रुसी राष्ट्रपति भ्लादिभिर पुटिनको कार्यकालय थप लम्ब्याउन सक्ने गरी संविधानमा परिमार्जनको प्रस्ताव ‘चुनावबाट अनुमोदन’ भएको छ ।
रुसमा भएको जनमतसङ्ग्रहको अन्तिम चरणमा पुगेको मतगणनाबाट संविधान परिमार्जनको प्रस्ताव अनुमोदन भएको त्यहाँका अधिकारीहरूले जनाएका छन्।
राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्ब्याउने बाटो खुला गरिदिने लगायतका बुँदा परिमार्जनमा प्रस्तावित थिए।
निर्वाचन अधिकारीहरूका अनुसार संविधान परिमार्जनको प्रस्तावमा भएको चुनावको मतगणना करिब ९० प्रतिशत भइसकेको छ। र, ती मध्ये ७७ प्रतिशतले प्रस्तावको पक्षमा मतदान गरेका छन्।
जनमतको निम्ति राखिएको प्रस्तावको एउटा मुख्य बुँदामा राष्ट्रपति पुटिनलाई थप दुई कार्यकाल शक्तिमा रहने बाटो खुला गरिदिने प्रस्ताव गरिएको थियो।
संविधानमा गरिने परिमार्जनसँगै सन् २०२४ सम्म कार्यकाल बाँकी रहेका ६७ वर्षीय पुटीन त्यसपछि पनि छ-छ वर्षका दुईवटा कार्यकाल राष्ट्रपतिको उम्मेदवार बन्न सक्छन्। अर्थात् चुनावमा उठे र जितेमा उनले सन् २०३६ सम्म रुसको नेतृत्व गर्न सक्छन्।
विपक्षीहरूले संविधान परिमार्जनलाई आजीवन राष्ट्रपति बन्ने पुटिनको दाउपेच भनेका छन्। पुटिनले भने त्यो आरोप अस्वीकार गरेका छन्।
पुटिनका मुख्य विपक्षी एलेक्से नभाल्नीले चुनावलाई ठूलो झूटको भन्दै त्यसले रुसी नागरिकको वास्तविक धारणाको प्रतिनिधित्व नगर्ने बताए।
चुनावमा ६४ प्रतिशत मत खसेको अधिकारीहरूले जनाएका छन्।
कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन यसअघि एक दिन गर्ने भनिएको मतदान एक हप्तासम्म चलेको थियो।
तर त्यसको स्वतन्त्र परीक्षण भएको छैन। मतदानविरुद्ध देशका कतिपय ठाउँमा प्रदर्शनहरू पनि भएका छन्।
यसअघि पनि चुनावको मिति प्रस्ताव गरिएपछि विरोध र्यालीहरू आयोजना गरिएका थिए तर अधिकारीहरूले लकडाउनसम्बन्धी नियम देखाउँदै त्यसमा प्रतिबन्ध लगाइदिए।
मतदानविरूद्ध हस्ताक्षर अभियान चलाइएको वेबसाइट अदालतहरूले बन्द गरिदिएका थिए।
पुटिनले गत ज्यानुअरीमा राखेको सन् १९९३ को रूसी संविधान परिमार्जनको प्रस्ताव संसद्को दुवै सदनले स्वीकार गरिसकेका छन्।
तर राष्ट्रपतिले नागरिक मतदानले ती परिवर्तनलाई वैधानिकता दिने बताएपछि सुरुमा मतदान गत एप्रिल महिनामा गर्ने भनिएको थियो तर कोरोनाभाइरसको सङ्क्रमणका कारण ढिलो भएको हो।
राष्ट्रपति पुटिनले प्रधानमन्त्री र राष्ट्रपतिको रूपमा दुई दशकदेखि रुसको नेतृत्व गरिरहेका छन्।
उनले आफ्नो कार्यकाल अन्त्य हुने वर्ष सन् २०२४ पछि फेरि उम्मेदवार हुनेबारे केही बताएका छैनन्।
उनले आफ्नो निम्ति त्यो एउटा विकल्प हुने टिप्पणी यसअघि गरेका थिए।
संशोधनका अन्य प्रस्तावहरूमा कारागारको सुरक्षा तथा समलैङ्गिक विवाह र ‘ईश्वरप्रतिको विश्वास’ भन्ने रुसी चलनमा प्रभावकारी प्रतिबन्ध गरिने लगायतका बुँदा समावेश गरिएका छन्। बीबीसी