नेपालमा कोरोनाको नयाँ संक्रमित भेटिए : संक्रमितको संख्या ३ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

बुधबार तेस्रो केस पोजेटिभ भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । स्वास्थ्य मन्त्रालयले बुधबार कोरोनाको नयाँ संक्रमित भेटिएको पुष्टि गरेको छ।

उनी खाडी मुलुकबाट हालै मात्र नेपाल आएको खुलेको छ। तर उपचारमा संलग्न चिकित्सक र केन्द्रीय प्रयोगशालाले उनी खाडीको कुन देशबाट आएको भन्‍ने खुलाएका छैनन्। वैदेशिक रोजगारीबाट आएपछि बिरामी परेका उनी स्वास्थ्य परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए। उनको त्यहाँस्थित केन्द्रीय प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ती बिरामी भर्ना भएको बताइएको छ।

नेपालमा हलासम्म ६८७ जनाको नमूना जाँच गरिएकोमा ६८४ जनाको नेगेटिभ र ३ जनाको पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसअघि चीनबाट फर्केका एक युवा र फ्रान्सबाट कतार हुँदै फर्केकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको थियो। चीनबाट फर्केका युवा उपचारपछि निको भएर घर फर्किसकेका छन् भने युवतीको उपचार भइरहेको छ ।


ताजा खबर