~डा.रामप्रसाद ज्ञवाली
कर्ममा छ भने शक्ति जङ्गलै बन्छ नन्दन
घोटिएर सयौँपल्ट दाउरो बन्छ चन्दन
भएमा उच्च सङ्कल्प छैन केही असम्भव
सङ्कल्पैले बनेका हुन् महान् मान्छेहरू सब ।
अर्काको लिनुमा भन्दा दिनुमा बन्छ जो खुसी
जसका कर्मले बन्छन् जिन्दगी हँसिला सुखी
ईर्ष्या-द्वेष हटाएर जो छर्छन् प्रेम-सौरभ
तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव ।
जसका भावना हाँस्छन् मनमा रागिनी भरी
जसका जिन्दगी बाँच्छन् रातमा चाँदनी छरी
जसका कर्मले छुन्छन् उच्च जीवनका पथ
तिनैका पथमा हिँड्छन् राम्रा मान्छेहरू सब ।
जुटेका ज्ञानले जो छन् धर्ती पार्न मनोहर
उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर
समर्पित भएका छन् जो सदा न्यायखातिर
संसारमा उठेका छन् तिनैका विजयी शिर ।
लोभ-लालचमा छैनन् जसका मन-मस्तक
जो सदैव हुने गर्छन् त्यागका निम्ति उद्यत
उदात्त कर्मको यात्रा गर्दछन् जो सधैँ सधैँ
आदर्श नमुना मान्छे बनेका छन् यहाँ तिनै ।
उच्च आदर्श-यात्रामा कहिले हिँडुँला नि म ?
ईर्ष्याका द्वेषका वृक्ष कहिले गिँडुँला नि म ?
आफ्नै पौरखले बाटो कहिले खनुँला नि म ?
सर्वोच्च कविता आफै कहिले बनुँला नि म ?