केदार न्यौपाने नेपाल सरकार पूर्वसचिव हुन्। उनी गृह प्रशासनका क्षेत्रमा विशेष पहिचान बनाएर अवकाश भएका हुन्। २९ वर्षसम्म सरकारी सेवामा रहँदा आफूले नेताहरूको राजनीतिक फोहोरी खेल धेरै पटक देखेको बताउँछन्। न्यौपाने केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। अवकाशप्राप्त जीवन सुखपूर्वक बिताउन छाडेर उनी किन राजनीतिमा लागे? अनि राप्रपा नै किन रोजे? लगायतका विषयमा गरिएको सफल कुराकानीको सम्पादित अंश :
तीन दशकसम्म सरकारी सेवामा रहेर विश्राम पाएको केही महिनामै राजनीतिमा प्रवेश गर्नुको कारण?
सरकारको सचिव भएर सक्नेजति काम गरेँ। राजनीतिकर्मीको काम गर्ने शैली पनि हेरेँ। उनीहरूको सोच पनि देखेँ। उनीहरूको सोच मुलुकलाई नै बर्बाद पार्ला जस्तै देखियो। केही नेताको कुरा र काम गराइको चरित्रले छक्क परेँ म। अनि आफैँ पोखरीमा हामफालेको हुँ। पोखरीमा पसेपछि पौडिनुपर्छ। अब सरकारी सेवामा रहँदा पूरा गर्न नसकेका आमनागरिकका पक्षमा काम गर्नेछु। त्यही सोचले म राजनीतिमा प्रवेश गरेको हुँ।
पोखरी (दल) चयन कसरी गर्नुभयो त?
विगत ३२ वर्षदेखि पोखरीमा पौडिनेहरूको अभ्यास नियालिरहेँ। सबै पोखरी (दल) फोहोर देखेँ। यही एउटा पोखरी छ, जसले अझै कुनै अवसर पाएको छैन। अन्य त सबै गनाइसकेका छन्। कांग्रेस, एमाले र माओवादी सबैलाई नागरिकले मौका दिएका हुन्। तर केही गरेनन्। मुलुकलाई पछाडि धकेल्दै आफू मात्रै अघिअघि बढे। अर्थात् आफू र आफ्ना सन्ततिलाई मात्र गरे। शक्तिको दुरुपयोगमा लागे। त्यस्तो देखी–देखी कसरी तिनै राजनीतिक दलभित्र छिर्नु भनेर म राप्रपातिर लागेको हुँ। यो राष्ट्रवादी छवि भएको पुरानो दल हो। राप्रपाका अध्यक्षले मलाई बोलाएर पार्टी प्रवेशको प्रताव राखेपछि रोकिन नसकेको हुँ। म केही गरौँ भनेर राजनीतिमा आएको हुँ। रमाइलो गर्न र सात पुस्ताका लागि कमाउन राजनीतिमा प्रवेश गरेको होइन। साधारण जीवन जिउने बानी हुनाले म सहजै अघि बढ्नेछु।
राप्रपा त पूर्णतः दक्षिणपन्थी अर्थात् अधिक राष्ट्रवादको नारा घन्काउने पार्टी होइन र?
अहिले हामीलाई चाहिएको पनि दक्षिणपन्थी धार हो। विश्वमा यो धार बलियो बनेर आएको छ। अमेरिकामा डोनाल्ड ट्रम्प त्यस्तो हुँदा पनि रिपब्लिकन निकै अघि बढेको थियो। ट्रम्पको स्थानमा अरू कोही भएको भए रिपब्लिकन अर्थात् अधिक राष्ट्रवादी कन्जरभेटिभ नै हाबी हुन्थे। बेलायत र भारतलाई नै नियाल्नुहोस् न। भारतमा राष्ट्रवादी र कट्टरपन्थीहरूले नै शासन गरिरहेका छन्। मुलुकलाई त्यही धारमा लगेर विकास गर्ने काम भएको छ। त्यसले आफ्नोपना कतै पनि मर्दैन। त्यसैले सबै व्यक्ति बिस्तारै राष्ट्रवादी हुँदै जानेछन्। चरम राष्ट्रवाद अहिलेको अपरिहार्यता हो। अहिले देखिएका अन्य दलका राष्ट्रवादलाई के भन्ने खै? मुलुक नै धराशयी बनाउने वाद रहेकाले पनि मैले यो दल रोजेको हुँ।
अरूले नपुछेको र राम्रै पद पाएर प्रवेश गर्नुभएको हो कि?
