प्रधानमन्त्री केपी शर्मा ओलीलेको मिर्गौला प्रत्यारोपण पछि स्वास्थ्यमा सन्तोषजनक सुधार भएको र उहाँलाई नियमित खानपान, हिँडडुल र व्यायामलाई निरन्तरता दिइएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज अपरान्ह जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीकालागि मिर्गौला दाता उहाँकी भान्जी समीक्षा संग्रौलको स्वास्थ्यस्थिति पनि राम्रो अबस्थामा रहेको जनाइएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेकोले उहाँलाई एक-दुई दिनमै अस्पतालबाट डिस्चार्ज गर्न सकिने प्रत्यारोपणको नेतृत्व गरेका प्रा. डा. प्रेमराज ज्ञवालीले बताउनुभएको छ।
“उहाँको रगत, रक्तचाप, पिसाबलगायत सबै सूचकाङ्क राम्रो स्थितिमा छन्,” डा. ज्ञवालीले भने, “उहाँ भोलि वा पर्सिसम्म डिस्चार्ज हुन सक्नुहुन्छ।”
सङ्क्रमणको जोखिम घटाउन उनलाई धेरै भेटघाट नगर्न सुझाव दिइएको छ। सबै कुरा सुधारोन्मुख भए पनि प्रधानमन्त्री ओली तत्काल काममा भने फर्किन नहुने डा. ज्ञवालीको भनाइ छ।
डा. ज्ञवालीले भन्नुभयो “उहाँले कम्तीमा पनि एक-डेढ हप्ता आराम गरेको राम्रो हो। शल्यक्रिया सफल भयो भनेर काममा गइहाल्नु राम्रो होइन।”
तर प्रधानमन्त्री ओलीले सामान्य ‘टेबलवर्क’ भने गर्न समस्या नहुने उहाँको भनाइ छ।
ओलीको गत बुधवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन उनी सोमवार अस्पताल भर्ना भएका थिए।
गत बुधबार प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रेस बिज्ञप्तीः
रासस / बीबीसी