- शोभा शर्मा
हामीले दान गरेको रगतबाट कसैले जीवन पाउँछ । हामीलाई थाहा भएको यत्ति हो । यद्यपि हामीले रक्तदान कस्तो अवस्थामा गर्न सक्छौं, रक्तदान गरेपछि हाम्रो शरीरलाई फाइदा/बेफाइदा के हुन्छ, हामीले गरेको रगत कहाँ, कसरी प्रयोग हुन्छ ? यी र यस्ता थुप्रै जिज्ञासाहरु मेट्नका लागि सफल नेपालले आज विश्व रक्तदाता दिवसकै सन्दर्भ पारेर यो बिशेष सामाग्री प्रकाशित गरेको छ ।
रक्तदान गर्नाले अरुको जीवनमात्र बच्दैन, रक्तदान गर्ने व्यक्ति स्वयंको शरीर समेत स्वस्थ रहन्छ । सामान्यतया एउटा व्यक्तिको शरीरमा छ लिटर (करिब दश युनिट) रगत उत्पादन हुन्छ । जबकी रक्तदानको समयमा भने एक युनिट अर्थात ४७० मिलिमिटर रगत मात्र निकाल्ने गरिन्छ । त्यो भनेको शरीरमा भएको सबै रगतको १२ देखि १४ प्रतिशत मात्र भएकाले रक्तदानका क्रममा त्यसरी रगत निकाल्दा रक्तदातालाई भने कुनै हानी गर्दैन ।
किनकी एउटा व्यक्तिको शरीरमा रगत निर्माण भएको एक सय २० दिन भित्र उक्त रगत स्वत नष्ट हुने गर्छ । जबकी सोही रगत अरुलाई दान गर्दा व्यक्तिको शरीरमा छिटो छिटो रगतको उत्पादन हुने गर्दछ ।
जब शरीरमा रगतको कमी हुन्छ, तब शरीरमा रातो रक्तकोषिका कम हुन्छ तसर्थ शरीरले त्यसको परिपूर्ति गर्नु आवश्यक ठान्छ । मिर्गौलामा भएका विशेष प्रकारका कोषिका (पेरीटुबुलर कोषिका) ले रगतमा अक्सिजनको अभाव महसुस गरेर एरिरोपोपेटिन नामक प्रोटिन निकाल्छ जुन रक्तमाध्यमबाट मज्जा (बोनम्यारो) सम्म पुग्छ ।
त्यसपछि मज्जाले स्टेम कोषिका निर्माण गरी विभिन्न प्रकारका कोषिका निर्माण गर्छ र एरिरोपोपेटिनले स्टेम कोषिकालाई अन्य कोषिका भन्दा अझ बढी रक्त कोषिका निर्माण गर्न लगाउँछ । यसरी शरीरमा उत्पादन हुने रगत विभिन्न ए, बी, एबी, ओ लगायतका रक्तसमूहमा विभाजित हुने गर्दछ । कुनै पनि व्यक्तिले रगत दान गर्दा उनीहरुको रक्तसमूह अनुसार त्यसको वर्गीकरण गरिन्छ ।
रक्तसमूह जे जस्तो भएपनि रक्तदान गर्नु पूर्व रक्तदाताहरुले भने केही कुराहरुमा ध्यान दिन आवश्यक छ ।
रक्तदान गर्नुअघि ध्यान दिनुपर्ने कुराहरुः
- सात्विक भोजन गर्ने,
- कसैको बारेमा नराम्रो नसोच्ने (सात्विक मन गर्ने)
- तनावमा नरहने
- रिल्याक्स भएर बस्ने
- रक्त दान गर्नु २४ घण्टा अगाडि तथा रक्तदान गरेको २४ घण्टासम्म धुमपान तथा मदिरापान नगर्ने
- धेरै बेर नउभिने, आराम गर्ने
- चिनी मिसाएको झोलिलो पदार्थको सेवन अत्यधिक मात्रामा गर्ने
- प्रशस्त मात्रामा जीवनजलको सेवन गर्ने
- दही तथा बेसार मिसाएको खानेकुराको सेवन गर्ने
रक्तदान गर्नुपूर्व वा गरेपछि के खाने ?
