शिशुलाई जतिधेरै दूध चुसायो त्यतिनै गर्भनिरोधको अवधि बढेर जान्छ

  • बिनोद अधिकारी

सन्दर्भः स्तनपान सप्ताह

स्तनपान भनेको आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट आउने प्राकृतिक दूध चुसाउने क्रिया हो । गर्भधारण प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । सुत्केरी हुन बित्तिकैको पहिलो बिगौती दूध बच्चाको लागि अमृत समान हुन्छ र त्यसले बच्चामा धेरै रोगसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।

स्तनपानलाई परिवार नियोजनको एउटा माध्यमको रूपमा पनि लिइन्छ । आमाले जति धेरै पटक शिशुलाई दूध चुसाउछिन् त्यतिनै बढि अस्थायी गर्भनिरोधको अवधि बढेर जान्छ ।

सबै स्तनधारी प्राणीहरूमा स्तनपान साधारण क्रिया हो । स्तनपानले शिशुको लागि स्वास्थ्य रक्षाको काम समेत गर्छ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुँदैन । उनीहरुले त्यो शक्ति आमाको दूधबाट  प्राप्त गर्छन् ।

आमाको दूधमा रोगाणु नाशक तत्त्व हुन्छन् । आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ जसले शिशुहरूको शरीरमामा फलाम तत्त्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुले शिशुहरूको शरीरमा उब्जने विभिन्न रोगसँग लडेर उनीहरूको रक्षा गर्छ।

बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन् । शरीरले ती विशेष रोगाणुविरुद्ध प्रतिरोधात्मक तत्वहरु बनाउँछ । यो तत्व थोरासिक डक्ट भनिने एक विशेष नलीबाट सिधै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाको पेटमा पुग्छ । यसरी शिशुहरु आमाको दूध नियमित रूपमा खान पाए स्वस्थ रहन्छन् ।

बाल्यकालमा पर्याप्तरूपले आमाको दूध खान नपाएका शिशुमा बाल्यकालमा सुरू हुने प्रकृतिको मधुमेह रोग लाग्ने जोखिम अधिक रहन्छ । उनीहरुमा अपेक्षाकृत बुद्धि विकास समेत नहुने हुन्छ।

बच्चा महिना नपुगी जन्मेको (प्रिम्याच्युअर) छ भने त उसलाई नेक्रोटाइजिङ्ग एन्टोरोकोलाईटिस जस्तो घातक रोगसमेत हुनसक्छ । त्यसैले छदेखि आठ महिनासम्मका शिशुहरूका लागि आमाको दूध उत्तम आहारमात्र हैन बरु जीवनरक्षक आहार पनि हो ।

स्तनपान सम्बन्धमा गलत धारणा

केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि गलत धारणा हुन्छ तर यो सत्य भने होइन । आधुनिक विज्ञानले यस्तो धारणालाई गलत पुष्टि गरिसकेको छ ।

नियमित र निश्चित अवधिसम्म गराइएको स्तनपानले शिशुको उपचार र खाना खर्चमा ५० प्रतिशतले बचत हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति हुनुका साथै गौरव महसुस हुन्छ । त्यसैगरी उनले मानसिकरूपमा आफू स्वस्थ भएको अनुभूति गर्ने हुनाले उनलाई आत्मसन्तुष्टि समेत प्राप्त हुन्छ।

स्तनपानका फाइदा

आमाको दूध पोषणको लागिमात्र नभएर यसले आमा र बच्चाको स्वास्थ्यमा अत्यन्त सकारात्मक प्रभाव पार्छ । शिशुलाई जन्मेको छ महिनासम्म स्तनपानमात्र गराउनु पर्छ । शिशुको स्वास्थ्य र जीवनको लागि अत्यन्त जरूरी आमाको दूध सुपाच्य हुन्छ र यसले शिशुको पेट गडबड हुने डर हुँदैन । आमाको दूध शिशुको नाक र घाँटीमा प्रतिरोधी तह बनेर बस्छ र त्यसले रोग प्रतिरोधक क्षमता बढाउन पनि सहायता गर्छ ।

स्तनपानले दम र कानको रोग शरीरमा लाग्नबाटमा जोगाउँछ । केही शिशुलाई गाईको दूधले एलर्जी हुनसक्ने खतरा रहन्छ तर आमाको स्तनपान गर्नु शत प्रतिशत सुरक्षित हुन्छ ।

नियमित र निश्चित अवधिसम्म स्तनपान गर्ने शिशु पछि अन्न खुवाउँदा पनि असुहाउँदो र अस्वाभाविकरूपमा मोटो हुँदैनन्। स्तनपान गर्ने शिशुहरुमा सुरुदेखि नै आवश्यकताभन्दा अधिक खाने बानी नपर्ने हुँदा उनीहरुमा अस्वाभाविक रुपमा मोटोपना नदेखिने अध्ययनहरुले देखाएका छन् ।

निश्चित अवधिसम्म स्तनपान गर्ने शिशुहरूलाई जीवनका पछिल्लो चरणहरूमा पनि रक्त क्यान्सर, मधुमेह र उच्च रक्तचाप जस्ता रोगहरुको खतरा तुलनात्मकरूपमा निकै कम हुन्छ। स्तनपानले शिशुको बौद्धिक क्षमतामा समेत वृद्धि हुन्छ ।  स्तनपान गराउने आमा र शिशुका बीचमा भावनात्मक सम्बन्ध धेरै बलियो हुन्छ। यसबाहेक आमाको दूधमा धेरै प्रकारका प्राकृतिक रसायनहरु पनि रहेका हुन्छन् जसले शिशुको शारीरिक तथा मानसिक विकासमा अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ ।

स्तनपानलाई प्रोत्साहन

विश्वका विभिन्न देशले स्तनपानलाई प्रोत्साहन गरेका हुन्छन् । विगत १९ वर्षदेखि स्तनपानलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अगस्ट महिनाको पहिलो सातालाई स्तनपान सप्ताह घोषणा गरेको छ । आजको दिन स्तनपान सम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ ।

चीनले स्तनपानलाई शिशुको महत्त्वपूर्ण अधिकारका रूपमा सुनिश्चित गरेको छ र बट्टाको दूध शिशुलाई खुवाउन पूर्णरुपमा कानूनी प्रतिबन्ध लगाएको छ । यो प्रशंसनीय र अनुकरणीय कदम हो ।

अधिकारी  स्वास्थ्य सञ्चार तथा जनसम्पर्क क्षेत्रमा लमो समयदेखी सकृय हुनुहुन्छ  ।


ताजा खबर