सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ ।
अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिदाइ भेट गरेलगत्तै बालुवाटार पुगेर अर्थमन्त्रीले राजीनामा बुझाउनु भएको प्रेस सल्लाहकार यमन पौडेलले जानकारी दिनुभयो । ‘अर्थमन्त्रीज्यूले साँझ नै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउनुभएको छ,’ उनले नेपालटीभी अनलाइनसँग भने ।
खतिवडाले अर्थ मन्त्रालयमा २ वर्ष ६ महिना १७ दिन र सञ्चार मन्त्रालयमा ७ महिना ८ दिन नेतृत्व गर्नुभएको थियो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाको एकमात्र रिक्त सदस्य पदमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेपछि डा. खतिवडा शनिबारदेखि स्वतः पदमुक्त हुँदै हुनुहुन्थ्यो । तर, उहाँले स्वतः पदमुक्त हुनुअघि नै शुक्रबार राजीनामा दिनुभएको हो ।
खतिवडा पहिलोपटक २०७४ साल चैत २ गते अर्थमन्त्री नियुक्त हुनुभएको थियो । राष्ट्रिय सभामा गोलाप्रथाबाट दुई वर्षे कार्यकाल निश्चित गर्नुभएका उहाँको पदावधि सकिएकै दिन २०७६ साल फागुन २० गते राजीनामा दिएपछि त्यसको भोलिपल्ट पुनः उहाँ दोस्रो कार्यकालका लागि अर्थमन्त्री नियुक्त हुनुभएको थियो ।
संविधान बमोजिम संघीय सांसद नभएको व्यक्ति ६ महिनामात्रै मन्त्री हुन पाउँछ । त्यसपछि संघीय संसदको सदस्य नियुक्त हुन नसकेको अवस्थामा स्वतः पदमुक्त हुने व्यवस्था छ । लामो रस्साकस्सीपछि पार्टीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने भएपछि तत्कालका लागि डा. खतिवडाको सत्तायात्रा रोकिएको हो ।
मन्त्री गोकुलप्रसाद बास्कोटाको राजीनामापछि खतिवडाले २०७६ साल फागुन ११ गतेदेखि सरकारको प्रवक्तासहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको थप जिम्मेवारी पाउनुभएको थियो ।