- सागसब्जी बढी खाने
- आइरन पाइने खानेकुरामा बढी जोड दिने
- भिटामिन बी १२ युक्त खानेकुराको सेवन गर्ने
- अनार रगतको राम्रो स्रोत भएकाले बढीभन्दा बढी अनारको सेवन गर्ने
- अमला लगायतका भिटामिन सी युक्त खानेकुरा बढी खाने
- आयुर्वेदमा आधारित रक्तवर्धक औषधीको सेवन गर्नु राम्रो मानिन्छ ।
रक्तदान गरेपछि के नगर्ने ?
धेरै मानिसहरुलाई रक्तदान गरेको केही समयमै कमजोरी महसुस हुने गर्छ । जबकी रक्तदान गर्दैमा कमजोरी महसुस भने हुँदैन । किनकी जब रक्तदान गरिन्छ, रक्तदान गरेलगत्तै शरीरमा हेमोग्लोबिनको मात्रा कम हुने गर्छ । शरीरमा हेमोग्लोबिनको मात्रा कम हुनासाथ शरीरमा अक्सिजनको मात्रा स्वतः कम हुने गर्छ । र, मानिसलाई रिङ्गटा लागेजस्तो, झम्म भएजस्तो हुने गर्छ । जुन क्षणिक हो ।
त्यसैले रक्तदान गरेलगत्तै व्यक्तिलाई जरुक्क नउठ्न सल्लाह दिने गरिन्छ ।
त्यस्तै, प्रशस्त मात्रामा फलफूलको जुस, जीवनजल लगायतका झोलिलो पदार्थ सेवन गर्न तथा रक्तदान गरेको कम्तीमा १५ देखि २० मिनेटसम्म आराम गर्ने सल्लाह दिने गरिन्छ ।
कस्तो अवस्थामा रक्तदान गर्नु हुँदैन ?
एक पटक रक्तदान गरेपछि तीन महिना नहुञ्जेल फेरि रगत दिनु हुँदैन । १८ वर्षभन्दा कम उमेर तथा ६० वर्षभन्दा बढी उमेर भएमा, महिलाहरुमा महिनावारी भएमा, गर्भवती भएमा, व्लड प्रेसर कम भएमा, बारम्बार रिङ्गटा लाग्ने , चक्कर हुने वा बेहाेस हुने समस्या भएमा पनि रगत दान गर्नु हुँदैन ।
यसैगरी उच्च रक्तचाप, मधुमेह लगायतको दीर्घकालीन रोग भएमा कुनै गम्भीर समस्या भएमा, कालाज्वर, डेंगु, हेपाटाइटिस बी लगायतका सरुवा रोगको संक्रमण भएमा, टाइफाइड, जण्डिस, सामान्य ज्वरो लगायतको संक्रमण भएमा, कुनै कारणले एन्टीबायोटिक्सको सेवन गरेमा, मुटुको भल्भको शल्यक्रिया गरेमा, व्यक्तिको तौल ४५ केजीभन्दा माथि छ तर पनि रगत चाप घटबढ भएमा, धुमपान तथा मदिरापान गरेमा पनि कम्तीमा २४ घण्टा रक्तदान नगर्न सल्लाह दिइने गरिन्छ ।
त्यस्तै, हेभी एक्सरसाइज गर्नेलाई पनि एक्सरसाइज गरेको कम्तीमा १-२ घण्टासम्म रक्तदान नगर्न सल्लाह दिने गरिन्छ ।
कुन कुन अवस्थामा रक्तदान गर्न मिल्छ
- १८ वर्ष उमेर तथा ५० केजी तौ भएका स्वस्थ्य व्यक्ति जोसुकैले रक्तदान गर्न सक्छन्। अभिभावकको स्वीकृतिमा १६ वर्ष माथिकाले पनि रक्तदान गर्न मिल्छ। ६० वर्षभन्दा बढी उमेरकाहरुले रक्तदान नगरेको वेश।
- ज्वरो वा सास फेर्न गाह्रो नभएमा एलर्जी, सुक्खा खोकी भए पनि रक्तदान गर्न मिल्छ।
