सरकारले आजदेखी दादुरा रुवेला खोप अभियानको दोस्रो चरण सुरु गरेको छ । दोस्रो चरण अन्तर्गत बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ४ प्रदेशका ४३ जिल्लामा दादुरा रुवेला खोप अभियान सुरु भएको हो ।
यो अभियान चैत महिनाभर सञ्चालन हुनेछ । दोस्रो चरणमा ९ महिना देखि ५ बर्ष उमेर समूहका ११ लाख ५७ हजार ७७१ जना बालबालिका समेटिने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखाका प्रमुख डा. झलक गौतमले बताए। उनका अनुसार दुई चरणमा गरी यो खोप करीब ३० लाख बालबालिकालाई दिने लक्ष्य राखिएको छ । यस पटक कैलाली र कन्चनपुरका बालबालिकालाई दादुरा खोपसँगै पोलियो थोपा पनि खुवाईनेछ ।
पहिलो चरणको अभियान १, २ र ५ नम्बर प्रदेशका ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ जना बालबालिकालाई लक्षित गरी फागुन महिनाभर सञ्चालन भएको थियो । अहिले नेपालमा पोलियोको शून्य अवस्था छ। तर यसलाई अझ सुरक्षित बनाउन जन्मेदेखि पाँच वर्ष मुनिका सबै बालबकालिकालाई पोलियो थोपा खुवाउन लागेको बताइएको छ।
नेपालमा पोलियो उन्मुलनको अवस्थामा रहेकोले जोखिम मानिएका जिल्लामा दादुरा खोपसँगै पोलियो थोपा पनि खुवाउन लागिएको परिवार कल्याण महाशाखाले जनाएको छ। अभियान नेपाल सरकार, विश्व स्वास्थ्य संगठन, युनिसेफ र रोटरी क्लब र खोपका लागि अन्तराष्ट्रिय एलाइन्स गाभीको सहकार्यमा सञ्चालन गरिएको हो।
खोप अभियानका लागि महाशाखाले ३ लाख २२ हजार भाइल दादुरा रुवेला भाइल र एक लाख ७ हजार पोलियो भाइल खरीद गरेको छ। स्वास्थ्य मन्त्रालयले यो अभियान सञ्चालनका लागि ५ हजार सुपरभाइजर, ९ हजार स्वास्थ्यकर्मी र एक लाख स्वयंसेवक परिचालन गरिएको जनाएको छ।अभियानमा ५६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
नेपालमा सन् २००४ मा पहिलो दादुरा रुवेला खोप अभियान सञ्चालन भएको थियो। सामान्यतः हरेक चार वर्षमा हुने यो अभियान त्यसपछिका २००८, २०१२, २०१६ मा सञ्चालनमा क्रमशः दोस्रो, तेस्रो र चौथो अभियानको रुपमा सञ्चालन भएको थियो। २०२३ सम्म सरकारले नेपालमा रुवेला र दादुरुको संक्रमण शून्यमा झार्ने योजना गरेको छ।
प्रत्येक १० लाख जनसंख्यामा ५ जनाभन्दा कम मानिसमा दादुरा देखियो भने निवारण भएको मानिन्छ। विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियाली क्षेत्रमा सन् २०२० सम्ममा दादुरा निवारण गर्ने लक्ष्य लिएको थियो। संगठनले यसको समय थप गरेर २०२३ मा निवारण गर्ने निर्णय गरेको छ। रासस