‘दम रोग वंशाणुगतरूपमा जानसक्ने सम्भावना रहन्छ’

डा.दीपा श्रेष्ठ

धुलोधुवाँ, चुरोट, बिँडीको नियमित प्रयोग, वायु प्रदूषणलगायतका कारक तìवले नेपालमा श्वासप्रश्वास रोगसम्बन्धी रोगहरू बढिरहेको छ ।

श्वासप्रश्वास रोग धेरै प्रकारका हुन्छन् । श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोगहरू हुन्छन्, जसलाई ‘सीओपीडी’ भनिन्छ । अर्को, एलर्जी वा अन्य कुनै पनि कारणले क्रोनिकरूपमा हुने आस्थामा (दम) रोग मुख्य हो । अन्य सङ्क्रमणहरूले गराउने निमोनिया वा क्षयरोग पनि श्वासप्रश्वाससम्बन्धी रोग हो । पछिल्लो समय कोरोना सङ्क्रमणबाट पनि श्वासप्रश्वासमा गम्भीर असर परिरहेको छ । श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौंथो प्रमुख रोगमध्ये पर्छ । यसबाट अनुमानित प्रतिवर्ष एक लाख २० हजार जनाको मृत्यु भइरहेको हुन्छ ।

यो रोग बढ्नुको सबैभन्दा प्रमुख कारण वायु प्रदूषण हो । विकासोन्मुख देशहरूमा जहिले पनि सडक बनिरहेको हुन्छ । अन्य विकासका काम पनि हुने गर्छन्, धुलो, धुवाँ उड्छ । त्यसले श्वासप्रश्वास रोगलाई बढवा दिइरहेको हुन्छ । दमका बिरामी बढ्नु अर्को मुख्य कारण गरिबी हो । गाउँमा दाउरामा खाना पकाउने गरिन्छ । पुरानै ढाँचाको चुह्लो हुन्छ, धुवाँ गुम्सिन्छ । कतिपय भान्सामा झ्याल सानो हुन्छ । कतिपय भान्सामा झ्यालै हुँदैन । त्यसरी लामो समयसम्म धुवाँमा बस्नाले दमरोग लाग्छ । भान्छामा बढी समय बस्ने हुँदा दमरोग पुरुषभन्दा महिलामा बढी हुने गर्छ । अर्को प्रमुख कारण चुरोट, बिंडी सेवन गर्नु हो । दमरोग चिसोको मौसममा यत्तिकै बढ्ने हुन्छ । यो बाहेक नियमित औषधि र उचित औषधि र परामर्शको कमीले पनि दमरोगलाई बढवा दिइरहेको हुन्छ ।

कोरोनाले झन् समस्या
कोरोना (कोभिड १९) को महामारीले दमरोगीलाई झनै समस्या गराएको छ । कोरोनाले सबैभन्दा बढी असर फोक्सोलाई पार्छ । त्यसलाई कोभिड निमोनिया भनिन्छ । कोरोना देखिइसकेपछि अक्सिजन घट्छ र मृत्युको मुखसम्म पु¥याउँछ । मृत्युसम्म नपु¥याए पनि धेरै समय अस्पतालमा बस्नुपर्ने, आर्थिकभार, पारिवारिक तथा मानसिक तनाव हुने गर्छ । दम तथा श्वासप्रश्वासका लक्षणमा कतिपयलाई सुरुमा खोकी लाग्छ । दम फुल्छ, स्वाँस्वाँ बढी हुन थाल्छ । अलिकति हिँड्दा पनि श्वास फेर्न गाह्रो हुन्छ । खोकी लाग्छ । त्यो खोकी सुरुमा सुख्खा हुनसक्छ । कहिलेकाहीँ खकार पनि आउन सक्छ । यसमा क्षयरोगले बिग्रेको फोक्सो हो भने स्थायीरूपमा बिग्रन्छ । फोक्सोले राम्रोसँग काम नगर्ने भएकोले खकार पनि जम्मा भइरहन्छ । त्यसले गर्दा थप सङ्क्रमणको सम्भावना रहन्छ । त्यसलाई ब्रोनकाइटिक्स भनिन्छ ।

