चीनमा सबै विदेशी नागरिकलाई प्रवेश गर्न नदिने अस्थायी प्रतिबन्ध लगाइएको छ।
प्रवेशाज्ञा वा बसोबासको अनुमति भएकाहरू पनि शनिवारबाट चीन जान पाउने छैनन्।
चीनमा तीन दिनयता पहिलो पटक स्वदेशमै भएको नयाँ सङ्क्रमण फेला परेको थियो। अन्यथा सबैजसो विदेशमै सङ्क्रमित भएकाहरू भेटिएका थिए।
बिहीवार चीनमा ५५ जना नयाँ सङ्क्रमित भेटिएकामा ५४ जना विदेशबाट आएकाहरू थिए।
चीनको विदेश मन्त्रालयले ‘कोभिड-१९ को विश्वव्यापी विस्तारका कारण सबै विदेशीलाई प्रवेश नदिने निर्णय’ गरिएको जनाएको छ।
उक्त प्रतिबन्ध कुटनीतिज्ञ वा विमानका चालकदलका सदस्यहरू बाहेक प्रवेशाज्ञा र बसोबासको अनुमति पाएका विदेशीहरूका निम्ति पनि लागु हुनेछ।
आपत्कालीन मानवीय सहायतासँग सम्बन्धित वा त्यस्तै क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई अपवाद मानिने बताइएको छ।
तर चीनमा कैयौँ विदेशी विमान सेवा कम्पनीहरूले यसअघि नै उडान रोकिसकेको र विभिन्न सहरहरूमा अवतरणमा रोक लगाइसकिएको सन्दर्भमा पछिल्लो निर्णय नाटकीय जस्तो देखिन्छ। बीबीसी