कोरना भाइरसको संक्रमण रोकथाम र जोखिम न्यूनीकरणका लागि प्रभावकारी समाचार प्रवाह गर्न निर्देशन

अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाले कोरोना भाइरस संक्रमणको रोकथाम र जोखिम नियन्त्रणका लागि सार्वजनिक सञ्चार माध्यम र सञ्चार सेवा प्रदायक संस्थालाई थप प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

सञ्चार मन्त्रालयमा आज आयोजित राष्ट्रिय सञ्चार माध्यमका प्रमुखहरुसँगको छलफलमा मन्त्री खतिवडाले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि उच्चस्तरीय समन्वय समिति र सरकारका निर्णयलाई व्यवस्थित र प्रभावकारी रुपमा सम्प्रेषित गरी जनमानसमा त्रासको वातावरण आउन नदिनेतर्फ सचेत रहन पनि निर्देशन दिनुभयो ।

विशेष परिस्थितिमा छिनछिनमा निर्णय र सूचनाहरुलाई ताजगीकरण गर्नुपर्ने भएकाले त्यसलाई पछ्याउन आग्रह गर्दै मन्त्री खतिवडाले आफ्ना उपकरण र साधनलाई तन्दुरुस्त राख्न र जनशक्तिलाई सक्रियताका साथ परिचालन गरी जनतालाई सूचना प्रवाहमा कुनै कमी हुन नदिन निर्देशन दिनुभयो ।

मन्त्री खतिवडाले सहि सूचना सम्प्रेषणमा कुनै कठिनाई भए आफूले उच्चस्तरीय समन्वय समितिमा प्रस्ताव लागेर निर्णय गराई सहज वातावरण निर्माण गर्ने पनि जानकारी दिनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खतिवडाले सामाजिक सञ्जालको दुरुपयोग गरी नभएको समस्यालाई देखाएर आम मानिसलाई त्रसित तुल्याउन खोज्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउने काम भइरहेको पनि जानकारी दिनुभयो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरना भाइरसको संक्रमण हुन नदिन पूर्व सावधानी अपनाउनुपर्नेमा नभएको विषय वस्तुलाई बढाईचढाई गरी अनुमानको भरमा आतंकित पार्ने स्वघोषित विज्ञहरु बढेकाले मन्त्री खतिवडाले विषय विज्ञहरुको छनोट गर्दा सही ज्ञान र सूचना दिने सामाजिक जिम्मेवारी बोकेकालाई प्राथमिकता दिन पनि आग्रह गर्नुभयो ।

छलफलमा सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यमका प्रमुख, सञ्चार सेवा प्रदायक संस्था र सञ्चार क्षेत्रको नियमनकारी निकायका प्रमुखहरुले हाल कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका सन्दर्भमा सरकारी निर्णय र त्यसको कार्यान्वयनमा आफ्ना संस्थाबाट भइरहेका पहलबारे जानकारी गराउनुभएको थियो । रासस


ताजा खबर