- सामान्य खालको दम भएकाहरुले औषधि खाइरहेका भए पनि रक्तदान गर्न सक्छन्।
- नाडीको चाल ५०-१०० प्रतिमिनेट भएका, माथिल्लो प्रेसर (सिस्टोलिक) १००-१८० तथा तल्लो प्रेसर (डायास्टोलिक) ५०-१०० छ भने उच्च रक्तचापको औषधि खाइरहेका वा नखाएका जोसुकैले पनि रक्तदान गर्न सक्छन्।
- चिनी रोगले आँखा, मुटु, मिर्गौला आदि अंगमा असार नपारेको अवस्थामा मुखबाट औषधि खाइरहेकाहरुको चिनी रोग नियन्त्रणमा छ भने रक्तदान गर्न सकिन्छ।
- विगत ६ महिनादेखि छाती दुख्ने तथा मुटुरोग सम्बन्धी लक्षण नभएका, रोग नियन्त्रणमा भएका र दैनिक क्रियाकलापमा समस्या नभएका मुटुरोगीहरुले रक्तदान गर्न मिल्छ।
कुन कुन अवस्थामा रक्तदान गर्न मिल्दैन
औषधि सेवन गरेका बेला
- ज्वरो आएको तथा एन्टिबायोटिक लिइरहेको अवस्था।
- आइसोट्रेटिनोइन, एकुटेन, फिनास्टेराइडजस्ता डन्डिफोर तथा पिसाबको ग्रन्थी बढेको अवस्थामा प्रयोग गरिने औषधिको अन्तिम मात्रा खाएपछि एक महिना नपुगेको अवस्था।
- पिसाबको ग्रन्थी बढेको अवस्थामा प्रयोग गरिने डुटास्टेराइड औषधिको अन्तिम मात्रा खाएपछि ६ महिना नपुगेको अवस्था।
- एस्पिरिन खाइरहेकाहरुले पर्खनुपर्छ भन्ने छैन, तर तीन दिन पर्खंदा वेश।
- हेपारिन, वार्फारिनजस्ता रगत पातलो पार्ने औषधि लिइरहेका बिरामीहरुले चिकित्सकद्वारा औषधि छुटाइएको अवस्थामा सात दिनपछि मात्र रक्तदान गर्नु पर्छ।
- टिक्लोडिपिन, क्लोपिडोग्रेल जस्ता रगत जमाउन कम गर्ने औषधि लिइरहेकाहरुले औषधि छोडेपछि १४ दिन पर्खनुपर्छ।
- ग्रोथ हर्मोन लिएकाहरुले रक्तदान गर्नु हुँदैन।
- सोरियासिस नामक छालाको रोगका लागि इट्रेटिनेट औषधि लिइरहेकाहरुले कहिल्यै पनि रक्तदान गर्नु हुँदैन। एसिट्रेटिन औषधि लिइरहेकाहरुले पनि औषधि छोडेको तीन वर्षसम्म रक्तदान गर्नु हुँदैन।
- छालाको क्यान्सरमा प्रयोग गरिने भिस्मोडेगिल औषधि लिइरहेकाहरुले औषधि छोडेको ७ महिना नपुगेको अवस्था।
- प्रतिरक्षात्मक शक्ति कमजोर हुने रोगमा प्रयोग गरिने टेरिफ्लुनोमाइड औषधि लिइरहेकाहरुले औषधि छोडेको २ वर्षसम्म रक्तदान गर्न मिल्दैन।
खोप
- दादुरा, हाडे, रुबेला, ठेउला तथा जनै खटिरा विरुद्ध खोप लगाएको चार हप्तासम्म रक्तदान गर्नु हुँदैन।
- हेपाटाइटिस ‘बी’ का रोगीको सम्पर्कमा नआएका तर हेपाटाइटिस ‘बी’ खोप लगाएकाहरुले तीन हप्तासम्म रक्तदान गर्नु हुँदैन।
- हेपाटाइटिस ‘बी’ का रोगीको सम्पर्रकमा आएका, हेपाटाइटिस ‘बी’ इम्युन ग्लोबुलिन लगाएकाहरुले एक वर्ष नपुगेसम्म रक्तदान गर्नु हुँदैन।
प्रतिकुल स्वास्थ्य अवस्था
