कथा ‘रुटिन अफ नेपाल बन्द’ को

१० वर्षअघिसम्म ‘नेपाल बन्द’ धेरै सुनिन्थ्याे । कहिले कुन पार्टीको बन्द, कहिले कुन समूहको बन्द । एक हिसाबमा त्यस समय नेपाल बन्दको रुटिन नै बन्थ्यो ।

सोही समय एसएलसी दिएर बसेका युवा भिक्टर पौडेलले नेपाल बन्दको विषयमा जानकारी दिन र त्यसको विराेध गर्न फेसबुक पेज सुरु गर्ने सोच बनाए । नाम जुर्‍यो- ‘रुटिन अफ नेपाल बन्द’ ।

भिक्टर केही पेजमा आवद्ध भएर काम गरिरहेका थिए । त्यसैले पनि उनलाई पेजका बारेमा जानकारी थियो । त्यसैले उनले आफैँ पेज सुरु गर्ने सोच बनाएका थिए ।

पेजको नाम पनि भिक्टर आफैँले जुराए । नामको विषयमा भिक्टर भन्छन्, ‘त्यो समयको बन्द भनेको रुटिनजस्तै हुन्थ्यो । त्यसैलाई ब्यङ्ग्य गर्नका लागि नै मैले नाम रुटिन अफ नेपाल बन्द राखेको थिएँ ।’

पेज सुरु गर्दा भिक्टरका २ उद्देश्य थिए, बन्दको जानकारी दिनु र त्यसको विरोध गर्नु । दोस्रो लोडसेटिङको रुटिन दिनु ।

भिक्टर भन्छन्, ‘पेजमा हामीले कुन पार्टीले गरेको बन्द हो, यसको प्रभाव कस्तो हुन्छसम्म लेखिदिन्थ्यौँ ।’

ठूला दलले गरेको बन्द भए त्यसको प्रभाव बढी हुन्थ्यो । साना दलहरूले गरे त्यसलाई जनताले खासै टेर्दैनथे । रुटिन अफ नेपाल बन्दले पनि त्यस्तै कुराहरूलाई जोड दिन्थ्यो । धेरै हदसम्म उनीहरूकाे पूर्वानुमान सफल पनि हुन्थ्याे । 

भिक्टर भन्छन्, ‘हामी त पेजमा यो बन्द फलानो पार्टीले गरेको हो । यसको इतिहास यस्तो छ । त्यसैले डराउन पर्दैन भनेर लेखिदिन्थ्यौँ । आखिर हामीले जे लेख्यौँ त्यस्तै हुन्थ्यो ।’ यसो गर्दा धेरै पटक कार्यकर्ताबाट आउने धम्की सुन्न बाध्य थिए, भिक्टर ।

विरोधकै लागि वा प्रभाव कम होस् भन्ने हिसाबले पेजमा बन्दको सूचना पनि ढिला दिइन्थ्यो । राति ८-९ बजेपछि मात्रै पेजमा बन्दको जानकारी दिइन्थ्यो । त्यो पनि पूर्वानुमानसहित ।

पछि त पेजबाट रगत खोज्नलाई पनि सहज होस् भन्ने सोचले कहीँकतै रगत चाहिए पेजबाट पाेस्ट गर्न थालियो । त्यसको प्रभाव पनि राम्रै पर्‍यो ।

रुटिन अफ नेपाल बन्द सुरु हुने समय लाइक बढाउने एउटा ट्रेण्ड थियो, ‘यस पेजलाई लाइक गर्नुस्, तपाईंको मनोकामना पूरा हुनेछ ।’

तर, भिक्टरले रुटिन अफ नेपाल बन्दबाट कहिल्यै त्यस्तो झुटको खेती गरेनन् । उनले जे उद्देश्यले पेज सुरु गरेका थिए, त्यसलाई कहिल्यै भुलेनन् । बरु, नेपाल बन्दको हल्ला सुनियो भने त्यसलाई पोस्ट गरिहाल्न हतार गरेनन् । हरेक तवरबाट त्यसलाई प्रमाणित गरेर मात्रै उनले पेजमा पोस्ट गर्थे ।

