कोभिड–१९ विरुद्ध लड्न भारत सरकारद्वारा नेपाललाई २३ टन अत्यावश्यक औषधि प्रदान

कोभिड–१९ कोरोना भाईरस विरुद्ध लड्न भारत सरकारले नेपाललाई २३ टन औषधी उपहार प्रदान गरेको छ ।

भारत र नेपालबीच जारी सहकार्यको क्रममा भारत सरकारका तर्फबाट उपहार स्वरुप प्राप्त औषधि नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभएको छ ।

भारतीय जनताका तर्फबाट नेपाली जनताका लागि उपहार स्वरुप हस्तान्तरण गरिएको औषधीहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोेज गरीे कुल ८.२५ लाख डोज अत्यावश्यक औषधिहरु छन्  ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७६ चैत्र २ गते सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गरी सार्क कोभिड–१९ आपतकालीन कोषमा १० मिलियन अमेरिकी डलर प्रदान गर्ने वाचा गर्दै सबै छिमेकी मित्र राष्ट्रहरुलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

भारतीय तथा नेपाली स्वास्थ्यकर्मीहरु जस्तै संसारभरका  स्वास्थ्यकर्मी यस महामारीको रोकथाम तथा नियन्त्रणका लागि आपसी सहकार्य गरिरहेका छन्।

सङ्कटको यस घडीमा नेपाल तथा अन्य दक्षिण एसियाली साझेदार मुलुकहरुसँग एकसाथ तयारी गर्न, कदम चाल्न र सफलता प्राप्त गर्न भारत प्रतिबद्ध रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।


ताजा खबर