कोरोना संक्रमित बिरामी भारतबाट प्रवेश नगरुन भने उद्देश्यका साथ आजबाट वीरगंज रक्सौल सिमा क्षेत्रमा सञ्चालित हेल्थ डेस्कले उच्च स्वास्थ्य सतर्कता तथा चेकजाँचमा कडाई गरेको छ ।
बीरगंज महानगरका निमित्त प्रशासकिय प्रमुख तथा स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोले आजबाट बीरगंज नाकामा स्वास्थ्य परिक्षणमा कडाई गरिनुको साथै सुरक्षाकर्मीको सहभागितामा उच्च निगरानी गरिएको जानकारी दिनुभयो ।
उहाँले भारतमा कारोनाको संक्रमण फैलिदै गएपछि खुल्ला सिमानाको कारण भारतबाट आउने अधिकांशको सर्वसाधारणको स्वास्थ्य परिक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिएको बताउनुभयो ।
त्यसैगरी पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले संघिय प्रदेश तथा स्थानीय सरकारको समन्वयमा स्वास्थ्यकर्मीहरु परिचालन गरि सिमा क्षेत्रमा स्वास्थ्य परिक्षणमा कडाई गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य परिक्षणको काममा सशस्त्र प्रहरी भन्सार गुल्मका सुरक्षाकर्मीहरुले पनि सघाइरहेको जानकारी दिनुभयो ।
आज बिहान ६ः००बजेदेखि भन्सार क्षेत्रमा विशेष निगरानी अपनाइएको सशस्त्र प्रहरी भन्सार गस्ती टोलीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले बताउनुभयो ।
भारतबाट आएका यात्रुहरुलाई रोकी लाईन लगाएर स्वास्थ्य परिक्षणपछि मात्रै नेपाल प्रवेश गर्न दिईने गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक खत्रीले बताउनुभयो ।
सुरक्षाकर्मीको निगरानीमा आज बिहानबाट लाइन लगाएर भारतबाट नेपाल भित्रिने भारतीय नागरिक तथा नेपालीहरुको समेत चेकजाँच गर्न थालेपछि प्रहरी चौकी ईनार्वादेखि मितेरी पुलसम्म सर्वसधारण, साइकल, मोटरसाइक, कार, जिप, भ्यान, ठुलासवारी चालकलगायतको लामो लाईन लागेको थियो ।