प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ । तथापि पूर्णतः जोखिममुक्त भइसक्नुभयो भन्ने होइन । नियमित औषधिको सेवनले अवस्था सुधार हुँदैजान्छ । मेरो विचारमा सरकारले यो यो ठाउँमा यति अस्पताल, यति चिकित्सक आवश्यकता छ भनेर विज्ञहरुसँग छलफल गरेर व्यवस्थापन गर्नुपर्छ । सरकारमा भएका सबैले प्राविधिक कुरा बुझ्नु हुन्छ भन्ने त होइन । हामी पनि राजनीतिक कुरा बुझ्दैनौं । कुन कुन ठाउँमा कस्तो जनशक्ति र भौतिक संरचना आवश्यक छ छैन भनेर छलफल गरी यसलाई मूर्तरुप दिन सकिन्छ ।
हामी नेपाली चिकित्सक सक्षम छौं भन्ने कुरा त प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणले पनि देखायो । हामीले विश्वास जित्न सकेमा बाहिरका मानिस पनि यहाँ उपचार गर्न आउँछन् । आफ्नै मानिसहरु बाहिर उपचार गर्न गएर यहाँको स्वास्थ्यअवस्थालाई हतोत्साहित गर्ने काम यसअघि हुँदैआएका थिए । यो राम्रो होइन । घरको मान्छेले पहिले विश्वास गर्न सक्नुपर्छ । हाम्रो यहाँ अस्पतालका भौतिक संरचना, इक्वीपमेन्ट्स (स्वास्थ्य उपकरण) र जनशक्ति त पर्याप्त छैन, तथापि विकास गर्दै जानुपर्छ ।
हामीले उपलब्धी र परिणाम हेर्नुपर्ने हो । बाहिरको ठूलो संरचना भएको अस्पतालमा पनि त्यही परिणाम दिन्छ र हामीले कमजोर भौतिक संरचनामा पनि दिने परिणाम त यही हो । आफ्नो घरको मान्छेले आफैंलाई विश्वास गर्नुपर्छ । आफ्नै मान्छेलाई त राम्रो उपचार गर्छन्, हामीलाई पनि राम्रो गर्लान् भनेर बाहिरका मान्छेले पनि विश्वास गर्लान् । तर हामीले यो यो काम गर्दैछौं, हामी सक्षम छौं भनेर देखाउनसक्नुपर्छ ।
अर्कोकुरा हुनेखाने मान्छेले विश्वास पनि गरिदिनुपर्छ । पैसा हुने जतिले विदेशमा उपचार गराउने, नहुनेले मात्र स्वदेशमा उपचार गराउने प्रवृत्तिले सन्देश सकारात्मक गएको छैन । पैसा भएका हुनेखानेले समेत विश्वास गरी यहीं उपचार गराउनु पर्छ । आफ्नै अस्पताल र जनशक्तिमा विश्वास गर्नुपर्छ । राम्रो गर्दै जान सक्यौं भने यहाँ मेडिकल टुरिज्म पनि फष्टाउँदै जान्छ । यसमा हाम्रो विश्वास छ ।
हामीहरु सीमित स्रोत साधन र जनशक्तिका बीच पनि काँधमा काँध मिलाएर काम गरिरहेका छौं । दश वर्षअगाडि जे अवस्था थियो, अहिले त्यो छैन । धेरै सुधार भएको अवस्था छ । बाहिर ठूला भौतिक संरचना छन्, प्रविधिको राम्रो विकास छ । लजिस्टिक, सफा सुग्घर घरहरुमा उनीहरु अगाडि छन् । तर विरामीको क्याटरिङ गर्ने मामिलामा हामी पछाडि छैनौं । चिल्ला भित्ता र भुइँ हामीकहाँ नहोलान् तर परिणाम त त्यही बराबारको दिइरहेका छौं । कतिपय कुरामा ठोकुवासाथ भन्न सक्छौं कि केही निश्चित विषयमा त हामीले बाहिरभन्दा राम्रो गरिरहेका छौं । ओपन सर्जरी, स्टोन क्याटरिङ, म्यानेजमेन्टका कुराहरुमा हामीले राम्रो गरेका छौं । रोगको पनि ‘प्याटर्न’ हुन्छ । साना स्टोनका कुराहरुमा उनीहरु धेरै खेल्छन् । उनीकहाँ पहिल्यैदेखि हेल्थकेयर प्रणाली बसेको छ । हाम्रोमा त्यो भएको छैन । हामीकहाँ एकैचोटी ठूलठूला ढुङ्गाहरु आउँछन् । तिनीहरुलाई एकैचोटी गर्न सकिदैन ।
