नेपालको बैङ्किङ सेवाको ‘कोसेढुङ्गा’ मानिएको नेपाल बैङ्क लिमिटेड नियामक निकाय नेपाल राष्ट्र बैङ्क स्थापना हुनुपूर्व नै स्थापित मुलुककै जेठो बैङ्क हो । आठ दशकभन्दा लामो बैङ्किङ यात्राको साक्षी यस बैङ्कले मुलुकमा कोरोना सङ्क्रमणको जोखिम रोक्न गरिएको लकडाउनमा पनि आफ्नो पाकोपन र जेठो छवि व्यवहारमा देखायो । लामो लकडाउनमा पनि सेवा सुचारु गरेर बैङ्कप्रति ग्राहकको भरोसालाई अझै बलियो बनायो । करिब १६ लाख निक्षेपकर्ता, एक लाख कर्जा ग्राहक गरी कुल १७ लाख जति यसका ग्राहक छन् भने बैङ्कका १८३ वटा शाखा, सातवटा प्रदेश कार्यलय, १२५ वटा एटीएम र २७ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् । नेपालको बैङ्किङ व्यवसायको सम्भावना र चुनौती विषयमा प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीसँगको सफल कुराकानी :
बैङ्कको गत आर्थिक वर्षको लगानी, असुली र अनुमानित नाफाको अवस्था कस्तो रह्यो ?
आर्थिक वर्ष २०७६-७७ को पछिल्लो समयमा विभिन्न उतारचढाव र सङ्कट आए पनि नेपाल बैङ्कको प्रगति मूल्याङ्कन गर्दा समग्र बैङ्क तथा वित्तीय संस्थाको डिपोजिटमा १३.१३ प्रतिशत वृद्धि हुँदा हामीले मात्र त्यसको करिब २३ प्रतिशतले वृद्धि गरेका छौँ । करिब साढे नौ प्रतिशत सिङ्गो उद्योगको कर्जामा वृद्धि हुँदा नेपाल बैङ्कको करिब १२ प्रतिशत वृद्धि भएको छ । हामी गत वर्ष ११७ अर्बको डिपोजिटबाट अहिले १४३ अर्बमा पुग्न सफल भयौँ । ९७ अर्बको कर्जाबाट १०९ अर्ब कर्जाको दायरा विस्तार ग¥यौँ । नाफाको प्रारम्भिक आँकडा अनुसार यो गत आव वर्षको २५९ करोडको नाफालाई त्यही तहमा राख्न सकिन्छ कि भन्ने हामीलाई विश्वास छ ।
लगानी विस्तार अनुसारको अनुपातमा नाफा बढ्न नसक्नुका कारण के के हुन् ?
नाफा कम हुनुका मुख्य दुईवटा कारण छन् । एउटा हामीले २०७६ साउनदेखि नै नेपाल राष्ट्र बैङ्कले दिएको स्प्रेड रेटलाई निरन्तर पालना गर्दै आयौँ । यो असार मसान्तसम्म ४.४ प्रतिशतमा ल्याउनुपर्ने थियो तर गत वर्षको साउनदेखि नै हामीले ४.५ प्रतिशतभित्रै रहेर आइराखेका कारणले गर्दा हाम्रो ‘बिजनेस भोल्युम’ बढ्दा बढ्दै पनि नाफा बढ्न सकेन । अर्को कोभिडले गर्दा हाम्रा व्यापारी व्यवसायीको आम्दानीमा पनि केही शिथिलता आयो, जसले गर्दा बैङ्कले गत आवको अन्तिम त्रैमासमा मात्र करिब रु. ४५ करोड ब्याज छुट दिएको छ । यी कारणले गर्दा केही नाफा त्यो ‘भोल्युम’मा वृद्धि हुन नसकेको हो तर पनि समग्रमा हामी निराश हुुने अवस्था छैन, झन्
उत्साहित नै छौँ ।
कोरोनाका कारण उत्पन्न विषम परिस्थितिमा बैङ्कले आफ्नो सेवाको व्यवस्थापन कसरी ग¥यो र गर्दै पनि छ ?
