नेपाल फर्कन चाहनेलाई राजदूतावासमा विवरण बुझाउन अनुरोध

नेपाल फर्कन चाहनेलाई राजदूतावासमा विवरण बुझाउन बेलायतस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ । नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपालीका लागि आफ्नो विवरण बुझाउन राजदूतावासले सूचना जारी गरेको छ ।

कोभिड-१९ महामारी र लकडाउनको कारणले नेपाल फर्कन नपाएका र छिट्टै नेपाल फर्कनुपर्ने बाध्यतामा रहेका बेलायत, आयरल्याण्ड र माल्टामा रहेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा नेपाल फर्कने व्यवस्था गर्न लागिएको राजदूतावासले जानकारी गराएको छ ।

नेपाल फर्कन चाहनेले आफ्नो नाम, राहदानी नम्बर, स्थायी ठेगाना, नेपाल फर्केपछि बस्ने ठेगाना, नेपालको सम्पर्क नम्बर, नेपाल फर्कनुपर्ने कारण, हाल आफू रहेको ठेगाना, सम्पर्क नम्बर र इमेल साथै आफ्नै खर्चमा तोकिएको होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिन कुनमा बस्ने हो सोसमेत खुलाई राजदूतावासको फेसबुक पेज, ट्वीटर वा इमेलमार्फत पाँच दिनभित्र आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।

नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्यरूपमा स्थानीय क्वारेन्टिन वा होटल क्वारेन्टिनमा १४ दिनसम्म बस्नुपर्ने र तत्पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण भएपछि थप सात दिन अनिवार्य होम क्वारेन्टिनमा समेत बस्नु पर्नेछ । रासस


ताजा खबर