नियमित औषधि र उपचार
जुन बिरामी दमको रोगी छ, उसलाई औषधि कसरी प्रयोग गर्ने भन्ने ज्ञान नहुन सक्छ । हामीले औषधिको रूपमा तान्ने क्याप्सुल दिएका हुन्छौँ । त्यसलाई अधिकांशले सही तरिकाले प्रयोग गर्न जानेका हँुदैनन् । गाइड लाइनअनुसार बिरामीलाई डाक्टरले औषधि प्रयोगबारे सिकाउने गरिन्छ । कहाँ–कहाँ गल्ती छ, त्यसलाई सिकाउँदै जाने भन्ने गाईडलाइनमा उल्लेख हुन्छ । फोक्सोको विशेषज्ञहरू सबैले यो काम गर्छन् । नियमित परीक्षण र उपचारले दमरोगलाई कम गर्न, नियन्त्रणमा राख्न सकिन्छ । दमरोगको परिभाषा नै रोकथाम गर्न सकिने रोग भनेर राखिएको छ । उपचारको लागि नियमित चिकित्सकको परामर्शमा बस्ने र औषधि सेवन गर्नुपर्छ ।

दम (श्वासप्रश्वास) रोगमा जुनजुन चिजले बिगार गर्ने हो, त्यसबाट बच्नुपर्छ । जस्तो धुलोधुवाँ, चिसोबाट बच्नुपर्छ । अनावश्यकरूपमा बाहिर हिँडडुल गर्न हँुदैन । हरेक रोगजस्तै बढी असर वृद्धवृद्धालाई गर्छ । अरू रोगको प्रतिरोधात्मक क्षमता कम हुँदा श्वासप्रश्वास रोगमा पनि लड्ने क्षमता हँुदैन । जसरी कुनै औषधि बाथरोगमा चलाउने गरिन्छ, त्यस्ता औषधि क्यान्सरमा पनि चलाउने गरिन्छ । केमोथेरापीमा पनि त्यस्ता औषधि प्रयोग हुन्छ, जसले हाम्रो रोगप्रतिरोधात्मक क्षमता घटाइरहेको हुन्छ । कुनै अङ्ग फेल भएको बिरामी जस्तै मिर्गौला, कलेजो फेल भएकालाई चलाइने औषधिहरूले रोग प्रतिरोधात्मक क्षमता पनि घटाइरहेका हुन्छन् । अन्य अङ्ग फेल भएकोमा पनि रोगसँग लड्ने क्षमता घट्छ । तिनीहरूमा दमरोग अझ बढी विकरालजस्तो भएर आउँछ । यदि अन्य ब्याक्टेरियाले नभई धुलोधुवाँ र प्रदूषणले गराएको हो भने दम हुन पनि समय लाग्छ । त्यही भएर जीवनको उत्तराद्र्ध वा ४०÷५० वर्षपछि आएर दमरोग देखापर्छ । त्यो अवस्थामा फोक्सोको क्षमता घट्दै जान्छ । छिटो छिटो श्वास फेर्नुपर्ने हुन्छ । क्रमिक रूपमा त्यसको असर अन्य अङ्गमा पनि पर्दै जान्छ । अक्सिजन कम हुने, छिटो थाक्ने गर्नाले मुटुमा असर गर्न थाल्छ । मुटु र फोक्सोको नली जोडिएको हुन्छ । मुटुलाई असर गर्ने भएकोले मुटु पनि फुल्न थाल्छ । खुट्टाहरू सुन्निने, जिउ सुन्निने, अक्सिजन नपुगेर शरीर नीलो हुन थाल्ने हुन्छ । खकारमा रगत पनि आउन थाल्छ ।