भिक्टर भन्छन्, ‘हामीलाई त हाम्रो अडियन्सको विश्वास जित्नु थियो । अडियन्सलाई सही सूचना दिनु थियो । त्यसैले बन्दको कुरा आयो भने पनि विभिन्न चरणबाट प्रमाणित गरेर मात्र पाेस्ट गर्थ्याैँ।’

भिक्टरले पहिला ‘पुलिस फ्यान क्लब’ चलाएका थिए । त्यसैले उनलाई प्रहरीसँग सोधपुछ गर्न सजिलो भयो । केही चिनजानका पत्रकारहरूले पनि भिक्टरलाई साथ दिए ।

पत्रकारहरू पनि साथमा भएपछि रुटिन अफ नेपाल बन्दले ‘एक्सक्लुसिभ’ समाचार पनि पाउँथ्यो । त्यसले पेजलाई झनै ‘बुस्ट’ गरिदियो ।

प्रमाणित गरेर मात्रै पाेस्टहरू हाल्दा पेज प्रति दर्शकको विश्वास बढ्यो । ‘हामीले सुरुदेखि नै विश्वास जित्यौँ भन्दा फरक पर्दैन’, भिक्टर भन्छन्, ‘कोहीकोही हावा भन्दै गाली गर्ने पनि हुनुहुन्थ्यो । तर, पछि उक्त कुरामा सत्यता पाएपछि उहाँहरूले झन धेरै विश्वास गर्न थाल्नुभयो ।’

केही समयपछि पेजले अडियन्सको विश्वास जित्यो । पेजमा आएका प्रतिक्रियाले पनि उक्त कुराको पुष्टि गरिदिन्थ्यो । अडियन्सले कमेन्टमा लेख्थे, ‘रुटिने दाइले नलेखेसम्म हामी विश्वास गर्दैनौँ ।’ 

भिक्टरले यत्तिका विश्वास जित्छ भन्ने सोचेकै थिएनन् । उनी भन्छन्, ‘विकृति मात्रै चलिरहेको त्यस समय केही सकारात्मक तरिकाले काम गरौँ न त भनेर पेज सुरु गरिएको थियो । आखिर हाम्रो सकारात्मक सोचलाई अडियन्सले विश्वास गरिदिनुभयो । योभन्दा खुसी के होला र !’

रुटिन अफ नेपाल बन्दको टार्गेट भनेको नै युवा अडियन्स थिए । उनीहरूको रुचिअनुसार नै पेजमा विभिन्न पाेस्टहरू हाल्ने गरिन्थ्यो ।

पेज सुरु गरेको केही समय त नेपाल बन्द र लोडसेडिङको सेड्युल दिइयो । पछि त नेपाल बन्द पनि कम भयो, लोडसेटिङ पनि हट्यो । अब भने पेज पूर्ण रूपमा युवा पुस्तामा टार्गेट भयो ।

भिक्टर भन्छन्, ‘मलाई चासो लाग्ने विषय पक्कै मेरो उमेरका युवाहरूलाई चासो हुन्छ भन्ने लाग्यो । त्यसैले न्युजहरू हाल्दा पनि युवालाई आकर्षित गर्ने खालको समाचारहरू पाेस्ट गर्न थाल्यौँ । सोहीअनुसारको जोक्सहरू पाेस्ट गर्न थाल्यौँ ।’

युवामा बढी केन्द्रित भएपछि पेजमा थुप्रै म्यासेजहरू आउन थाल्यो । विभिन्न ठाउँका रमणीय तस्वीर, विभिन्न जोक्ससँगै सल्लाह-सुझाव पनि आउन थाल्यो । भिक्टरले पनि आएका फोटोहरूलाई राम्रो क्याप्सनसहित पाेस्ट गर्दिन थाले । जसका कारण झनै अडियन्स पेजप्रति उत्साहित रहे ।

