होलीमा रङ खेल्दा सावधानी अपनाउनुपर्छ : डा.ऋषभ देब त्रिपाठी

फागुपूर्णिमा अर्थात होली रङहरुको पर्ब हो । होलीमा रङ खेल्दा सावधानी अपनाउनुपर्छ । शरीरमा रङको प्रयोगले मानिसमा अनेक किसिमका रोग देखापर्छन् । खासगरी छालामा रङले केहीबेरमै समस्या ल्याउन सक्छ । यसको असर सातादिनपछि मात्र देखिन पनि सक्छ ।

”रङमा हुने केमिकलयुक्त तत्त्वले छालामा कडाकिसिमको एलर्जी निम्त्याउँछ । यसबाट शरीर चिलाउने, डाबर आउने, अनुहार तथा आँखा सुन्निनेजस्ता समस्या उत्पन्न हुन्छन् । केही समयपछि छालामा सुक्खापन तथा दागहरू देखापर्छन् । रङको असर कपालमा पनि पर्छ । यसले कपाल सुक्खा बनाउने तथा टुक्य्राउने हुन्छ । बजारमा पाइने सबै रङ गुणस्तरीय हुँदैनन् । रङमा मिलाइएका केमिकलले विभिन्न समस्या ल्याउन सक्छन् ।”

रङमा मेटालिक कम्पोनेन्ट हुन्छन्। रङमा क्यादमिम, लिड, मर्करीजस्ता तत्त्व हुन्छन्, जुन पानीमा घोलेर वा तेलमा मिसाएर प्रयोग गरिन्छ । यो लामो समयसम्म छाला तथा कपालमा बस्ने हुन्छ । साथै, यस्ता केमिकलयुक्त रङ हाम्रो आँखा, नाक, मुखभित्र पसेमा पछि गएर क्यान्सर हुने सम्भावना हुन्छ । यसले मिर्गौलालाई पनि असर गर्छ ।

”केमिकलयुक्त रङ प्रयोग गरेर धेरै समयसम्म घाममा बस्दा छालमा दाग निम्तिन्छन् । त्यसैले होली खेल्दा सकेसम्म रङ प्रत्याक्ष रूपमा छालामा नपरोस् भन्नेमा ध्यान दिनुपर्छ । होली खेल्नुपूर्व छालमा चिलो हुने क्रिमको प्रयोग गरेर छालालाई धेरै हदसम्म सुरिक्षत राख्न सकिन्छ ।”

होली खेल्ने नाममा आँखा तथा जिउमा अत्यधिक मात्रामा रङ लगाउने, तेल वा पानी मिलाएर रङ खेल्ने बानी राम्रो होइन । जथाभावी प्रयोग गरिएमा रङले लामो समयसम्म असर ल्याउन सक्छ । तर, सावधानी अपनाएर खेल्यौँ भने धेरै हदसम्म यसका नकारात्मक असरबाट बच्च सकिन्छ ।

होलीमा विशेषगरी महिलाले जोगिनुपर्ने हुन्छ । होलीको टीका मात्र लागाउने, धेरै रङ नखेल्ने, खेलिहालेमा नाक, मुख, आँखा जोगाउने गर्नुपर्छ । होली खेलिसकेपछि लामो समयसम्म छालामा राख्नुहुँदैन, कही बेरमै नुहाउनुपर्छ र क्रिमको प्रयोग गर्नुपर्छ । कतै छाला पोले वा चिलाएजस्तो महसुस भएमा छालारोग विशेषज्ञलाई देखाउनुपर्छ ।

”होलीपछि सधैँ रङको असरले अस्पतालमा बिरामी बढ्ने गर्छन् । छालामा सुक्खापन, एलर्जी, चिलाउने तथा कपालमा समस्या लिएर आउँछन् । कतिपय केसमा आँखा तथा मुख सुन्निएर आउने पनि हुन्छन् ।”

रङअनुसार कुनले कस्तो असर गर्छ भन्न गाह्रो छ । अहिले बजारमा कुन रङको गुणस्तर कस्तो छ, थाहा हुँदैन । सकेसम्म प्राकृतिक प्रविधिबाट बनेका रङको प्रयोग गर्नुपर्छ । खासगरी गाढा कालो रङ, साइनिङ, मर्करीजस्तो आउने रङमा मेटालिक तत्त्व हुन्छन् ।

होलीपर्व पौराणिक घटनासित पनि जोडिएको हो । धार्मिक आस्थासित पनि गाँसिएको यो पर्व सदियौँदेखि हर्षोल्लासपूर्वक मनाइँदै आएको छ । तर, पछिल्लो समय होली मनाउने परम्परागत शैलीमा निकै परिवर्तन आएको छ । अहिले होलीपर्व भड्किलो र अस्वस्थकर रूपमा मनाउन थालिएको छ । होली मनाउने बहानामा अनेक थरी रङको प्रयोग गर्ने, मद्यपान गर्नेतर्फ लाग्नुहुँदैन ।

”हामीले सीमित मात्रामा दुई–चार थरी रङ (रातो, निलो, हरियो, पहेँलो)ले टीका लगाएर संयमित रूपमा पर्व मनाउनुपर्छ । उदाहरणका लागि होलीको दिन घरमै बसेर मालपुवा बनाएर पारिवारिक खुसी साटासाट गर्न सकिन्छ । यसले हाम्रो परम्परालाई पनि जीवित राख्छ ।”

होली खेलाउने नाममा बालबालिकालाई सामेल गराएर धेरै रङ लगाइदिनुहुँदैन । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको असर दिनहुँ बढिरहेको छ । हामी पनि यो भाइरसको उच्च जोखिममा छौँ । यो भाइरस श्वासप्रश्वासबाट सजिलै सर्न सक्छ । पानीमा कोरोना भाइरसका कीटाणु धेरै समयसम्म रहने हुँदा होलीमा पानीको प्रयोग गर्नुहुँदैन । कोरोनाका कारण पनि यसपटक होली मनाउँदा विशेष सावधानी अपनाउनु जरुरी भएको छ ।

(डा.त्रिपाठी काठमाडौं चावहिलस्थित ॐ अस्पतालका कन्सल्ट्यान्ट डर्माटोलोजिष्ट हुन ।)

ताजा खबर