अन्य दीर्घ असरमा धेरै छिटोछिटो श्वास फेर्दा वृद्ध अवस्थामा भोक कम लाग्ने, खाना कम खाने र फोक्सोको चालले गर्दा छातीमा भएको मांशपेशीहरू कमजोर हुन थाल्छ । कम खानाले गर्दा मानिस दुब्लाउन थाल्छ । त्यसले उल्टो असर गरिरहेको हुन्छ । त्यसका लागि काउन्सिलिङ गर्नुपर्छ । दमरोगबाट बच्ने उपायमा ६५ वर्षभन्दा बढी उमेर भएकाहरूलाई भ्याक्सिन दिन सकिन्छ । फोक्सोको अन्य रोगी छ भने चिकित्सकीय परामर्शको सल्लाह लिनुपर्छ । खोपले दमलाई केही हदसम्म कम गर्छ ।

सही तरिका
हालको स्थितिमा दमको रोगीहरूको हकमा जुन औषधि छ, त्यसलाई तान्ने तरिका सबैलाई थाहा हुनुपर्छ । धेरै ठाउँमा इन्टरनेटको सुविधा भएकोले नेटबाट पनि औषधि तान्ने तरिका दिएको हुन्छ । औषधि तान्नुभन्दा अघि आफ्नो फोक्सो खाली गर्नुपर्छ । त्यसपछि औषधि तानिसकेपछि पाँचदेखि सात सेकेण्ड श्वास रोक्नुपर्छ अनि छोड्नुपर्छ । त्यो औषधि मुखमा रहिरहन्छ । त्यसैले मुख कुल्ला गरिहाल्नुपर्छ । मुख कुल्ला गरिएन भने फंगल इन्फेक्सन हुनसक्छ । धेरै जना बिरामीलाई यो तरिका थाहा हुँदैन । स्वास्थ्यकर्मीहरूलाई समेत दमको औषधि प्रयोग गर्ने तरिका थाहा नहुनसक्छ । अलिकति गाह्रो हुने वित्तिकै विषेशज्ञहरूको सल्लाह लिनुपर्ने हुन्छ । नेपालमा श्वासप्रश्वास सम्बन्धी रोगका विशेषज्ञ पनि पर्याप्त छैनन् । भएका काठमाडौँमा मात्र केन्द्रित छन् । काठमाडौँ बाहिर चितवन, धरान र सुदूरपश्चिममा एक दुई जना मात्र पल्मोनोलोजिष्ट रहेका छन् ।

वंशाणुगत हुनसक्छ
दम वंशाणुगतरूपमा जानसक्ने सम्भावना रहन्छ । बुवाआमा छ भने बच्चाहरूलाई पनि हुने सम्भावना हुन्छ । जुनसुकै उमेरदेखि जुनसुकै उमेरसम्म पनि हुनसक्छ । श्वासप्रश्वास सबैभन्दा बढी देखिने रोग सिओपीडी हो । यी दुवै मिसिएको पनि हुनसक्छ । सीओपीडीका बढी बिरामी पहाडी र हिमाली भेगका हुन्छन् । चिसो र दाउरामा खाना पकाउनाले पनि त्यस क्षेत्रका मानिसलाई सिओपीडीले बढी सताउने गरेको छ । अलि खुला भएकोले हिमाली र पहाडी क्षेत्रको तुलनामा तराईमा कम छ । खाना पकाउँदा धेरैबेरसम्म धुँवा तान्नु परेन भने खासै असर गर्दैन । ग्रामीण क्षेत्रका मानिसलाई दमसम्बन्धी रोगले बढी सताएको छ । मध्यम तथा न्यून आयस्रोत भएका मानिसहरूमा दमरोगको समस्या रहेको छ । बच्चाहरूमा पनि दमरोग हुने गर्छ । कुनै बच्चालाई वंशाणुगत कारणले हुने गर्छ । प्रायः बालबालिकालाई एलर्जीले गर्दा नै दमरोग हुन्छ । बच्चालाई हुने दमलाई पनि धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । यदि दम हुन लागेको छ भने पहिलेदेखि नै सचेत गराउनुपर्छ । यसलाई जनचेतनाबाट पनि कम गराउन सकिन्छ । दम भइसकेको अवस्थामा मेडिकल सहयोगको आवश्यकता पर्छ । जसले गर्दा जीवनलाई सजिलो र लामो बनाउन सकिन्छ । जबसम्म धेरै बिग्रदैन त्यो अवस्थामा सहज उपचार सम्भव हुन्छ । आर्थिक अभाव वा चिकित्सकको पहुँच नभएर दम भएको लामो समयमा आउनेहरूको फोक्सो धेरै नै बिग्रिसकेको हुन्छ ।