त्यस्तो होइन। अन्य दलमा पनि जान चाहेको भए सक्थेँ। तर राप्रपाले मुलुकको नेतृत्व गर्न नपाएको अवस्था छ। अनि यो दलको एजेन्डा मन परेको छ। राष्ट्रवादी छविले मुलुकको बृहत्तर हित गर्नेछ। त्यसैले यो दललाई अघि बढाउने सोचमा परेर मैले प्रस्ताव स्वीकार गरेको हुँ। राजेन्द्र लिङ्देनको सोच पनि ठिक लाग्यो। अब यसमै रहेर मुलुकको हितमा काम गर्ने हो। भ्रष्टाचार गर्ने र आमाको रगत खाने एकै होसमेत भनेर चुनौती दिइरहेको अवस्था छ। झापामा त्यस्तो प्रतिस्पर्धामा पनि होनाहार नेतालाई हराएका व्यक्ति हुन् लिङ्देन। राजनीतिमा नयाँ मानिस र मुहार त्यही छ। युवा पुस्ता पनि भएकाले मलाई त्यो पाटो गज्जब लागेको हो।
तपाईं त एमाले निकट उच्च अधिकारीका रूपमा चिनिनुहुन्थ्यो, हैन?
म सेवा प्रवेश गरेपछि कुनै एक दलको निकट भइनँ। सबैसँग काम गरेँ। सबै दलका मन्त्रीसँग काम गरेँ। त्यसैले कसैले एमाले निकट, कसैले कांग्रेस निकट र अन्त्यतिर त माओवादी निकट भनेका हुन्। तर सुन्ने–सुनाउने भन्दा यथार्थ त म स्वयंले भनिरहेको छु। म कतै थिइनँ र अहिले म राप्रपामा प्रवेश गरेँ। यो पार्टीले पनि बाटो बिरायो भने म रहिरहनुपर्छ भन्ने छैन।
लोकतन्त्र र गणतन्त्रको यात्रालाई चुनौती दिन खोज्नुभएको त होइन?
चुनौती होइन। यो यात्रा ठिक नभएको सन्देश दिएको हुँ। राजा महेन्द्रले अघि बढाएको व्यवस्था ठिक भन्ने त सबैलाई लागिरहेको छ। हामी जस्तो मुलुकमा भारत वा चीनतिर नलागी दुवैको केही न केही आधार लिएर सुधारिएको व्यवस्था ठिक होला नि। राजा महेन्द्रपछि विश्व मञ्चमा हाम्रो उपस्थितिबारे सबै जानकार छन्। अनि २०४६ को परिवर्तनपछि सबैले देशलाई निचोरे। कसैले केही दिएनन्। उल्टै स्थायी संस्थालाई बिदा गरे। नेपालका लागि त्यो संस्था अपरिहार्य थियो। आखिर अहिले धेरै दरबार बने। अहिलेको नेताको शैली भन्दा पुराना राजाका शैली निकै कम भड्किलो थियो। नेताका छोराछोरीको बडप्पन, भड्काउ र उनीहरूको व्यवहारसँग विगतको तुलना गर्नु आवश्यक हुन्छ। एक जना राजा थिए। अहिले त छोटे राजा धेरै भए। त्यसैले पनि हामी हाम्रो एजेन्डा लिएर अघि बढेका छौँ। सफल हुनेछौँ।
एक जना राजा थिए। अहिले त छोटे राजा धेरै भए। त्यसैले पनि हामी हाम्रो एजेन्डा लिएर अघि बढेका छौँ। सफल हुनेछौँ।
राजासहितको हिन्दु राज्य हाम्रो बटमलाइन हो। बहुदल आयो नागरिकले के पाए त? माओवादी द्वन्द्व पाए। त्यसको समाधान भयो। लोकतन्त्र आयो तर के पाए त? महँगी, बेरोजगार र बेथिति। संविधान आयो त्यो कायम रह्यो। अन्तर्राष्ट्रिय छवि कमजोर भयो। एमाले माओवादीको सहकार्यले निर्वाचनमा बहुमत होइन, झण्डै दुई तिहाइ पायो। अनि दुई मधेशका दलसमेत जोडर दुई तिहाइको सरकार बन्यो। के के न हुन्छ भने। आखिर त्यही सरकार चलाउन नसकेर आफ्नै पार्टीसमेत विभाजन गरेर केपी ओली बालुवाटारबाट बालकोट पुगे। अनि शेरबहादुर देउवा बूढानीलकण्ठबाट बालुवाटार आए। यसबाहेक केही परिवर्तन भएको छ र? त्यसैले मैले राप्रपा रोजेको हुँ।
ओली महोदयले दुई तिहाइमा रजाइँ गरे। कतिपयलाई दास बनाए। दास नबन्नेलाई शत्रुको संज्ञा दिए। आफू शक्तिमा हुँदा साइड लाउने कामसमेत गरे। ठेकेदार र दासहरू नजिक राखेर हिँड्ने काम गरे। ओलीको पछि लागेर उँभो लागेका ठेकेदार कम्पनी अहिले ठूला परियोजनामा हात हालिरहेका छन्। त्यस्तालाई चार दिवाभित्र राखेर डिल गर्न खप्पिस ओली सिंहदरबार कमै आए। आफ्नो सचिवालयबाट मुलुक चलाए। यसबाट स्पष्ट हुन्छ– कांग्रेस, एमाले र माओवादी पैसा बटुल्ने धन्धामा लागे। विकासतर्फ ध्यान दिएनन्।
तपाईं ओलीसँग बढी आवेशमा आएर राजनीतिमा आउनुभएको हो?
