‘कोरोना भाइरसको प्रकोपबाट अर्थतन्त्र प्रभावित हुन नदिन सरकारले अधिकतम सजगता अपनाइरहेको छ’

अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले कोरोना भाइरसको प्रकोपबाट राष्ट्रिय अर्थतन्त्र प्रभावित हुन नदिन सरकारले अधिकतम सजगता अपनाइरहेको बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले कोरोनाको प्रकोपबाट पर्यटन बाहेकका अन्य क्षेत्रहरू प्रभावित हुन नदिने र पर्यटन क्षेत्रलाई सम्बोधन गर्न उचित राहतका कार्यक्रमहरू ल्याउने रणनीतिका साथ सरकारले काम गरिरहेको बताउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खतिवडाले स्वदेशी उद्योग तथा अन्य आर्थिक क्रियाकलापहरू प्रभावित हुन नदिन संघ प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी कच्चा पदार्थ तथा कामदारको आपुर्ती र सुरक्षा आवश्यक प्रवन्ध मिलाईएको समेत जानकारी दिनुभयो ।

मन्त्री खतिवडाले कोरोनाको प्रकोपका कारण बैदेशीक रोजगारी बाट र्फकने वा रोजगारी गुमाउने नागरिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी दिने र विप्रेषणमा आउने गिरावटबाट बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको समस्या आउन नदिन सरकारी खर्च बढाउने रणनीति लिएको बताउनुभयो ।

उहाँले एक महिनासम्म विद्यालय तथा शिक्षण सस्थाहरू बन्द गर्ने निर्णय गरेपनि शैक्षिक क्यालेण्डर प्रभावित हुन नदिन सरकार सचेत रहेको समेत बताउनुभयो ।

पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले कोरोना भाईरसको प्रकोप फैलन सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको सबै नागरिकमा आवश्यक सूचनत तथा जनचेतना फैलाउनका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । मन्त्री भट्टले बजारमा दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन सरकारले आपूर्ती व्यवस्थालाई नियमित गरिरहेको र कृतिम अभाव एवं कालोबजारी हुन नदिन नियमित बजार अनुगमन गरिरहेको समेत बताउनुभयो ।

मन्त्री भट्टले बजारमा दैनिक उपभोग्य बस्तुको आपुती सहज बताउन भोलिदेखी काठमाडौका विभिन्न स्थानहरूमा सहुलियत पसलहरू सञ्चालन गर्ने तयारी गरेको समेत पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव एवं प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले विश्वको जुनसुकै देशमा कोरोनाका विरामी भेटिएपनि सोही देशले उपचारको व्यवस्था मिलाएको जानकारी दिनुहुँदै बैदेशीक रोजगारीका लागि गएका नेपालीहरूलाई जो जहाँ हुनुहुन्छ त्यही सुरक्षित रहन र आवश्यकता अनुसार सम्वन्धीत देशको सरकारबाट सहयोग लिन समेत आग्रह गर्नुभयो । रासस


ताजा खबर