नेपाली साहित्य, अझ बालसाहित्यमा सुपरिचित नाम हो, रामबाबु सुवेदी। प्रख्यात बालगीत ‘मेरो गाउँ ज्यामिरे’ का सर्जक सुवेदीका बालकविता, बालगीत, बालकाव्य, बालचित्रकथा, बाल एकाङ्की संग्रह प्रकाशित छन्। प्रौढ पाठकका लागि रचिएका कविता, खण्डकाव्य पनि प्रकाशित छन्।
३० वर्षभन्दा बढी अध्यापन कार्यमा संलग्न सुवेदीले राजपरिवारका सदस्यलाई पनि पढाएका थिए। दीपेन्द्र, निराजन, श्रुतिलाई कक्षा १२ सम्म पढाएका सुवेदीसँग देशका ७७ जिल्ला पुगेको अनुभव पनि छ। राजपरिवारका सदस्यसँगको लेखपढ अनुभवसँगै बालसाहित्यमा केन्द्रित रहेर लेखक सुवेदीसँग महेश्वर आचार्यले गर्नुभएको सफल कुराकानीः
पुरानो चर्चित बालगीतबाट कुराकानीको शुरूआत गरौं। तपाईंलाई ‘मेरो गाउँ ज्यामिरे’ का लेखकका रूपमा चिनाउँदा कस्तो लाग्छ?
आजभन्दा ४० वर्षअघि बूढानीलकण्ठ स्कूलमा पढाउँदा ‘मेरो गाउँ ज्यामिरे’ गीत लेखेको हुँ। गीतका निर्णयकर्ता भने बूढानीलकण्ठका विद्यार्थी हुन्। त्यो कसरी भन्दा मैले लेखेको रचना विद्यार्थीलाई सुनाएँ र नम्बर देऊ भनेर अह्राएँ। सुनाएको पाँच-सात वटा रचनामा त्यो गीतलाई धेरै नम्बर आएको थियो। मैले लेखेका बालसाहित्यका रचनामा मन पर्ने पनि यही गीत नै हो।
त्यो गीत कसरी रचना गर्नुभयो?
त्यसको पनि एउटा कथा नै छ। बूढानीलकण्ठ स्कूलले जिल्ला जिल्लामा गएर छात्रवृत्तिका विद्यार्थी छनोट परीक्षा लिन्थ्यो। त्यही क्रममा इलाम पुगेको थिएँ।
इलाममा एउटा स्कूलमा छनोट परीक्षा सकेर बाहिरफेर निस्केका थियौं। त्यहाँ एउटा चौतारोमा केही केटाकेटी खेलिरहेका थिए। यस्तै केटाकेटीको जाँच लिएर आयौं, यहाँ केटाकेटी खेलिरहेका छन् भने जस्तो लाग्यो।
तीमध्ये एउटालाई ‘बाबु, तिम्रो नाम के हो?’ भनेर सोधें। ऊ बोलेन। उसको साथीले ‘काले’ भनेर नाम बताइदियो। तर, मान्छे चाहिं गोरो, राम्रो र चिटिक्क परेको थियो।
त्यसपछि आफ्नो गाउँको नाम ज्यामिरे भनेर बताएको थियो। मैले सोही घटनालाई लिएर बेलुका गीत लेखें। पछि काठमाडौं फर्केर आएपछि परिमार्जन गरें। अनि शान्तदास मानन्धरज्यूले सम्पादन गर्ने बालपत्रिकामा छाप्न दिएँ। पत्रिकामा पढेपछि रामेशलाई मन परेछ, सङ्गीतबद्ध गर्नुभयो। सङ्गीतबद्ध भएपछि त त्यो गीत धेरैले मन पराए।
तपाईंको घुम्ने पनि शोख छ। कामको सिलसिलामा देशभर घुम्नुभयो। इलाम नपुगेको भए त्यो गीत लेख्नुहुन्थ्यो कि?
यदि त्यहाँ नपुगेको भए त्यो गीत त्यसरी नै प्रस्तुत हुँदैनथ्यो भन्ने लाग्छ।
गीतलाई रामेशले कहिले सङ्गीतबद्ध गर्नुभएको हो?
नेपाली बालसाहित्यका धरोहर शान्तदास मानन्धर मार्फत रामेशसँग २०३५ सालतिर नै चिनजान भएको थियो। तर, हिमचिम बाक्लो थिएन। उहाँले ‘मेरो गाउँ ज्यामिरे’ गीतलाई सङ्गीतबद्ध गरेपछि हाम्रो सम्बन्ध बाक्लियो। मैले त एकैपटक रेकर्ड भएपछि मात्र सुनेको हुँ। मलाई त साह्रै राम्रो लाग्यो। पछि उहाँले मेरा धेरै गीतलाई सङ्गीतबद्ध गर्नुभयो। यसमा ‘सात दिन सात बार’, ‘पुस्तकका पानामा’, ‘हिमालमा हिउँ’ लगायत गीत छन्।
अहिले यो गीत ऐना झ्यालको पुतली फिल्ममा पनि समावेश गरिएको छ। त्यो वेला इलाम पुग्दा लेखिएको गीत अहिले फिल्ममा आउँदा कस्तो लाग्यो?