सुरुमा जोक्स र फोटोहरूको बाहुल्य थियो । अहिले भने धेरै जसो समाचार पाेस्ट भएको हुन्छ । भिक्टर भन्छन्, ‘अहिले हामीले जोक्स पाेस्ट गर्न बन्द नै गरेका छौँ । अहिले हामी तस्वीर, समाचारमा नै केन्द्रित भएका छौँ । यसबाहेक बिहान गुड मर्निङ र बेलुका गुडनाइट त छुटेकै छैन ।’

अहिले रुटिन अफ नेपाल बन्दको पेज खाेलियाे भने कभर फोटो देखिन्छ, ‘रुटिन अफ नेपाल बन्द- २ मिलियन+ लाइक, सम्पूर्णलाई धन्यवाद ।’

९ वर्षे यो यात्रापछि रुटिन अफ नेपाल बन्दले २० लाख सदस्य पाएको छ ।

रुटिन अफ नेपाल बन्दले ह्वात्तै लाइक पाएको हाेइन । यस पेजले बिस्तारै गति लिएको हो । भिक्टर भन्छन्, ‘कहिल्यै पनि ह्वात्त लाइक्स बढ्ने भन्ने नै भएन । निरन्तर एउटै लयमा अडियन्स थपिँदै जानुभयो ।’

सुरुवाती दिनदेखि नै पेज निकै उपयोगी भइदियो । बन्दको रुटिनसँगै त्यसको प्रभावको विषयमा जानकारी दिने, लोडसेटिङको रुटिन दिने, रगत चाहिएमा सहयोग गर्ने । त्यसैले पनि फेसबुक प्रयोगकर्ता यस पेजप्रति आकर्षित भए ।

भिक्टर पनि जीवनाेपयोगी र सकारात्मक भएकै कारण पेजमा फेसबुक प्रयोगकर्ताको आकर्षण बढेको कुरा स्वीकार्छन् । उनी भन्छन्, ‘सुरुमा त बन्द, लोडसेडिङ र रगतले अडियन्स तान्यो । पछि युथ टार्गेटेड विषयवस्तुले पेजलाई थप माइलेज दियो ।’

अडियन्स बढ्दै जाँदा आफूले थप जिम्मेवार महसुस गरेको भिक्टर बताउँछन् । पेजप्रतिकाे विश्वासलाई टुट्न नदिन उनी हरेक कुरामा सचेत छन् । कुनै सूचना वा समाचार आए त्यसलाई तीन चरणमा प्रमाणित गरेर मात्रै पाेस्ट गर्ने गरेको भिक्टर बताउँछन् ।

पेजका लागि भिक्टर ‘वान मेन आर्मी’ नै हुन् । सुरुवाती दिनमा पेजमा पाेस्ट गर्न अरुलाई पनि अधिकार दिएका थिए । तर, त्यहाँ पनि सत्यताको डर भएपछि उनी आफूले मात्रै पाेस्ट गर्न थाले ।

अहिले भिक्टर एक्लै छन् भन्दा फरक पर्दैन । किनभने, पेजमा आउने हरेक समाचारहरू उनी आफैँ पाेस्ट गर्छन् । सामान्य कुराहरूबाहेक बाँकी सबै प्रमाणित गरेर मात्रै भिक्टरले पाेस्ट गर्ने गरेका छन् ।

‘अरुलाई पाेस्ट गर्न दिऊँ भने जे पायो त्यही हाल्दिने डर हुन्छ । त्यसैले म आफैँ प्रमाणित गरेर पाेस्ट गर्ने गर्छु’, भिक्टर भन्छन्, ‘सामान्य कुराहरू आए भने चाहिँ त्यो पाेस्ट गर्न केही साथीहरूलाई अधिकार दिएको छु ।’