१२० दिनको लकडाउनको अवधिमा लकडाउन प्रारम्भ भएको दोस्रो दिनबाटै हामी निरन्तर ग्राहकको सेवामा लाग्यौँ । सुरुका केही दिन निश्चित घण्टा मात्र सेवा दियौँ । केही दिनभित्रै हामीले सम्पूर्ण शाखा खोल्यौँ । बैङ्किङ सेवा समयलाई पनि बढायौँ । त्यो कठिन परिस्थितिमा पनि सेवा दिएका कारणले अहिले नयाँ ग्राहक बढ्न थालेका छन् । नेपाल राष्ट्र बैङ्कले भनेअनुसार चैत मसान्तभित्र ग्राहकले आफ्नो भुक्तानी तालिका बमोजिमको तिर्नुपर्ने ऋणमा १० प्रतिशत छुट प्रदान ग¥यौँ । हाम्रा ग्राहकलाई एटीएम प्रयोग गर्नेदेखि इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङमा अलिकति अभ्यस्त गर्न पनि सक्यौँ । यस कारणले गर्दा ग्राहकका विश्वास हामीप्रति अझ बढ्दै गएको जस्तो पनि हामीलाई लागेको छ ।
कोरोनाकै कारण बैङ्कमा तरलता बढ्दै गएको र ब्याजदरमा पनि कमी आउँदै गरेकोे प्रतिकूल अवस्थाको सामना गर्न नेपाल बैङ्कले कस्तो किसिमको रणनीति बनाएको छ ?
अहिले सीसीडी अनुपात सालाखाला ७० प्रतिशतमा रहेको छ । नयाँ आवमा त्यो तरलतालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा बैङ्कहरूको प्रतिस्पर्धा छ । बैङ्कहरूले यो प्रोडक्ट, उ प्रोडक्ट यति रेटमा भनेर ल्याइरहेको अवस्था छ । केही बैङ्क ‘एग्रेसिभ वे’बाट पनि आइरहेका छन् । हामी पहिलादेखि नै न्यूनतम ब्याज लिने बैङ्कमा पर्दथ्यौँ । हाम्रा धेरै कर्जा प्रोडक्टका ब्याज पहिलेदेखि सिङ्गल डिजिटमा थिए । अहिले हामी त्यो दौड गइसकेका छैनौँ, हेरिरहेका छौँ तर मार्केटको छाल त हामीलाई पनि आइहाल्छ । त्यस हिसाबले हामी पनि केही गृहकार्य गर्दैछौँ ।
हाल नेपाल बैङ्कको व्यावसायिक ग्राहकले सिङ्गल डिजिट ब्याजदरमा कर्जा पाइरहनुभएको छ । पहिलो त्रैमासपछि फेरि अहिलेको जस्तो ‘प्राइस वार’को स्थिति नरहन सक्छ । आगामी दिनमा हामीले सुरक्षाका उपाय अपनाएर आर्थिक गतिविधि अगाडि बढाउनु नै पर्दछ । कैयौँ होटल, एयरलायन्स धेरै लामो समयसम्म सङ्कटग्रस्त होलान् । त्यसमा पनि बैङ्कले उहाँहरूलाई पुनर्जीवन दिन पनि सहयोग गर्नुपर्ने हुन्छ । त्यस्ता संस्थाबाट कर्जाका माग अझै आइरहन सक्छन् । यिनै कुरा गर्नका लागि र प्रभाव केही कम भएका क्षेत्रमा आर्थिक गतिविधि बढ्छ । प्रभाव बढी भएकोमा शिथिलता रहन्छ र केही बढी समय पनि लाग्छ ।
त्यसो भए लगानीको प्राथमिकता क्षेत्र के हुन्छ त ?
नेपाल राष्ट्र बैङ्कले नै ल्याएको नीतिबमोजिम पनि निश्चित क्षेत्रमा हामी अगाडि बढ्नुपर्ने हुन्छ । लघु, घरेलु, साना तथा मझौला उद्योग आदि क्षेत्रमा कर्जा लगानी बढ्छ । अर्को कुरा सरकारको नीतिबमोजिम १५ प्रतिशत कृषिमा लगानी गर्नुपर्ने छ । यतिखेर वैदेशिक लगानीमा रहेका हाम्रा श्रमिक स्वदेश फिर्ता भएका र कति समय स्वदेशमा बस्छन्, सोको यकिन नभएकाले उनीहरू आफैँले उद्यम कति गर्न सक्छन् भन्ने कुरा पनि यकिन हुन सकेको अवस्था छैन तर कमसेकम पनि उनीहरूलाई यहाँ अभ्यस्त गराउन सकियो भने आफ्नो देश, गाउँठाउँमा, आफ्नै परिवारसँग बसेर यहीँ केही गर्न सक्छौँ भन्ने भावना जाग्रित गरायौँ भने केही समयपछि नजान पनि सक्छन् । यस हिसाबले त्यस्ता क्षेत्रमा लगानी बढाउनैपर्ने हुन्छ । केही निश्चित सेक्टरको सङ्कट ठूलै भए पनि केही सेक्टरमा हामीले अझै गर्न सक्ने ठाउँ छ । त्यतातिर हाम्रो ध्यान गइरहेको छ ।
एसएमई र कृषि क्षेत्रमा आकर्षण बढिरहेको छ, त्यसतर्फ बैङ्कले केही योजना बनाएको छ ?
