बडादशैँअन्तर्गत मंगलबार दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँयो । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ ।
धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन मानिन्छ । मिथिला क्षेत्र शक्ति उपासनाका लागि प्रसिद्ध रहेको क्षेत्र हो । भगवती दुर्गालाई शक्तिस्वरुपा मानेर परम श्रद्धापूर्वक पूजा गरिने चलन रहेको छ । यस अवसरमा गाउँघरमा भगवती दुर्गाको माटो बनाएर श्रद्धापूर्वक पूजापाठ गरी मेला लगाइने गरिन्छ ।
भगवती दुर्गा नौ दिनसम्म माइती आउने र दशमीका दिन बिदा भई ससुराली जाने गर्छिन् भन्ने मान्यता मिथिला, बङ्गाल र आसाममा रहेको पाइन्छ । यसैकारण माटोको दुर्गाको प्रतिमा बनाई पूजा गरिने स्थानमा दुबो, धान, सुपारी र बेसारले खोइँछ भरेर यात्राका दिन भगवती दुर्गालाई बिदाइ (विसर्जन) गरिने चलन रहेको छ ।
मिथिला क्षेत्र तन्त्र, मन्त्र, टुनामुना, साधना आदिका लागि पनि विख्यात रहेको छ । यस शारदीय नवरात्रको अवधिमा तन्त्र, मन्त्र, टुनामुना र साधनाका क्षेत्रमा उन्मुख हुन चाहने जिज्ञासुका लागि प्रशस्त मानिन्छ । मैथिली भाषामा यस विद्यालाई गुनमन्तर सीखब (मन्त्र सिक्ने) भनिन्छ ।
यस्तै अकाल मृत्यु भएका तथा मोक्ष प्राप्ती गरिनसकेका आत्माहरू डुलिरहने तथा तिनीहरूले समाजमा दुःख दिने मान्यता रहेअनुसार तिनीहरूको प्रकोपबाट रक्षाका लागि ढोल बजाइने परम्परा पनि रहेको छ । यसरी ढोल बजाइनुलाई डगहर देव भनिन्छ । यसबाट दुष्टआत्माको प्रकोप समाजमा नपर्ने मान्यता रहेको पाइन्छ ।
दशमीका दिन दशवटै द्वार खुल्ला रहने मान्यताअनुसार कुनै पनि शुभकार्य गर्न प्रशस्त मानिन्छ । यस दिन जुनसुकै दिशातर्फ यात्रा गर्दा मुहुर्तको विचार गरिरहनु नपर्ने भनिन्छ । यात्राका दिन भगवतीको प्रसादस्वरूप जयन्ती धारण गर्ने तथा पुरोहितले यजवानलाई जयन्ती लगाएर आशीर्वाद प्रदान गर्ने प्रचलन रहेको छ । यस दिन नीलकण्ठ चराको दर्शन शुभ मानिन्छ । यसका लागि नीलकण्ठ चराको गुँड रहेको रूखलाई पहिलै नै ठम्याएर राखिने गरिन्छ ।
यात्राका दिन आस्थावानहरू कागज, कलम लिएर नीलकण्ठ चरालाई उडाएर दर्शन गरी त्यस स्थानमा केही श्लोक कागजमा लेख्ने परम्परा पनि रहेको छ ।
यस्तै भगवान् रामले दुर्गा भगवतीको आराधना गरी दशमीकै दिन रावण वध गर्न सफल भएकाले यस दिनलाई विजयादशमी पनि भनिएको मान्यताअनुसार प्रतीकात्मक रावण बध गर्ने चलन पनि रहेको छ ।
रासस