूपमा कति अगाडि छ ? सुधार्न के गर्नुपर्ला ?
नेपालमा नसर्ने रोगको परीक्षणको सन्दर्भमा भन्नुपर्दा शहरी क्षेत्रमा राम्रो छ । त्योभन्दा बाहिर अर्थात् ग्रामीण भेगमा धेरै समस्या छ । ग्रामीण भेगमा डाक्टर गए पनि पूर्वाधार नभएकाले समस्या हुन्छ । रोग तथा बिरामीको संख्याले पनि पूर्वाधार तयार गर्ने सन्दर्भमा ख्याल गरिन्छ । बिमा प्रक्रियालाई प्रयोग गरेर बिमा कम्पनी मार्फत स्वास्थ्य बिमाबाट आएको रकम प्रयोग गरेर सरकारले ठूला काम गर्न सक्छ ।
थोरै बिरामी हुने ठाउँमा सबै पूर्वाधार खडा गर्दा लगानी मात्र धेरै हुन सक्छ । त्यसकारण डाइग्नोसिस र ट्रिटमेन्टमा नयाँ प्रविधि आएको छ । संसारमा हुने धेरै जसो उपचार नेपालमा हुन्छन् । नेपालमा मुटु प्रत्यारोपण मात्र नभएको हो । त्यो उपचार धेरै महंगो पनि भएकाले तत्कालका लागि मध्यमवर्गका लागि धेरै आवश्यक छैन । थेरापेटीकमा धेरै सुधार आएका छन् ।
त्यसो भए मुटु रोगको उपचारका लागि विदेशीनुपर्ने अवस्था छैन ?
नेपालमा मुटु रोगको सबै उपचार गर्न समस्या छैन । मुटु प्रत्यारोपण र अन्य केही रोगको उपचार गर्न आवश्यक सामग्री नभएका कारण बाहिर जानुपर्ने बाहेक सम्पूर्ण उपचार नेपालमा उपलब्ध छ । सुविधायुक्त अस्पताल र मुटु प्रत्यारोपणका लागि बाहिर जाने बाहेक उपचारका लागि विदेशीनुपर्ने अवस्था छैन ।
परिवारमा मुटु रोगी भएको खण्डमा हेरचाह राम्रो गर्ने तथा मुटु रोगसँग सम्बन्धित आवश्यक जानकारी लिएर होसियारी अपनाउनुपर्ने हुन्छ । मान्छेले गर्ने हरेक काम अन्यका लागि हुने भएकाले आफ्नो लागि वा आफ्नो शरीरका लागि दैनिक एक घण्टा शारीरिक व्यायाम गर्ने गरेको खण्डमा मुटु रोगबाट बच्न सकिन्छ ।