वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन धुर्व शर्मा मुडभरीले महाराष्ट्रको औरंगावादस्थित माराठवाडा विश्वविद्यालयबाट २०२६ सालमै एमएस (मास्टर इन सर्जरी)को अध्ययन पुरा गरेका थिए।
पद्मोदय स्कुलबाट एसएलसी (२०१३) र पब्लिक साइन्स क्याम्पस (हाल अमृत साइन्स क्याम्पस)बाट आईएस्सी अध्ययनपश्चात उनले एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिमा आवेदन दिएका थिए।
अध्ययनमा अब्बल मुडभरीले शिक्षा मन्त्रालय अन्तर्गतको कोलोम्बो प्लान छात्रवृत्तिमा पनि नाम निकाले। त्यसैमार्फत मराठवाडा विश्वविद्यालयको सरकारी मेडिकल कलेजमा उनी पढ्न गए।
उनले २०२२ सालमा एमबीबीएसको अध्ययन पुरा गरे। एमबीबीएसमा राम्रो अंक भएकै कारण विश्वविद्यालयले उनलाई एमएस अध्ययनका लागि छात्रवृत्ति दिने भयो। त्यो अवसरको सदुपयोग गर्दै उनले २०२६ सालमा एमएसको अध्ययन पनि सके।
एमबीबीएसको अध्ययन गर्दागर्दै मुडभरीले कलेजको अस्पतालमा हाउस सर्जनका रुपमा काम गर्न थालिसकेका थिए। एमएस अध्ययनलगत्तै कलेजले उनलाई अध्यापककै प्रस्ताव गर्यो।
एकातिर अस्पतालमा काम, अर्कातिर अध्यापन। आम्दानी राम्रो थियो। तर एकवर्ष पूरा नहुँदै उनको मन फेरियो। अनि उनले नेपाल फर्कने मन गरे।
‘मैले आफ्नै देशमा सेवा गर्न त्यो आकर्षण ठाउँ र जागिरबाट राजीनामा दिए’ मुडभरीले आफ्नो बायोडेटामा लेखेका छन्।
त्यसबेला नेपालमा मुस्किलले १०–१२ जना सर्जन थिए। काठमाडौंकै अस्पतालमा सर्जनको अभाव थियो। तर, त्यसबेला सरकारले उनलाई बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा पठायो।
शल्यक्रियाका लागि कुनै पूर्वाधार नभएको अस्पतालमा गएर काम गर्नु निकै चुनौतीपूर्ण थियो। सर्जरीका लागि अत्यावश्यक ल्याब, एक्सरे थिएन। सहयोगीहरु थिएनन्। तर उनी टुलुटुलु हेर्ने, गुनासो गर्नेमध्येका थिएनन्। उनले आफ्नो बाटो आफँै तय गरे।
‘अप्रेसनअघि बेहोस गर्ने मान्छे थिएन। ल्याब र रेडियोलोजीको त कुरै छाडौं,’ मुडभरीले पछि भनेका थिए, ‘म आफैँ बिरामी बेहोस पार्थेँ। जनशक्ति अभावमा पियनको सहायता लिनुपथ्र्यो।’
मुडभरी पुगेपछि बल्ल लुम्बिनी अस्पतालबाट शल्यक्रिया सेवाको सुरुवात भएको थियो। यसले एकातिर त्यसभेगमा सामान्य शल्यक्रियाका लागि पनि भारत वा काठमाडौं जानुपर्ने बाध्यता हटेको थियो भने अर्कातिर धेरैको जीवन पनि बच्यो।
त्यसबेला नेपालमा भएका नौ वटा क्षेत्रीय, उपक्षेत्रीय अस्पतालमध्ये तीन वटामा शल्य चिकित्सक सेवा उनले नै सुरु गरेका हुन्। तीन वर्ष लुम्बिनी अस्पताल सेवा गरेपछि मुडभरीको सरुवा राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा भयो।
त्यहीँबाट उनको सहकार्य वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालसँग भएको हो। मुडभरी र रिजालबीच ओम अस्पताल हुँदै हाल नेपाल मेडिकल कलेजमा पनि सहकार्य जारी थियो।
‘हामीले २०३१ सालदेखि सँगसँगै काम गर्यौँ। बुटवलपछि उहाँले राजविराज र गण्डकीमा पनि शल्यचिकित्सा सेवाको सुरुवात गर्दै मोफसलका सयौं जनतालाई मृत्युको मुखबाट जोगाउनु भएको छ,’ डा. रिजाल सम्झन्छन्।