त्यस्तो पनि होइन। ओलीको बोलीव्यवहार अर्कालाई हेप्ने, सबै थोक आफूले मात्रै जानेको छु झैँ गर्ने हो। तर जे मन लाग्यो त्यो बोल्ने बानी देखेर विगतका नेता स्मरण गर्थेँ। गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र एमालेभित्रका मनमोहन अधिकारीको शैली स्मरण गर्थेँ। अहिलेका नेतामा राज्य सञ्चालन कौशल नै छैन।
उनीहरूले राजनीति त कमाइ खाने भाँडो बनाए। आमनागरिक निराश देखिए। सबैमा गुटउपगुट देखियो। राप्रपामा त्यो देखिएन। अनि त्यसमा प्रवेश गरेर यस्ता नचाँहिदा उटपट्याङ गर्नेहरूलाई बिदा गर्न राप्रपामा लागेको हुँ। अहिले अधिक मानिसले वैकल्पिक धार खोजेका छन्। यस बीचमा वैकल्पिक धार दिने भनेर आउन लागेकाहरु पनि विलीन भए।
नेपालको राजनीति अब कता जाने देख्नुहुन्छ?
नेपालको राजनीति अहिले अलमलमा छ। यो ट्रयाकमा आउनैपर्छ। अन्यथा हामी सबै नेपाली ऋणमा डुब्छौँ। नेपाल हिन्दु राज्य हुनैपर्छ। सबै राजनीतिक नेतृत्वले हिन्दु धर्म मात्र होइन, संस्कार पनि हो भन्ने कुरालाई ध्यानमा राखेर सही संस्कार सिक्न आवश्यक छ। हामीले संसदीय व्यवस्थामा भारतीय शैली अपनाउँदा समस्या भएको हो। हामीले संसदीय व्यवस्थामा छौँ भने त्यो उतै बेलायती शैली आवश्यक थियो। राजा महेन्द्रले उति बेला गरेको कुरा र शैली आज पनि उत्तिकै सान्दर्भिक छ। त्यसमा हामी लाग्नुपर्छ। लहलहैमा राजा फालेर हामी भताभुंग भएका छौँ। खाद्यान्न मात्र होइन, राजनीतिमा पनि परनिर्भर हुने अवस्था सिर्जना गरेका छौँ। यो दुःखद हो।
राजा महेन्द्र नै ठिक थिए भन्न खोज्नुभएको हो?
हो नि। राजा महेन्द्रको जति गुदी भएको कोही छन् र अहिले? उनले भारत चीनलाई सन्तुलन गर्न अमेरिकासँग कूटनीति सम्बन्ध गाँसेका थिए। राजतन्त्र अन्त्यपछि हाम्रो कूटनीतिक सम्बन्ध छियाछिया भएको छ। पहिले कूटनीतिक सम्बन्ध राम्रो थियो। नेपालको कुरा विदेशमा सुनिन्थ्यो तर अहिले भारतीयले समेत पत्याउँदैनन् हामीलाई।
स्थानीय तहको निर्वाचनमा यहाँको आंकलन के छ?
स्थानीय तहको निर्वाचन स्थानीय तहमा राजनीतिक व्यक्तित्व खोज्ने, रोज्ने र जनतालाई जोड्ने काम हो। यो प्रजातन्त्रको लाइफलाइन पनि हो। यसपछि हुने संसदीय दलको निर्वाचनमा कांग्रेस–एमाले दुवैको बहुमत आउँदैन। सिनमा राप्रपा रहन्छ। माओवादी निकै कमजोर भएर जानेछ वा एमालेमा विलय हुनेछ। एमालेमा अझै ओली छन्। उनले अझै पनि कर्मचारीतन्त्रलाई विश्वास गर्न सकेका छैनन्। सबै आफू अनुकूल चलाए। मुलुकलाई बर्बाद पारे। अहिले आफैँ बरबराइरहेका छन्। एक चिकित्सकको औषधिले ठिक भएन भने अर्को चिकित्सककहाँ जाने गरिन्छ। राजनीतिमा पनि एक दल राम्रो नभए अर्कोमा जान आवश्यक हुन्छ।