- प्रति एक सय मिलिलिटर रगतमा हेमोग्लोबिन महिलामा १२ दशमलब ५ ग्राम तथा पुरुषमा १३ ग्रामभन्दा कम वा २० ग्रामभन्दा बढी भएकाहरुले रक्तदान गर्नु हुँदैन।
- गर्भवती महिलाले बच्चा जन्मेको ६ हप्तासम्म रक्तदान गर्नु हुँदैन।
- हृदयघात, मस्तिष्कघात, कलेजो तथा मिर्गौला फेल भएकाहरुले रक्तदान गर्नु हुँदैन।
- तराई क्षेत्रमा व्यावहारिक नहुन सक्छ, तथापि मलेरियाको उपचार गरेको तीन वर्षसम्म तथा मलेरिया हुने क्षेत्रमा भ्रमण गरेको एक वर्षसम्म रक्तदान गर्नु हुँदैन।
- रगत बग्न सजिलै नरोकिने रोगी वा रगत पातलो पार्ने औषधी खाइरहेकाहरुले रक्तदान गर्नु हुँदैन।
- हेमोक्रोमेटोसिस नामक रोग भएकाहरुले रक्तदान गर्नु हुँदैन।
- रक्तनलीबाट लागूपदार्थ सेवन गर्नेहरुले रक्तदान गर्नु हुँदैन।
- रगत तथा ग्रन्थीको क्यान्सर भएकाहरुले रक्तदान गर्नु हुँदैन। पूर्णरुपमा उपचार गरिएका क्यान्सर रोगीहरुले पनि एक वर्षपछि मात्र रक्तदान गर्न सक्छन्।
रक्तदान गरेपछि अपनाउनुपर्ने सतर्कता
- ५-२० मिनेट आराम गर्नुपर्छ।
- कहिलेकाहीँ रक्तदान गरेपछि रिङ्गटा लाग्न सक्छ, होस गुम्न सक्छ। यस्तो अवस्थामा जुरुक्क उठ्ने प्रयास गर्नु हुँदैन।
- कोल्टे फर्केर आराम गर्नुपर्छ। गोडा अलि माथि उठाउने वा गोडामुनि सिरानी राखेर सुत्नुपर्छ।
- जुस, जीवन जल, पानी जस्ता तरल पदार्थ प्रसस्त पिउनुपर्छ।
- २४ घण्टा शारीरिक श्रम हुनेगरी गाह्रो काम गर्नु हुँदैन।
रोग हजारौँ प्रकारका हुन्छन्। सबै रोगको परीक्षण सम्भव नहुन सक्छ। आफूलाई लागेको रोग तथा स्वास्थ्य समस्याबारे अरुलाई भन्दा आफूलाई बढी थाहा हुन्छ। यसैले रक्तदान गर्नुअघि आफ्नो रोग तथा स्वास्थ्यबारे स्वास्थ्यकर्मीलाई सबै कुरा जानकारी गराउनुपर्छ। आफ्नो स्वास्थ्यमा नराम्रो असर नपर्ने गरी रक्तदान गरौँ तर रोगदान नगरौँ।
रक्तदान गर्ने व्यक्तिलाई किन हुन्छ कमजोरी महसुस ?
जब व्यक्तिले रक्तदान गर्छ, तब व्यक्तिको मिर्गौलामा रहेको पेरीट्युबुलर सेलले शरीरमा अक्सिजन कम भएको महसुस गर्न थाल्छ । जसका कारण मिर्गौलाले एरिथ्रोपेटिन नामको प्रोटिन सेक्रेट गर्न थाल्छ । उक्त प्रोटिन रगतमार्फत बोनम्यारोसम्म पुग्छ । र बोनम्यारोले तुरुन्तै रातो रक्तकोषिका निर्माण गर्न सुरु गर्न थाल्छ ।
एउटा बोनम्यारोले एक सेकेन्डमा एकदेखि दुई मिलियन रातो रक्तकोषिका निर्माण गर्ने हुँदा रक्तदान गरेको २४ घण्टाभित्रै एउटा व्यक्तिको शरीरमा पुन: निर्माण भैसक्छ । र, व्यक्ति पुरानै अवस्थामा फर्किसकेको हुन्छ ।