कहिलेकाहीँ केही मित्रहरु संसारका समस्याहरु समाधान गर्न मलाई आफ्नो ‘चामत्कारिक शक्ति’ प्रयोग गर्न आग्रह गर्छन् । तर, म सधैं उनीहरुलाई दलाई लामासँग कुनै त्यस्तो चामत्कारिक शक्ति नभएको बताउँछु ।
यदि मसँग त्यस्तो शक्ति हुन्थ्यो त मेरो खुट्टा दुखेको वा घाँटी दुखेको महशुस मलाई हुने नै थिएन । हामी सबै मनुष्य समान हौं, हामी सबै उस्तै भय, आशा र अनिश्चितता अनुभव गर्छौं ।
बौद्ध अवधारणा अनुसार, हरेक चेतनशील प्राणीमा पीडा हुन्छ, बिराम, वृद्धावस्था र मृत्यु जीवनका सत्य हुन् । तर, आफ्नो मस्तिष्कको प्रयोगले क्रोध, पीडा र लालचजस्ता अनुभूतिमाथि विजय प्राप्त गर्ने क्षमता हामी मानव जातिसँग छ ।
पछिल्ला वर्षहरुमा म ‘भावनात्मक निरस्त्रीकरण’ मा जोड दिइरहेको छु, कुनै भय र क्रोध विना वस्तुलाई व्यावहारिक र प्रष्टसँग हेर्ने प्रयत्न गरिरहेको छु । यदि कुनै समस्यासँग कुनै समाधान छ भने हामीले त्यसलाई पत्ता लगाउने कार्य गर्नैपर्छ, यदि समाधान छैन भने हामीले त्यसबारे सोचेर समय खेर फाल्नु उचित छैन ।
हामी बौद्धमार्गी सम्पूर्ण विश्व अन्तरनिर्भर रहेको विश्वास गर्छौं । त्यसकारण पनि म सधैंजस्तो वैश्विक उत्तरदायित्वको कुरा गर्छु । यो भयानक कोरोनाभाइरसको प्रकोपले एक व्यक्तिमा केही भइहाले यसले कति चाँडै अरुलाई असर पार्छ भन्ने देखाएको छ । तर, यसले हामीलाई अस्पतालमा होस् या सामाजिक दूरी, आपसमा करुणाभाव र रचनात्मक कार्य मार्फत सहयोग गर्ने क्षमताको पनि स्मरण गराएको छ।
वुहानमा कोरोनाभाइरस शुरु भएसँगै म चीनमा रहेका आफ्ना दाजुभाइ, दिदीबहिनी र संसारभरका जनसमुदायका लागि प्रार्थना गरिरहेको छु । अहिले हामी देखिरहेका छौं कि कोही पनि भाइरस प्रतिरोधी छैनन् । हामी आफ्ना प्रियजन र भविष्यसँगै विश्वको अर्थतन्त्र र आफ्नै निजी जीवन बारे पनि चिन्तित छौं ।
र, यतिबेला प्रार्थना मात्र पर्याप्त छैन ।
यो संकटले हामीलाई जहाँ छौं त्यहीँबाट सक्दो उत्तरदायित्व बहन गर्नुपर्छ भन्ने देखाएको छ । हामीले यतिबेला मिलेर स्वास्थ्यकर्मीहरुको साहस बढाउनु छ । विज्ञानले देखाएको बाटोबाटै यस्ता अनेक खतराहरुको सामना गर्दै यो दुरावस्थाबाट हाम्रो भविष्य जोगाउनुछ ।
विपतको यो घडीमा, हामीले पूरै विश्वका लागि दीर्घकालीन र सम्भावित चुनौतीहरुबारे सोच्नु महत्वपूर्ण छ । अन्तरिक्षबाट खिचिएका तस्वीरहरुले सौर्यमण्डलको हाम्रो यो नीलो ग्रहमा कसैको पनि सिमाना छुट्याउँदैन ।
एक बौद्धमार्गीका नाताले म अनित्यतामा विश्वास गर्छु । र, यही विश्वासका आधारमा म भन्न सक्छु कि यो महामारीको अन्त्य अवश्य हुनेछ किनकि मैले आफ्नो जीवनकालमा यस्ता थुप्रै युद्ध र भयावह विपत् देखेको छु । र, यसअघिका कैयन् कालखण्डका झैं महामारीपछिको विश्व पुनर्निर्माण गर्ने अवसर हामीलाई प्राप्त हुने नै छ ।
त्यसकारण पनि हामी सबैले सतर्कता अपनाउनुपर्छ र जलवायु परिवर्तन अन्य विनाशकारी शक्तिहरुबाट हुने क्षति रोक्नुपर्छ । यसका लागि यो महामारी एउटा चेतावनीका रुपमा हामीसामु देखा परेको छ । यस्तो चेतावनी जसका विरुद्ध लड्न हामीलाई विश्वव्यापी समन्वय र ऐक्यबद्धताको खाँचो छ ।
हामीले यो पनि स्मरण गर्नुपर्छ कि जोकोही पनि दुःखबाट मुक्त छैन । त्यसैले यो समयमा हामीले आफ्नो घर, स्रोतसाधन र परिवारबाट विमुख भएका प्रति सहयोगको हात बढाउनुपर्छ ।
यो संकटले फरक फरक भूगोल र अवस्थितिमा हामी बसिरहे पनि हामी आपसमा बेग्लै छैनौं भन्ने कुरा पनि पुष्टि गरेको छ । त्यसैले पनि आपसमा करुणा र सहयोग भावको अभ्यास गर्नु हामी सबैको दायित्व हुनआउँछ ।
एक बौद्धमार्गीका नाताले म अनित्यतामा विश्वास गर्छु । र, यही विश्वासका आधारमा म भन्न सक्छु कि यो महामारीको अन्त्य अवश्य हुनेछ किनकि मैले आफ्नो जीवनकालमा यस्ता थुप्रै युद्ध र भयावह विपत् देखेको छु । र, यसअघिका कैयन् कालखण्डका झैं महामारीपछिको विश्व पुनर्निर्माण गर्ने अवसर हामीलाई प्राप्त हुने नै छ ।
यो अनिश्चितताको समयमा म सबैलाई सुरक्षित र शान्त रहन कामना गर्दछु । जीवनप्रतिको आशा र आत्मविश्वास जीवितै राखी रचनात्मक कार्यमा आफूलाई प्रेरित गर्न आग्रह गर्दछु।
स्रोतः टाइम म्यागाजिन / हिमालखबर