पहिला हाम्रो देशले एग्रो प्रोडक्ट निर्यात गर्दथ्यो । अहिले आयात गर्नुपर्ने अवस्था छ । कमसेकम हामीलाई यस्ता उत्पादनको आयात प्रतिस्थापन गर्नुपर्ने आवश्यकता छ । यसले विदेशी विनिमय सञ्चिति राम्रो बनाउँछ । आयात प्रतिस्थापन नभए केही समयपश्चात् विदेशी मुद्रा सञ्चितिमा दबाब पर्न सक्नेछ । विदेशी मुद्राको अर्को स्रोत भनेको रेमिट्यान्स हो । यो पनि घट्ने निश्चित छ । रेमिट्यान्स पनि नआउने, टुरिजम इन्डस्ट्रिज पनि शिथिल हुने अवस्थामा हाल भएको वैदेशिक सञ्चितिले त कति दिन पुग्छ र ? कमसेकम कृषि उत्पादनहरू मासु, फलफूल नै किनेर ल्याउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो । आयात प्रतिस्थापन र नेपाली दाजुभाइ दिदीबहिनीलाई केही उद्यमशीलता सिकाउनका लागि हाम्रो प्रयास रहन्छ ।
सानो लगानीका व्यवसायीलाई कसरी सम्बोधन गर्ने योजना बैङ्कले बनाएको छ ?
साना, घरेलु तथा लघु उद्यम कर्जाका लागि विशेषखालका प्रोडक्ट लघु उद्यमी कर्जा हालसालै मात्र सुरुवात गरेका छौँ । यो बेला भनेको नाफा कमाउनेभन्दा पनि आमनागरिकका लागि उद्यमशीलता विकास गर्ने र आफ्नै ठाउँमा जुन स्केलको व्यवसाय गर्न सक्यो, त्यो गर्नका लागि प्रोत्साहन मिल्ने गरी लघु उद्यम कर्जा ल्याएका छौँ । त्यो भनेको एक करोडसम्मको कर्जा लगानीबाट सञ्चालन हुने उद्योग, व्यवसाय हो । उहाँहरूको ३० प्रतिशत र बैङ्कको ७० प्रतिशतको सम्मिश्रणमा उत्साहित हुनेखालका प्रोडक्ट छ । त्यसमा ब्याजदर अहिले ८.९९ प्रतिशत कायम गरेका छौँ । त्यसैले प्रत्येक गाउँगाउँमा त्यस्तोखाले सम्भावना भएको ठाउँमा हामीले पनि कन्सल्टेन्सी दिन्छौँ र उहाँहरूलाई व्यापार व्यवसाय गर्न प्रोत्साहित गर्छौं । यसका लागि हाम्रा शाखाहरू गाउँगाउँमा पुगेका छन् । ती शाखालाई सक्रिय बनाउँछौँ ।
हालै आएको मौद्रिक नीति कोरोना प्रभावित अर्थतन्त्रको पुनरुत्थानमा केन्द्रित छ । यसबाट प्रभावित अर्थतन्त्र माथि उठाउन बैङ्किङ क्षेत्रको कस्तो सहयोगी रणनीति बन्दैछ ?
नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७७÷७८ का लागि जुन मौद्रिक नीति ल्याएको छ, त्यो अहिलेसम्म ल्याइएकामध्येकै सबैभन्दा राम्रो, सबै पक्षको कुरा सम्बोधन भएको, समस्या समाधान गर्न सक्ने खालको रहेको छ । यसबाट व्यापारी वर्ग, बैङ्किङ क्षेत्र र सर्वसाधारण पनि उत्साहित भएका छन् । यसले अहिलेको परिस्थितिलाई मात्र नभएर दीर्घकालीन दृष्टिकोण पनि राखेको जस्तो लाग्दछ ।
अहिले जलविद्युत्कै कुरा गर्दा यसमा लगानी गर्ने कि नगर्ने बैङ्कहरू पनि द्विविधामा थिए । व्यवसायीहरू जहिले पनि समस्यै समस्या मात्र हुन्छ, के लगानी गर्ने भने सोचमा थिए तर यो मौद्रिक नीतिले त्यो द्विविधालाई चिर्न सकेको छ । बैङ्कहरूलाई पनि लगानी गर्न प्रोत्साहन दिएको छ । प्रसारण लाइन नभएका कारणले गर्दा जलविद्युत् परियोजनाले भोग्नुपरेका समस्यालाई समाधान गरेको छ । निर्यातका लागि पनि सोचाइ बनाएको छ । त्यस्ता