मिर्गाैला प्रत्यारोपणपछि प्रधानमन्त्रीको शरीरका मुख्य सूचक राम्रो अवस्थामा

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि उहाँको शरीरका मुख्य सूचक राम्रो अवस्थामा रहेका छन् ।

सफलतापूर्वक प्रत्यारोपण सम्पन्न भएपछि त्रिवि शिक्षण अस्पतालले बुधबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति स्थिर रहेको र प्रत्यारोपित मिर्गौलाले काम गर्न थालिसकेको जनाइएको छ ।

हाल उहाँलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षामा राखी उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । ओलीको उपचार टोलीमा चिकित्सक प्रा डा दिव्या शाह, डा महेश सिग्देल, डा मुकुन्द काफ्ले र डा रवीन नेपालीलगायत हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्नुहुने उहाँकी भान्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सङ्ग्रौलाको शल्यक्रिया टोलीमा प्रा डा उत्तमकुमार शर्मा, प्रा डा प्रेम ज्ञवाली, प्रा डा आनन्द कुमारलगायत हुनुहुन्छ । एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा अनिल श्रेष्ठ र प्रा डा सुवास आचार्यलगायत हुनुहुन्छ ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान १०ः०० बजे शल्यक्रिया कक्षमा लगिएको थियो । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएपछि अस्पताल परिसरमा उपस्थित शुभेच्छुकले खुशियाली मनाएका थिए । मिर्गौला प्रत्यारोपणअघि उहाँको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Image may contain: text

रासस


ताजा खबर