को हुन मदन भण्डारी ?
विसं २००९ साल आषाढ १४ गते ताप्लेजुङ जिल्लाको ढुंगेसाँघुमा उनको जन्म भएको थियो । नेकपा एमालेका नेता भण्डारी जनआन्दोलन २०४६ मा वाम मोर्चाबाट सक्रिय थिए । नेकपा (माक्र्सवादी –लेनिनवादी) र मनमोहन अधिकारीद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी(माक्र्सवादी) लाई एकीकरण गरी नेकपा एमाले बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेताका रुपमा पनि परिचित छन् । उनले प्रतिपादन गरेको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) बहुलबादी राजनीतिमा अगाडि बढी आम निर्वाचन २०४८ मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रूपमा स्थापित भएको हो ।
पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको माहिला छोराको रूपमा क्षेत्री परिवारमा भण्डारीको जन्म भएको थियो । उनको प्रारम्भिक शिक्षा जन्मथलोबाटै सुरू भयो । वि.सं. २०१५ साल गाउँमै एउटा हिउँदे पाठशालाबाट औपचारिक शिक्षातर्फ प्रवेश गरेका भण्डारी अप्ठेरा पाठहरू भए पनि दुईपटक आफ्नो कानमा परेपछि सधैँका लागि कण्ठ गर्नसक्ने र बाल्यकालमै चण्डी कण्ठाग्र गरेर जिल्लाभर चर्चा कमाएका थिए ।
२०२४ सालमा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा सर्यो । उनी भारतको मथुरामा अध्ययन गर्न गए । दुई वर्ष मथुरामा बिताएपछि २०२८ मा देहरादुनबाट बनारस पुगेका भण्डारीले २०२३ सालमा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नाकोत्तर गरे ।
राजनीतिक जीवन
२०२८ सालमा पुष्पलालसँगको भेटपछि उनी राजनीतिमा लागेका हुन् । २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण गर्यो । त्यसको अध्यक्षमा युद्धप्रसाद मिश्र र महासचिव मोदनाथ प्रश्रीत थिए भने भण्डारी केन्द्रीय सदस्य थिए । २०३० सालमा उनी पार्टीको पूर्णकालिन सदस्य भए । २०३३ सालमा मुक्तिमोर्चा समूहको निर्माण गरियो । त्यसको निर्माणमा सक्रिय रहेका नेताहरू पुष्पलालको पार्टीसँग विद्रोह गरी २०३४ सालमा नेकपा (माले)को स्थापना हुनुभन्दा पूर्वको मुक्तिमोर्चा समूहलाई नै त्यसमा विलय गराइयो । २०३५सालमा नेकपा (माले) स्थापना भयो र उनी केन्द्रीय सदस्य बने ।
२०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले)को चौथो महाधिवेशनमा महासचिव बने । २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले–माक्र्सवादी एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी–लेनिनवादी) को महासचिव बने । २०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवं अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए । भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो ।
किन सम्झनलायक नेता भए भण्डारी ?
नेपाली कम्युनिष्ट आन्दोलनलाई सशक्त रुपमा अघि बढाउन प्रयोग भएका सैद्धान्तिक तथा व्यवहारीक विषयलाई चालेको कदमले नेता भण्डारी सम्झनलायक नेताको रुपमा परिचित हुनुहुन्छ। विश्वभरका कम्युनिष्टहरु अहिले पछि परिरहँदा नेपालको कम्युनिष्ट बलियो हुनु र सत्तामा रहिरहनुमा नेता भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को महत्वपूर्ण हात रहेको बिश्लेषकहरु बताउँछन् । जुन सिद्दानतमाथि पूर्व एमाले भित्र त बहस थियो नै, अहिले नेकपामा पनि बहस छ ।
जनताको दुःख, सुःखमा सहजै घुलमिल हुनसक्ने, निरकुंश राजतन्त्रात्मक व्यवस्थामाथि सहजै औंला ठड्याएर बोल्न सक्ने, कम्युनिष्ट आन्दोलनको मर्मलाई बुझेर नेपालमा त्यसको प्रभाव छाड्नसक्ने शालिन नेताको रुपमा उहाँलाई पार्टी र सिंगो देशले सँधै सम्झनुपर्छ ।
नेता भण्डारीको निधनको बेलामा तत्कालिन एमाले प्रतिपक्षमा रहेको र सत्तापक्षले घटनाको छानबीनका लागि पहल नगरेको आरोप उनले लगाए । त्यतिबेला बनाइएका विभिन्न आयोगलाई तत्कालिन सकरारले नै काम गर्न नदिएको एमाले नेताहरु अहिले पनि बताउँछन् । भण्डारीको त्यो दुर्घटना अझै पनि रहस्यमय नै भएको र रहस्यमय रुपमा नै विकसित भएको स्वीकार्छन् ।
