माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्रि देवी सरस्वतीको पूजा–अर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त ऋतुको आगमनको सङ्केत गर्दै हनुमानढोका दरबारस्थित नासलचोकमा बिहान १०ः२३ बजेको साइतमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपञ्चमी तथा श्रीपञ्चमीको गरिमालाई आत्मसात् गर्न अनुरोध गर्नुभएको छ । वसन्तपञ्चमीका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यस्तो बताउनुभएको हो । यस दिनलाई विद्या, बुद्धि, कला र सङ्गीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ । ज्ञानका स्रोत मानिने पुस्तकसहित सङ्गीतका वाद्ययन्त्र तथा रङ्ग–कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।
राष्ट्रपतिले भन्नुभएको छ, “सरस्वती पूजा र वसन्तपञ्चमीको यस अवसरमा ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली राष्ट्रिय जागरणको शक्तिशाली उद्बोधन हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । ”
स्रस्टाहरू वसन्त ऋतुलाई सिर्जनाको प्रतीक मान्छन् । किसानका निम्ति वसन्तपञ्चमी नयाँ बाली लगाउन प्रकृतिले दिएको अवसरका रूपमा लिइन्छ । “पर्यावरणको दिगो संरक्षण गर्दै मानव विकासको अवधारणालाई मूर्त रूप दिन आजका दिनले प्रेरणा प्रदान गर्छ भन्ने मलाई लागेको छ,” राष्ट्रपतिले भन्नुभएको छ ।
सरस्वती पूजाकै दिन नाबालकले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन छ । सङ्गीत प्रशिक्षणको सुरुवात यसै दिन गर्दा राम्रो हुन्छ भन्ने विश्वास छ । हनुमानढोका दरबार हेरचाह अड्डामा कार्यरत पुरोहित देवराज अर्यालले १२औँ शताब्दीमा बङ्गालका कवि जयदेवद्वारा रचित गीत गोविन्द काव्यलाई वसन्त श्रवणका रूपमा सुनाउने गरिएको बताउनुभयो ।
उहाँका अनुसार वर्षा र जाडोयाममा पतझडविहीन भएको बोटबिरुवामा पालुवा लाग्ने सुन्दर प्राकृतिक चित्रण जयदेवको रचनामा छ । भगवान् कृष्णले गोपिनीसँग यही प्राकृतिक सौन्दर्यबीच रस–रङ्ग गरिएको गाथा मुख्य रूपमा यो काव्यमा छ । तत्कालीन राजा प्रताप मल्लको पालादेखि हनुमानढोका दरबारको नासलचोकमा यस दिन वसन्त श्रवण हुँदै आएको छ । हनुमानढोका दरबार सङ्ग्रहालय संरक्षण विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालका अनुसार ब्याचली राग बजाउने गरिएको छ ।
ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर र मैतिदेवीलगायत मुलुकका विभिन्न सरस्वती मन्दिरमा दर्शनार्थीको जमघट हुने भए पनि देवस्थलमा कोरोना सङ्क्रमणका कारण जमघट निषेध गरिएको छ । –रासस