२०३५ सालबाट मुडभरीले वीर अस्पतालमा सिनियर कन्सल्टेन्ट सर्जनको रुपमा काम थालेका थिए। सोहीवर्ष वीर अस्पतालमा तत्कालीन रानी ऐश्वर्यको सफल शल्यक्रिया गर्ने तीन जनाको चिकित्सकीय टोलीमा उनी पनि थिए। राजपरिवारको सदस्यहरुको उनले वीर अस्पतालमा नियमित उपचार गरेकाले कयौंले उनलाई ‘शाही चिकित्सक’ पनि भन्ने गरेको डा. रिजाल बताउँछन्।
२०४४ सालमा दशरथ रंगशालामा भागदौड मच्चिदा सयौं व्यक्ति घाइते अवस्थामा एकैचोटी वीर अस्पताल पुगेका थिए। त्यसबेला मुडभरीले कयौंको शल्यक्रिया गरी ज्यान बचाएका थिए।
आफैँले बनाएको अस्पतालमा अन्तिम श्वास लिए
२०४७ सालपछि निजी अस्पताल खुल्न थाले। त्यसबेला मुडभरी वीर र रिजाल त्रिवि शिक्षण अस्पतालमा कार्यरत थिए। शिक्षण अस्पतालमा भइरहने किचलोको कारण त्यहाँको स्वास्थ्य गुणस्तर खस्कँदो थियो।
रिजालले सर्वसुलभ ढंगबाट विशेषज्ञ सेवासहितको अस्पताल निर्माण गर्ने अवधारणा ल्याए। मुडभरीसँग सल्लाहपछि उनीपनि राजी भए। ओम अस्पताल स्थापनाकै लागि मुडभरीले वीर अस्पतालको सरकारी जागिरबाट राजीनामा बुझाए।
त्यसबेला उनीहरुले नै आठ बेड र तीन चिकित्सकसहितको ओम नर्सिङ होम सञ्चलानमा ल्याएका थिए। अहिले ओम हस्पिटल एन्ड रिसर्च सेन्टरका नामले सञ्चालित यो अस्पताल काठमाडौंमा निजी क्षेत्रको ठूलोमध्येको एक हो। संस्थापक हुँदै मुडभरीले अस्पतालको अध्यक्षका रुपमा पनि काम गरे।
अस्पतालका संस्थापक अध्यक्ष रिजाल ओम अस्पतालको मुख्य विशेषता भनेकै यहाँको सर्वसुलभ शल्यचिकित्सा रहेको बताउँछन्। जसमा मुडभरीको प्रमुख हात रह्यो।
२०७६ अघिसम्म मात्रै सो अस्पतालमा एकलाख २० हजार माइनर शल्यक्रिया भइसकेको तथ्यांक छ। स्थापनाकालदेखि शल्य चिकित्सा विभाग सम्हालेका मुडभरीले यीमध्ये थुप्रै शल्यक्रिया गरेका थिए।
मुडभरीले आफ्नो श्वास पनि त्यही अस्पतालमा लिए, जहाँ उनले कयौँको ज्यान बचाएका थिए। ७८ वर्षीय मुडभरीलाई कोरोना संक्रमणपछि निमोनिया भएको थियो र आईसीयूमा भर्ना गरिएको थियो।
‘केहीदिनमा उहाँको स्वास्थ्यमा सुधार पनि आएको थियो। तर, घर गएपछि स्वास्थ्यमा फेरि समस्या आएछ। अस्पताल पुर्याएको तेस्रो दिन शनिबार परलोक हुनुभयो,’ मुडभरीका आफन्त समेत रहेका रिजालले भने।
चिकित्सा शिक्षामा योगदान
नेपालको चिकित्सा शिक्षामा समेत मुडभरीको महत्वपूर्ण योगदान रह्यो। उनी संस्थापक रहेको ओम हेल्थ क्याम्पसमा हाल पाँचवटा नर्सिङ कार्यक्रम लागू छन्।
त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा उनले मानार्थ प्राध्यापकका रुपमा २०३७ देखि २०४२ सालसम्म अध्यापन गरे। मुडभरीले नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्य पनि रहिसकेका थिए।
सन् १९९४ देखि २००६ सम्म उनी काठमाडौं विश्वविद्यालयको चिकित्सा शिक्षा संकायको टेक्निकल कमिटी र बोर्ड सदस्य रहे। त्यसक्रममा मेडिकल कलेजलाई सम्बन्धन दिन आवश्यक मापदण्ड बनाउनेदेखि पाठ्यक्रम विकासमा पनि उनको भूमिका थियो।
त्यसबाहेक मुडभरी नेपाल चिकित्सक संघका आजीवन सदस्य थिए। यस्तै उनी नेपाल शल्य चिकित्सक समाजका संस्थापक तथा पूर्वअध्यक्ष समेत हुन्।
हाल उनी डा.भोला रिजाल अध्यक्ष रहेको नेपाल मेडिकल कलेजको सञ्चालक समितिका सदस्य थिए।