मदन भण्डारीसंग जोडिएको अर्को महत्वपूर्ण विषय राष्ट्रियता पनि हो भनेर विभिन्न विश्लेषकहरु अहिलेपनि तर्क गरिरहेका छन् । मदन भण्डारीको रहस्यमय मृत्यु, राजा वीरेन्द्रको हत्या र राजसंस्थासंग मिलेर मिलमिलापको नीतिअनुसार अघि बढ्ने वीपीप्रति २०३० सालपछि भारतबाट भएको अपमानपूर्ण व्यवहार अनुसन्धानका विषय रहेको विश्लेषकहरुको भनाई छ ।
०५७ साल फागुनमा चीनमा सम्पन्न बोआओ फोरममा प्रमुख अतिथि बनेर स्वदेश फर्केपछि राजा वीरेन्द्रले राष्ट्रलाई आत्मनिर्भर बनाउन केही महत्वपूर्ण योजना सारेको बारे पनि चर्चा हुन्छ । यसअघि नै नैता भण्डारीले राजा वीरेन्द्रसंग मिलेर अघि बढन्पर्ने धारणा विकसित गरेका थिए । भारतले गरेको अपमानजनक व्यवहारप्रति राजा वीरेन्द्र र नेता भण्डारीको लगभग मिल्दो विचार थियो ।
प्रचण्डको सम्झनामा मदन भण्डारी
नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले पनि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकताको घोषणासभामा नेता भण्डारीलाई सम्झिएका थिए । विभिन्न धारामा माओवादी धाराका पार्टीहरु मिल्ने धारणा मदन भण्डारीले नै ल्याएको भन्दै उनले त्यतिबेलै पनि यी दुई धाराको एकता सम्भव हुने बताएको सम्झिएका थिए ।
मदन भण्डारीसंग आफूले त्यो बेलामा नै लगभग भेट्ने इच्छा गरेको र भेट्ने कुरा हुँदाहुँदै उनको हत्या भएको उनले एकता घोषणा सभामा सम्झिएका थिए ।
यसरी भएको थियो दासढुंङ्गा दुर्घटना
२०५० सालको प्रारंभको बेलादेखि नै देशभर तत्कालिन नेकपा एमालेको जिल्ला अधिवेशन तीव्र रुपमा भइरहेको थियो । जिल्ला अधिवेशनको चटारोमा नेता भण्डारी र आश्रित पनि लागेका थिए । ०५० जेठ ३ गते महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रित कांस्की जिल्लाको अधिवेशन सकेर मुग्लिन हुँदै चितवन तर्फ जाँदै थिए ।
पार्टीका संगठनको बारेमा चर्चा परिचर्चा गर्दै उनीहरु बा १ च ८७२३ नम्बरको जीपमा हुँइकिरहेका थिए । एक्कासी चितवनको दासढुंगाबाट उनीहरु चढेको जीप त्रिशुलि नदिमा हाम फाल्यो । त्यतिबेलाका अर्का प्रभावशाली नेताका रुपमा परिचित थिए माधव नेपाल । एमालेको केन्द्रीय कार्यालयका काठमाडौंको बागबजारमा थियो । नेता नेपाल, वामदेव गौतम लगाएतका नेताहरु राती ११ बजेतिर घटनास्थल पुगेका थिए । उनीहरु पुग्दा सुरक्षाकर्मीहरु उद्दारमा खटिएका थिए । जीवराज आश्रितको लास गाडीमा नै थियो । नेता भण्डारीको लास भने घटनास्थभन्दा ४० किलोमिटर तल गुञ्जनगरमा तीनदिनपछि मात्रै भेटिएको थियो ।
चालक अमर लामा भने जिउँदै थिए । उक्त घटनाले पूरै देशभरि नै सनसनी फैलिएको थियो । त्यतिबेला नेपाली कांग्रेस नेतृत्वको सरकार थियो । नेताद्वय भण्डारी र आश्रितको हत्या भएको भन्दै एमालेका नेता तथा कार्यकर्ताले घटनाको छानबीन गर्न सरकारसंग माग गर्यो । सरकारको विरुद्धमा आन्दोलन गर्यो । कांग्रेसले नै हत्या गराएको भनी आरोप समेत लाग्यो ।
आन्दालेनले चर्को रुप लिएपनि सरकारले पूवै न्यायाधीस प्रचण्डराज अनिलको नेतृत्वमा छानवीन आयोग समत गठन गरेको थियो । अनिल आयोगको प्रतिवेदन एमालेले चित्त बुझाएन् । आन्दोलनले झनै चर्को रुप लियो । न्यायाधिस त्रिलोकप्रताप राणा आयोग बनाइयो । उक्त आयोगले पनि दुर्घटनाको कारण खुलाउन सकेन् ।
त्यहीबीचमा तत्कालिन एमालेले तत्कालिनस्थायी समिति सदस्य केपी ओली नेतृत्वमा छानबीन समिति पनि बनायो । पद्मरत्न तुलाधार नेतृत्वको आयोग पनि गठन भयो । तुलाधार आयोगले षड्यन्त्रपूर्वक हत्या गरिएको निष्कर्ष निकालेको थियो । आन्दोलन चर्कँदै गयो । कांग्रेंस सरकार ढल्यो । ०५१ सालमा एमालेकै नेतृत्वको सरकार गठन भयो । तत्कालिन एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा बनेको उक्त सरकारले न दुर्घटनाको कारण पत्ता लगायो न जेलमा बसेका अमर लामासंग स्पष्ठिकरण सोध्ने प्रयास नै गर्यो ।
त्यतिमात्रै होइन एमालेले त्यसपछि पनि निकै पटक सरकारको नेतृत्व गरिसकेको छ । ०५१, ०५४, ०५७, ०६३, ०६६, ०६८, ०७० र ०७२ मा एमालेले नै सरकार संचालन गर्दै गर्दा नेताद्वय भण्डारी र आश्रितको जीप दुर्घटनाको कारण बाहीर आउन सकेको छैन।
अद्भुत वाकपटुताका धनी जननेता भण्डारीको एउटा भाषण हामीले सम्झना स्वरुप प्रस्तुत गरेका छाैं ।