एक पटक देशमा ठूलो महामारीका कारण थुप्रै मानिसहरू मर्न थालेछन् । त्यस देशको राजाले महामारी राेक्न निकै प्रयास गरे पनि सफल भएनछन् । त्याे घटनाले दु:खी बनेका राजा भगवानसामु प्रार्थना गर्न लाग्छन ।
अकस्मात् एउटा आकाशवाणी सुनिन्छ “हे राजा, महामारी राेक्ने हाे भने तिम्रो राजधानीमा रहेकाे पुरानाे इनारमा औँशीको रातमा सबै घरबाट एक एक बाल्टिन दूध हालिदिनू, यसाे गरेमा महामारी राेकिन्छ र मानिसहरू मर्न राेकिनेछ ।”
राजाले सबै जनताको घरबाट औँशीको रात इनारमा एक बाल्टिन दूध हाल्नै पर्ने उर्दी लगाउँछ । त्यस देशमा एउटा कञ्जुस बूढाे पनि थियो । अरू सबैले दूध हालिहाल्छन्, म एक जनाले पानी हाल्दा केही फरक नपर्ला भनेर औँशीको रातमा ऊ दूधकाे सट्टा पानी लिएर जान्छ र इनारमा पानी खन्याउँछ ।
भाेलिपल्ट महामारी राेकिन्छ र मानिसहरू मर्न कम हुन्छ भन्नेमा राजा आशावादी थिए तर कम हुनुकाे साटाे महामारी झन झन् बढ्याे । आकाशवाणी झूठो हुँदैनथ्याे,के अचम्म भएको हाे भनी बुझ्न राजा इनारमा हेर्न पु्ग्छन् । इनारमा त एक बुँद पनि दूध रहेनछ, पानीले मात्र भरिएको रहेछ।
अब राजाले बुझ्छ कि महामारी किन नरोकिएको रहेछ ।
वास्तवमा म एकजनाले इनारमा दूध नहालेर के हुन्छ र, अरूले हालिहाल्छन् भन्ने भावना सायद सबै देशवासीकाे मनमा आएछ ।
यस कहानीमा उल्लेख भएकाे घटना कहीँकतै हाम्रो परिवेशमा जानीनजानी घटेकाे हुनसक्छ । सरकारले महामारी नियन्त्रण गर्न घरबाहिर ननिस्कनू भनी आदेश दिँदै गर्दा म एक जनाले नगरेर के फरक पर्ला र भन्दै विद्यमान् लकडाउन उल्लङ्घन गर्दै बाहिर निस्कदा के महामारी राेकिएला र ? बेलैमा साेचौँ है ।
हाम्रैलागि लगाईएको लक डाउन पूर्ण रुपमा पालन गरौं किनकी जीवन अमूल्य छ । बिषाणुले कसैलाई चिन्दैन अनि महामारीले कसैलाई छाड्दैन । त्यसैले हामी सबै घर बसौं अनि सुरित रहौं ।
जनचेतनाको लागि हाम्रो सफल प्रयास…