दमरोगको उपचारमा सुरुको अवस्थामा औषधि मात्र चलाउने गरिन्छ । त्यसमा मुखबाट तान्ने औषधि पनि राखिन्छ । औषधिले सुधार हुन सकेन भने शल्यक्रियाको विधि पनि अपनाउन सकिन्छ । तर नेपालमा फोक्सोको शल्यक्रिया अहिलेसम्म सम्भव छैन । शल्यक्रियामा फोक्सोको प्रत्यारोपणसमेत गर्न सकिन्छ । फोक्सोको शल्यक्रिया तथा प्रत्यारोपण भारतमा अलिअलि भएको छ । अरू प्रत्यारोपण गरेजस्तो फोक्सोको प्रत्यारोपण गर्न सजिलो, सस्तो, लाभदायी छैन । नेपालमा प्रत्यारोपण हुनै सकेको छैन ।

दमको रोगीलाई ‘स्टेन्ट’ राख्ने विधि पनि आएको छ । जसरी मुटुमा स्टेन्ट राखेर साँघुरिएको भागलाई खुलाउने गरिन्छ, त्यस्तै फोक्सोमा पनि स्टेन्ट राख्ने प्रविधि छ । नेपालमा अहिलेसम्म त्यो विधि सुरु भइसकेको छैन । चुरोट सेवन गर्नाले फोक्सोको नलीको मात्रा बढ्दै जान्छ । फोक्सो तन्कदै जान्छ र ठूलो हुन्छ । त्यसमा ठाउँ हुँदैन । मानिसले छिटो छिटो श्वासप्रश्वास लिन थाल्छ । अक्सिजन नपुग्दा कृत्रिम श्वास दिएर आइसियुमा राख्नुपर्ने हुन्छ । दमका रोगीलाई अक्सिजन दिइरहनुपर्छ । सानो मेसिनबाट घरमा पनि अक्सिजन दिन सकिन्छ । त्यो मेसिन जोडेर रातभरि बस्नुपर्ने हुनसक्छ । फोक्सो थोरै बिग्रिएको छ भने थोरै समय मात्र उक्त मेसिन प्रयोग गर्दा हुन्छ ।

औषधिभन्दा धुलो, धुवाँ, चिसो, चुरोटबाट टाढै रहनु नै दमबाट जोगिने प्रभावकारी उपाय हो । कोरोनाको समयमा सामाजिक दुरी, अनिवार्य मास्कको प्रयोग गर्ने र चिसोबाट बच्नुपर्छ । कोरोनाले फोक्सोका रोगीलाई सबैभन्दा बढी असर पारेको छ । दीर्घरोगीलाई कोभिड सङ्क्रमण भयो भने झनै गाह्रो हुन्छ । उसलाई उपचार गर्न र पुरानो अवस्थामा फर्काउन कठिन छ । सहरीकरण, धुवाँ, धुलो, उद्योग, कलकारखानाले गर्दा पनि दमरोगको जोखिमलाई बढाउँछ । यातायातका साधन दिनहुँ बढिरहेका छन् । त्यसमा धुवाँ फाल्ने सवारीसाधन प्रशस्त मात्रामा छन् । यसले पनि मानिसलाई फोक्सो सम्बन्धी रोग लाग्छ । रूखहरू काट्नुघातक हो । पर्यावरणलाई जति क्षति गर्यो त्यसको भार मानिसले थेग्नुपर्ने हुन्छ । यी सबै चिज नियन्त्रण नहुँदासम्म दमरोगका बिरामी घट्नसक्ने अवस्था रहँदैन ।

छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ (पल्मोनोलोजिष्ट) डा. दीपा श्रेष्ठसँगको सफल कुराकानीमा आधारित ।


ताजा खबर