महाप्रसाद अधिकारी राष्ट्र बैंक गभर्नर नियुक्त

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन्। मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले आगामी पाँच बर्षका लागि अधिकारीलाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो।

उर्जामन्त्री वर्षमान पुनले गभर्नरमा अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए। अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले आगामी गभर्नरका लागि सोमबार नै तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिसमा बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, अधिकारी र पुर्व सचिव केशव भट्टराई परेका थिए।

अधिकारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । उहाँले प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर राणासँग सपथ लिएर कार्यभार सम्हाल्नुहुनेछ।

अधिकारी यसअघि पनि गभर्नरमा सिफारिसमा पर्नुभएको थियो। उहाँसँगै डा. चिरञ्जिबी नेपाल र गोपाल काफ्ले  पनि गभर्नरमा सिफारिस  हुनु भएको थियो। तर सरकारले नेपाललाई  गभर्नर बनाएको थियो।

१८ गते अर्थमन्त्री डा. युवराज खतिवडाको समितिमा पुर्व गभर्नरका तर्फबाट विजयनाथ भट्टराई र पूर्व सचिव कृष्णहरि बाँस्कोटालाई राखेर गभर्नर सिफारिस समिति बनाएको थियो।

समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, ब्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित ब्यक्तिहरू मध्येबाट दुईजना छान्नु पर्ने कानुनी ब्यवस्था छ। एकजना भने राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी ब्यवस्था छ। समितिले कुल तीन जनाको नाम सिफारिस गरेपछि सरकारले त्यसबाट एक जनालाई गभर्नर नियुक्त गर्नु पर्छ। त्यसै अनुसार महाप्रसाद अधिकारी गभर्नर नियुक्त हुनु भएको हो ।

अधिकारीले ‘बिजिनेस एड्मिनिस्ट्रेसन’ मा सन् १९८९ मा स्नातक गर्नुभएको छ. भने भारतबाट १९९३ मा चार्टर्ड एकाउन्टेन्टको डिग्री समेत लिनु भएको छ।

उहाँसँग ३० बर्ष केन्द्रीय बैंकमा काम गरेको अनुभव छ। त्यसबेला उहाँले केन्द्रीय बैंकको विभिन्न विभागमा बसेर काम गर्नुभएको थियो। उहाँले वित्तीय ब्यवस्थापन, बैंकिङ अफिस, बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन विभागमा बसेर उनले काम गरिसकेका छन्। रासस


ताजा खबर