मेडिकल साइन्समा हरेक ६ महिना एक वर्षमा नयाँ औषधि, नयाँ मेशिन अपडेट भइरहेको हुन्छ । गणितको जस्तो ए प्लस बीको होल स्क्वाइर पढ्यो पुग्यो भनेजस्तो हुँदैन । यो त अस्पताल मात्र होइन नि, मेडिकल स्कूल पनि हो । यसमा धेरै विद्यार्थीहरु पढ्न आउँछन् । हामीले पनि यहाँ पढ्यौं । आज यहीं काम गरिरहेका छौं । हामीले दश वर्षअगाडि गर्ने अपरेशनका तरिका र प्रविधिमा अहिले परिवर्तन भइसकेको छ । विकासशील देशमा राज्यले लगानी बढाउनैपर्छ । जनशक्ति र प्रविधि सबैमा लगानी गर्नुपर्छ । रिसर्च सेन्टरको अवधारणामा पनि जानुपर्छ । बाहिरका विज्ञहरुसँग पनि परामर्श नियमित लिनुपर्छ । त्यसले ज्ञान आर्जन हुन्छ । नयाँ प्रविधि र तौरतरिकाका कुरा सिकिन्छ । डाक्टहरुको वृत्ति विकासमा राज्यले ध्यान दिनुपर्छ । एउटा प्रणालीमा जान सकेमा काम गर्न पनि सजिलो हुन्छ ।
यो मेडिकल स्कूल –त्रिवि शिक्षण अस्पताल) १९७२ देखि शुरु भएको हो । यसमा धेरैले पढ्नुभएको छ । हामीले पनि पढ्यौं । विश्व स्तरीय मापदण्डको बनाउन राज्यले अझै लगानी बढाउँदै जानुपर्छ । केही चिजमा कमी गर्न हामी चाहँदैनौं । राज्यले, जनताले सहयोग गरेमा हामी सफल काम गर्न सक्षम छौं । हाम्रो मनोबल उच्च छ । राज्यले सहयोग गरेमा हामी यहाँ उत्कृष्ट काम गर्न तयार हुन्छौं । सबल जनशक्ति र नयाँ प्रविधियुक्त औजार ल्याउनमा राज्यले नियमित लगानी गर्दैजानुपर्छ । आजको इक्वीपमेन्ट अबको दश वर्षपछि काम नलाग्न सक्छ । त्यतिबेलासम्म नयाँ नयाँ प्रविधिको विकास भइसकेको हुन्छ । विना इक्वीपमेन्टको काम गर्नु भनेको त हात खुट्टा बाँधेर पोखरीमा पौडी खेल भनेजस्तो भैहाल्यो नि ।
प्रधानमन्त्रीको केसमा जसरी उहाँको आत्मबल देखियो, त्यो राम्रो पक्ष हो । डाक्टरमा पनि त्यो आत्मबल चाहिन्छ । आत्मबलकै कारण हामीले सफल काम गर्न सक्यौं । डाक्टर र विरामीको आत्मबलमा संयोजन मिलेमा काम अझ सफल हुन्छ । हरेक विरामीमा आत्मबल चाहिन्छ । उपचारमा त्यसले केही प्रतिशत ‘बुष्ट’ गर्छ ।
प्रधानमन्त्री र अन्य विरामी हाम्रो लागि समान हो । त्यसैले हामीले भनेअनुसारको काम गर्न पाउनुपर्छ भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौं । उहाँले मान्नुभयो । उहाँको आत्मविश्वास मैले उच्च देखें । हामीप्रतिको विश्वास उहाँको आँखामा स्पष्ट झल्किन्थ्यो । दृढ विश्वासका साथ अस्पताल आउनुभएको थियो । मेरो बुवा उहाँको शिक्षक हुनुहुन्थ्यो । त्यो कुरा पनि ‘शेयर’ गर्नुभयो । त्यसले मलाई पनि खुशी तुल्यायो । सुरक्षा, व्यवस्थापन, अपरेशन सफल हुन्छ कि हुँदैन भन्ने चिन्ता त थियो । तर हाम्रो चिकित्सकको समूह एकदम समन्वयात्मक तरिकाले होसियारीसाथ काम गर्दा सफल भयौं । अहिले उहाँलाई सघन कक्षमा राखेका छौं ।
