छठ पर्ब देशभरि हर्षोल्लासका साथ मनाइदैंछ। पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ।
छठ पर्वको आज मुख्य दिन हो। अस्ताउँदो सूर्यलाई अर्घ दिन ब्रतालुहरु विहानैदेखि पोखरी, इनार तथा तलाउमा बनाईएको घाटमा छठको पूजा सामग्री लिएर पुगिरहेका छन्।
जनकपुर लगायतका सहरी क्षेत्रमा विहानैदेखि छठ घाटमा पुजा समाग्री लगिए पनि ग्रामीण भेगमा भने दिउँसोदेखि पूजा सामग्री लिएर भक्तजनहरु घाटमा पुग्नेछन्। भोलि बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठको विधिवत समापन हुन्छ।
पोखरी, तलाउ र नदीको घाटमा छठ गर्नेहरु अस्ताउँदो सूर्यलाई अर्घ दिन लगेको पूजा सामग्री सहित रातभर जग्राम बसेर श्रद्धाभक्ति पूर्वक पूजाअर्चना गर्छन्।
भोलि विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र पूजा सामग्री लिएर घर फर्कन्छन्।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्तीलगायत सामग्री चढाइन्छ।
त्यस्तै, प्रसादका रूपमा सूर्य देवतालाई ठेकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, विविध प्रकारका मिठाइ तथा फलफूल चढाउने गरिन्छ। अर्घ दिने ब्रतालुले ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्छन्।
मुलुकमै चर्चित जनकपुरको छठ भव्य बनाउन स्थानीय युवा क्लबहरुले भव्य रुपमा छठी घाटहरु सजाएका छन्।
मुख्यतः जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, कामिनी सर, रत्नसागरलगायत पोखरीलाई नवदुलहीझैं सजाएर झकिझकाउ बनाइएको छ। आकर्षक पन्डाल तथा बिजुली बत्ती बालेर घाट सजाइएका छन्।
पोखरी तथा तलाउका घाट (किनार) सजाउनकै लागि मात्रै जनकपुरका क्लबहरुले वर्षेनी करिब ५० लाख रुपैयाँभन्दा बढी खर्च गर्ने गर्छन्।