परियोजनालाई इन्सेन्टिभ दिएको छ । कृषिमा पनि विविधीकरण गरेको छ । त्यसमा पनि कस्तो कस्तो प्रोजेक्टलाई के के सुविधा दिने भन्ने कुरा पनि गरेको छ । अर्को कोभिडले व्यवसायलाई पु¥याएको असरलाई तीन वर्गमा विभाजन गरेको छ जस्तै न्यून, मध्यम र उच्च । यिनीहरूलाई केही राहत दिएको छ । न्यूनतम असर परेकाले छ महिना समय पाएको छ भने मध्यमले नौ महिना र उच्चले एक वर्ष । बैङ्कहरूलाई पनि स्पेसल निर्देशन आउँदा हामीलाई पनि सहज भयो । रिफाइनान्सको पनि एउटा प्याकेज लिएर आएको छ । यसले गर्दा तिनीहरूलाई पनि सहज भयो ।
बैङ्कको सेवालाई यही रूपमा बढाएर ग्राहकको मन जित्ने प्रविधि र जनशक्ति व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
नेपाल बैङ्क लिमिटेड नेपालको ‘फ्ल्यागसिप’ बैङ्क हो । यो अहिले नेपालमा भएका जति पनि ठूलो व्यापारिक घरना हुनुहुन्छ, उहाँहरूको जन्म नेपाल बैङ्कबाट नै भएको हो । अहिले उहाँहरू जुन स्थानमा हुनुहुन्छ, त्यहाँ पु¥याउनका लागि नेपाल बैङ्ककै योगदान छ । उहाँहरू पनि भन्ने गर्नुहुन्छ कि नेपाल बैङ्कले गर्दा हामी यो तहमा पुगेका हौँ । अर्कोतर्फ सर्वसाधारणसम्म पनि पुगेको बैङ्क हुनाले हामीले अर्थतन्त्रको सबै तह र तप्काबाट माया, ममता पाइरहेका छौँ ।
उहाँहरूमा नेपाल बैङ्कप्रति विश्वास छ । त्यसलाई कायम राख्नका लागि हाम्रो सेवा दिने परिपाटीलाई अझै सभ्य र सुसंस्कृत छिटोछरितो बनाएर उहाँहरूको हामीप्रतिको धारणालाई अझै उचाइमा पु¥याउने हाम्रो लक्ष्य छ । जुन एकै पटक हुने कुरा होइन । बिस्तारै क्रमैसँग हुने हो ।
अहिलेको बजारको ‘क्रिम’ जनशक्ति नेपाल बैङ्कमा छ । त्यसैले हाम्रो जनशक्तिबीच आफूभित्रै हिजोभन्दा आज राम्रो गर्छु भन्ने प्रतिस्पर्धी भावना उब्जिएको छ । हामी हाम्रो सेवालाई ‘सर्भिस कल्चर’मा विकास गर्दैछौँ । ग्राहकहरूका लागि जति बेला पनि जहाँ पनि सेवा दिन तयार हुन्छौँ । १० देखि ५ बजेसम्म हामी ग्राहकसँगै समर्पित हुनुपर्छ र त्यत्तिले मात्रै पुग्दैन । आवश्यक प¥यो भने जतिबेला पनि तयार हुनुपर्छ भन्ने हाम्रो धारणा तल्लो तहबाटै विकसित भएको छ ।
आगामी दिनमा बैङ्कले कहाँ पुुग्ने लक्ष्य राखेको छ ?
चालू आर्थिक वर्षमा हामीले नेपालको सबै जिल्लामा पुग्ने लक्ष्य राखेका छौँ । त्यसका लागि शाखा सङ्ख्या वृद्धि गर्दै सबै नागरिकलाई बैङ्किङ परिधिभित्र ल्याउने कोसिस हामीले गर्नेछौँ । यो आर्थिक वर्षमा ३५ वटा थप शाखा विस्तार गर्दैछौँ । यी शाखा र व्यवसायको वृद्धिका लागि हामीले ५६० जना नयाँ कर्मचारी यसै त्रैमासभित्र नियुक्त गरी सक्ने गरी कार्य गरिरहेका छौँ । बैङ्कमा प्रवेश गर्ने नयाँ जनशक्ति हामीभन्दा झन् बढी प्रविधिमैत्री हुनुहुनेछ । उहाँहरू एउटा नयाँ संस्कार, नयाँ तौरतरिका, ग्राहकमैत्री व्यवहार र आचरण लिएर आउनुहुनेछ । हामी अझ परिस्कृत रूपबाट हामी अगाडि बढ्दै जानेछौँ । अर्काे कुरा प्रविधिमा पनि यही बीचमा धेरै कुरा सुधार गरेका छौँ ।