महिलामाथि हुने विभेद र हिंसाकाविरुद्ध जागरणमा नेपाली काँग्रेसको जोड

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक शुभकामना प्रकट गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको, गाउँशहरमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेका, महिलामाथि हुने विभेद र हिंसाकाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताउनुभएको छ ।

हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा मात्र नभएर मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक भएको बताउँदै सभापति देउवाले सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हिंसा भएको सन्देशमा उल्लेख गर्नुभएको छ । “नेपाली काँग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ, महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पु¥याउनेछ विश्वास मैले लिएको छु”, सन्देशमा उहाँले भन्नुभएको छ ।

नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनहरुमा अग्रणी स्थानमा उभिएर कैयन दिदीबहिनीहरुले आफ्नो प्राणको आहुती गर्नुभएको स्मरण गर्दै उहाँले उहाँहरुप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि पनि महिलाहरुको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहने विश्वास सभापति देउवाले व्यक्त गर्नुभएको छ । रासस


ताजा खबर