तर, सुचना, समाचार र तस्वीरको लागि भने उनले धेरैको साथ पाएका छन् । उनी भन्छन्, ‘जसरी मैले निस्वार्थ सोचले पेज सुरु गरे, त्यस्तै मलाई पनि मेरो साथीभाइ तथा अडियन्सहरुले सुचना, समाचार र तस्वीरमा सहयोग गर्नुभएको छ । उहाँहरुलाई पनि भुल्न मिल्दैन ।’

२४ घण्टा नै पेजमा सक्रिय रहनुपर्ने भएकाले भिक्टरकाे व्यक्तिगत जीवन प्रभावित भएकाे छ । 

भिक्टर भन्छन्, ‘कतै घुम्न जाऊँ भने पनि केही अपडेट आइहाल्यो कि भन्ने कुराले पिरोल्छ । केही छुट्यो भने यत्रो वर्ष दुःख गरेर पाएको यो विश्वास टुट्ने हो कि भन्ने डर लाग्छ । त्यसैले अहिले पेजका कारण मैले आफ्नो जीवन जिउन पाएको छैन ।’

युट्युबमा काम गर्ने व्यक्तिहरूलाई त युट्युबले नै दिने ‘एडसेन्स’बाट कमाइ हुन्छ । फेसबुकमा भने त्यस्तो सुविधा छैन ।

उसो भए रुटिन अफ नेपाल बन्दको कमाइ छैन ?

सञ्चालक भिक्टरकाे उक्त पेज लामो समयसम्म कुनै आम्दानीबिना नै चलेको थियो । तर, पछिल्लो केही समय पेजबाट पनि कमाइ सुरु भएको छ ।

उनी भन्छन्, ‘अहिले फिल्म तथा म्युजिक भिडियोको प्रचारप्रसार गर्न हामीलाई दिनुहुन्छ । त्यसबापत हामीले पैसा लिने गरेका छौँ । त्यसबाट आएको कमाइले पकेट खर्च चलेको छ ।’

फिल्म तथा भिडियोको प्रचार गर्ने भन्दैमा जस्तो पायो त्यस्तो भिडियोलाई प्रचार नगर्ने भिक्टरले बताए । ‘हामीले त्यसमा पनि क्वालिटी हेर्छौँ । सकेसम्म राम्रो कामलाई नै प्रचार गर्ने गरेका छौँ’, भिक्टर भन्छन्, ‘कुनैकुनै भने चिनजानका कारण पनि गर्नैपर्ने हुन्छ । नत्र हामीले क्वालिटीमा विशेष ध्यान दिन्छौँ ।’

पछिल्लो केही समयदेखि केही ब्राण्ड र विज्ञापन एजेन्सीहरु पनि रुटिन अफ नेपाल बन्दबाट प्रचार गर्न थालेका छन् । त्यसमा पनि क्वालिटी हेरेर मात्रै प्रचार गर्ने भिक्टर बताउँछन् । 

भिक्टरले ‘वीआईएम’ विषय पढेका हुन् । उनी अहिले आफ्नै आईटीको ‘स्टार्टअप’को विषयमा अध्ययन गरिरहेका छन् ।

रुटिन अफ नेपाल बन्दमा विभिन्न राजनीतिक विषयमा पनि लेखिएको पाइन्छ । के यसका सञ्चालकलाई राजनीतिमा पनि रुचि हो ? यो धेरैको प्रश्न हुन सक्छ ।

तर, सञ्चालक भिक्टर आफूलाई राजनीतिमा रुचि भए पनि आफू राजनीति नगर्ने बताउँछन् । उनी भन्छन्, ‘देशमा के भइरहेको छ, के हुँदै छ भन्ने विषयमा जनकारी लिन मलाई रुचि छ । तर, आफैँ राजनीतिमा आउँछु भन्ने कुरामा कुनै रुचि छैन ।’

भिक्टरलाई त राजनीतिभन्दा ‘रुटिन अफ नेपाल बन्द’ नै प्यारो छ ।


ताजा खबर