आज अक्षय तृतीया : जौंको सातु र सर्वत खाएर मनाइँदै

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू धर्ममा यो तिथिको विशेष महत्व छ । यो हरेक वर्षमा आउने ४ वटा अबुझ मुहूर्तमध्ये एक हो (अक्षय तृतीया बाहेक हरिबोधनी एकादशी, वसन्त पञ्चमी तथा आषाढ शुक्ल नवमीलाई पनि अबुझ मुहूर्त मानिन्छ) ।

आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।

मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ ।

यसै दिन त्रेता युगको शुरुआत भएको मानिन्छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ ।

अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो ।

त्यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।

आज अक्षय तृतीया, जौंको सातु र सर्वत ...
जौंको सातु र सर्वत

जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ ।

आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुने धार्मिक विश्वास छ ।

यस अवसरमा निराहार ब्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने मत्यस्य पुराणमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।

गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने भएकाले शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सक्खर र चिनीमा बनाइएको शीतल सर्बत र पुष्टिवर्धक अन्न जौको सातुको प्रयोगमा अक्षय तृतीया पर्वले जोड दिएको छ ।

सुख र समृद्धिको प्रतीक हुनका साथै यो पर्वले स्वास्थ्य सन्देश दिएको बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झाको भनाइ छ ।

पर्वले मौसअनुसार पुष्टिवर्धक भोजन गर्न सन्देश दिनुका साथै दीनदुःखी र भोकाएका, तिर्खाएकालाई सेवा दिन नैतिक सन्देशसमेत दिएको जानकारहरु बताउँछन् ।

पर्वमा कुलपुरोहित ब्राह्मणलाई पूजा गरेर वस्त्र, मिष्ठान्न खाद्य परिकार र दक्षिणा दिएर आफू र परिवारले जीवनमा शीतलताको कामना गर्दै जौ, चनाको सातु र सर्बत खाएर यो पर्व समापन गरिने परम्परा छ ।

भगवान शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीको अन्नप्रासन र विवाहलगायतका शुभकार्यका लागि अर्को साइत हेर्न नपर्ने मान्यता छ ।


ताजा खबर