प्रधानमन्त्रीलाई दिनको तीन–चार पटक त म आफैं भेट्छु । स्वास्थ्य अवस्था एकदम राम्रोसँग सुधार भइरहेको छ । एक पछाडि अर्का दिनका प्यारामिटर राम्रो देखिएका छन् । नयाँ मिर्गौलाले पिसाव निकाल्न थाल्यो । राम्रोसँग काम गर्न थालिसकेको छ । सबै कामहरु सफलतापूर्वक भएका छन् ।
प्रधानमन्त्रीको यो दोस्रो मिर्गौला प्रत्यारोपण हो । यसअघि एपेन्डिसाइटिस भएर उहाँको स्वास्थ्यमा समस्या आएको थियो । त्यतिबेला अलि जटिलता पनि थियो । शरीरको आफ्नोपनमा गडबड थियो । ओजनको मात्रा बढी थियो । पुराना मिर्गौलाले काम गरेको थिएन । एन्टीबडिज पनि देखिएका थिए । त्यसले उहाँलाई गलित पारेको थियो । त्यो चरण पनि पार गरेर उहाँ आउनुभयो । तीन महिनाअघि मात्र अपरेशन भएको थियो । फेरि अर्को अपरेशन गर्नुपर्ने भएपछि केही ‘रिस्क’ हुन्छ कि भन्ने डर त थियो । तर सबै तयारी गरेर अपरशेनको काम सफल भयो । देशको प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्दा मनमा केही चिन्ता त लाग्ने नै भयो । स्वास्थ्य राम्रो होस् भन्ने हाम्रो चाहना थियो । उहाँको दृढ विश्वासप्रति हामी गौरवान्वित छौं ।
देशका नागरिकलाई पनि भन्न चाहन्छौं, सबै सुविधा र उपचार स्वदेशमै उपलब्ध छ । यहाँहरु सबैले पत्याइदिनुहोस् । नजिकको तीर्थलाई हेलाँ नगरिदिनुहोस् । प्रधानमन्त्रीजस्तो व्यक्तिले त हामीलाई विश्वास गर्नुभयो । उहाँलाई विदेशमा गएर उपचार गर्न कुनै समस्या थिएन । तथापि स्वदेशमै उपचार गराएर यहाँका अस्पताल र डाक्टर सक्षम छन् भन्ने सन्देश दिन उहाँले यो उपचार गराउनुभएको होला । तपाईहरुले पनि माया गरिदिनुभयो, सहयोग गर्नुभयो भने हामी आफ्नै देशमा कम खर्चमा, यहीको जनशक्तिले काम गर्न सक्छौं ।
सर्वसाधारण सबैलाई सुलभ हुनेगरी काम गर्न सक्यौं भने हामी पनि खुशी हुन्छौं । अरुको मुख हामीले कहिलेसम्म ताक्ने ? प्रधानमन्त्रीजस्तो देशको प्रमुख कार्यकारी व्यक्तिले विश्वास गरेर यहीं अपरेशन गराउनुले राम्रो सन्देश गएको छ भन्ने हामीलाई लागेको छ । देशबासीलाई पनि हाम्रो उपचारबारेमा विश्वास बढेको हुनुपर्छ । अहिले नेपाली अस्पताल र चिकित्सक पहिलेकाजस्तो छैनन् । पहिले प्रविधिको विकास भएको थिएन । उच्चस्तरका प्रविधि अस्पतालमा भित्रिएका थिएनन् । तर अहिले त्यो प्रविधि हामीकहाँ उपलब्ध छ । दक्ष जनशक्ति पनि पर्याप्त मात्रामा उपलब्ध छन् । त्यसैले स्वदेशमै उपचार गराउने बानीको विकास गर्न सक्यौं भने हामी सबैलाई फाइदा हुन्छ । त्यसले हामी सबैलाई खुशी पनि बनाउँछ ।