वैंश

कविता

आकाशका तारा टिपूँ झैं लाग्छ, वैंशको बेलामा,

झरीमा त्यसै भिझूँ झैं लाग्छ, वैंशको बेलामा।

वर्षाको भेल लागेर साथै बग्छु कि त्यसैमा,

हावा र हुरी, भूमरीसँगै, घुम्छु कि त्यसैमा।।

 

चर्केको घाम, मृगको तृष्णा, थाक्दैन कै गरी,

उर्लंदै आको त्यो लाली जोवन, भाग्दैन क्यै गरी।

राखेर ऐना मुस्कुराई आफैं हेरिन्थ्यो छिन्छिन्,

वैंशको रूप देखेर आफैं, आवाज गुन्गुन।।

यता र उता कसैले हेर्यो मैलाई झैं लाग्दथ्यो,

चन्चले मन, उत्ताउलोपन त्यसै नै जाग्दथ्यो।

कुकुरको पुछर बाङ्गेको देख्दा, हाँस्ने ती दिन हो,

मै हुँ र त्यही आश्चर्य लाग्छ, आज त किन हो?

फूलमा रम्ने माहुरी आज, काँ गए होलान् ती?

रचेर आफ्नै संसार रमाई, बसेका होलान कि।।

रचना हेरी माहुरी फेरि , नभने यही छु नि,

पहिले जस्तो छैन म एक्लै, अर्कै कि भैछु नि।।

 

त्यो बालापन, कुरकुरे वैंश, छोरीमा सर्दै छ,

पत्तो नै छैन यो लीला आज कसले गर्दैछ?

अधबैंसे आज हुँदै छु बूढो लाग्दैन कैले नि,

रमाइला दिन सम्झेर फेरि, हाँस्दैछु अहिले नि।

सूर्यलाई हेर घुमेर आफैं, फर्कन्छ फेरि त्यै,

रातका जुन भेट्दछौं हामी, रातमा हेरी त्यै।

हाम्रो त लीला अनौठो लाग्दो, फर्कन्न बाल त्यो,

सम्भव भए गर्दथे बिन्ती, फर्काइदेऊ हाल त्यो।।

 

 


ताजा खबर