गर्भमा पहिलो बच्चा बसेको छ भने त्यसलाई खेर नफाल्नु राम्रो हुन्छ

  • प्रा.डा. जागेश्वर गौतम

बच्चा जन्माउने तयारी गर्नुअघि श्रीमान-श्रीमतीबिच सल्लाह हुनुपर्छ । सल्लाहअनुसार योजना बनाउनु भविष्यलाई पनि राम्रो हुन्छ । तर, कहिलेकाही योजना नबनाइकन पनि गर्भ रहनसक्छ । यस्तो गर्भलाई केही दम्पती राख्न चाहदैनन् ।

यदि पहिलोपटक हो भने सकेसम्म त्यस्तो गर्भलाई राख्दा राम्रो हुन्छ । अनिच्छित गर्भ रहन दिनुभन्दा पनि त्यसलाई हुनै नदिन अस्थायी साधन प्रयोग गर्नु राम्रो हुने स्त्री तथा प्रसूतिरोग विशेषज्ञ प्रा.डा. जागेश्वर गौतमको सुझाब छ ।

गर्भमा पहिलो बच्चा बसेको छ भने त्यसलाई खेर नफाल्नु राम्रो हुन्छ । गर्भपतन गराइसकेपछि अर्को बच्चा बस्ने सम्भावना पहिलेको भन्दा केही कम हुन्छ । सुरक्षित तरिकाले एबोर्सन गरिएन भने पछिल्लोपटक गर्भ बस्न समस्या हुन्छ ।

सुरक्षित तरिकाले गरेकोमा पनि कहिलेकाहीँ संक्रमण हुनसक्छ । संक्रमणले नली बन्द गर्नसक्छ । असुरक्षित गर्भपतन गर्दा बच्चाको कुनै भाग रहनसक्छ र रगत बगिरहन्छ । त्यसमा पनि इन्फेक्सन हुन्छ र संक्रमण बढ्छ । यसले पनि पछि बच्चा नबस्ने खतरा हुन्छ ।

बच्चा जन्माउने रहरले हो । त्यसैले रहर नलागुन्जेल अस्थायी साधन प्रयोग गर्नु राम्रो हुन्छ । अबोर्सनलाई परिवारनियोजनको साधनका रूपमा लिनु हुँदैन ।

धेरैपटक अबोर्सन गर्दा पाठेघर पातलिन्छ । पातलो भएमा बच्चा नबस्ने सम्भावना हुन्छ । बच्चा बसेमा पनि आफैँ खेर जाने सम्भावना बढी हुन्छ । पाठेघरभित्रको आकार–प्रकार बिग्रन्छ । पछि बच्चा बढ्दै गएर पाठेघर फुट्नेसम्मको खतरा हुन्छ ।

परिवार नियोजनको अस्थायी साधन प्रयोगले नै लामो समयसम्म बच्चा नबस्ने भन्ने हुँदैन । तर, कुनै-कुनै साधनले महिनावारी गडबड गराउँछ । महिलाले लामो समय प्रयोग गर्ने कुनै अस्थायी साधनले ६ महिनादेखि एक वर्षसम्म पनि गर्भ बस्ने समय धकेल्न सक्छ।

महिलाले २५ देखि ३० वर्षको उमेरमा बच्चा पाउनु राम्रो हुन्छ । ३५ वर्षपछिको उमेर बच्चा पाउन उचित समय होइन । यो समयमा बच्चा बस्ने सम्भावना पनि कम हुन्छ । सो समयपछि गर्भ रहेमा बच्चा अपाङ्ग हुने, डाउन सिन्ड्रम देखिने हुनसक्छ भने आमामा पनि उमेर बढ्दै जाँदा डायबिटिज, हाइपरटेन्सन, ओभरवेटको समस्या हुन्छ । यो उमेरमा गर्भवती हुनु खराबी नै त होइन, तर आमालाई अन्य रोग लाग्ने समस्या हुनसक्छ ।

परोपकार प्रसुती  तथा  स्त्रीरोग अस्पतालका निर्देशक समेत रहनुभएका बरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा.गौतम काठमाडौैं चावहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरमा पनि कार्रयत हुनुहुन्छ ।

ताजा खबर