मलाई त फिल्म नै धेरै मन परेको हो। ज्यामिरे गाउँको त्यही बालकको जीवन जस्तै कथा फिल्ममा आएको छ। ४० वर्षअघि लेखिएको गीतमा आएको जस्तै कथाव्यथा फिल्ममा समेटिएको छ। त्यो गीत फिल्ममा आउँदा मलाई त राम्रै भए जस्तो लाग्यो।
बालसाहित्य सिर्जनामा तल्लीन हुनुहुन्छ। तपाईंंको बाल्यकाल कस्तो रह्यो?
आमनेपाली जस्तै कास्कीको हंसपुरमा सामान्य किसान परिवारमा जन्मिएको हुँ। हंसपुरको त्यो गुरुङ गाउँ, जहाँ रोदी, बालुन र सोरठी रमाइन्थ्यो। पास्ते खोला र मादी नदीको किनारको गाउँ, जहाँबाट माछापुच्छ्रे देखिन्छ, त्यो रमणीय गाउँमा बाल्यकाल बित्यो।
पछि पोखरास्थित अमरसिंह माविमा कक्षा ५ मा भर्ना भएँ। २०२० सालमा एसएलसी दिएँ। त्यति खेर मैले डेरामा बसेर, आफैंले खाना पखाएर, भाँडा माझेर, बुच्चे गाग्रीमा पानी बोकेर पढाइ गरेको हुँ।
आफ्नो एउटा किताबको भूमिकामा ‘बालकहरू यथेष्ट हाँसून्, यथेष्ट गाऊन्, खेलून्, रमाऊन्’ भन्ने अभिलाषा व्यक्त गर्नुभएको छ। तपाईंले भने जस्तै के देशभरिका बालबालिकाले हाँस्ने, खेल्ने, रमाउने वातावरण छ त?
देशले बालबालिकाका लागि जति सोच्नुपर्ने थियो, त्यति सोचेको छैन। देशमा झन्डै ४० प्रतिशतभन्दा बढी बालबालिका छन्। साहित्य कलाको संवर्द्धनका लागि थोरै प्रतिष्ठान छन्। ती पनि ठूला मान्छेका लागि मात्र काम गर्छन्। नेपाल प्रज्ञा-प्रतिष्ठानको एउटा विभागको आधा अंश बालसाहित्य हेर्न छुट्याइएको छ। संस्कृति र बालसाहित्य हेर्ने विभागको बजेट जम्मा १२-१३ लाख छ, अर्थात् बालसाहित्यको भागमा त ६ लाख जति मात्रै पर्छ। त्यो ६ लाखले देशभरका बालसाहित्यलाई कसरी समेट्ने? जबकि एउटा राम्रो किताब तयार पार्न ६ लाख जति लाग्छ।
हाम्रो देशका नेता, बुद्धिजीवीले बालकबालिकाका लागि सोचेका छैनन्। तर, बालकबालिकालाई राम्रो बनाएनौं भने देश बन्दैन। अहिले हाम्रा नेता असफल देखिनु भनेको उहिलेका बालकबालिका असफल भएका हुन्। बाल्यकालमा राम्ररी पढेका भए, ज्ञानी भएका भए, सक्षम भएका भए अहिले युवा विदेशिनुपर्ने यो गति देख्नुपर्दैनथ्यो। नेतृत्वले यहीं बस्ने वातावरण बनाउन सकिहाल्थ्यो।
त्यसैले देश बनाउनु भनेको ढुङ्गामाटो बनाउने मात्रै होइन, बालकबालिका बनाउने हो, मान्छे बनाउने हो, आउने पुस्तालाई बनाउने हो। त्यो बनाउन बालबालिकालाई स्कूल पठाएर मात्रै हुँदैन। शिक्षा त एउटा माध्यम मात्रै हो। त्यसभन्दा बढी बालकबालिकालाई सिकाउनुपर्ने, नचाउनुपर्ने, हँसाउनुपर्ने हुन्छ। उनीहरूलाई रमाइलो गराउनुपर्यो, खेलाउनुपर्यो, तर यसमा हामी पछि परेका छौं, यसबारे देशले नै सोच्नुपर्छ।
अभिभावकको पनि बालबालिकालाई स्कूल पठाइदिने, स्कूलको मासिक शुल्क तिरिदिएपछि र बालबालिकाले पाठ्यक्रम पढे पुग्छ भन्ने बुझाइ छ। त्यो बुझाइ भत्काउन हाम्रो क्षमताले गर्न सक्ने काम के के हुन सक्छन्?
बालबालिकालाई स्कूल मात्रै पठाएर ढुक्क हुने अवस्था छैन। झन् नेपाल जस्तो देशमा त छँदै छैन। हाम्रो देशमा त पाठ्यपुस्तक धेरै हुने विकृति छ, फेरि हाम्रा पाठ्यपुस्तक पनि ठीक छैनन्। बेलायतमा कक्षा ६-७ सम्म पाठ्यपुस्तकको बोझ नै हुँदैन, विद्यार्थीले पाठ्यपुस्तक बोकेर जानु नै पर्दैन। हाम्रा विद्यार्थीलाई पनि पुस्तकको भारी बोकाउनुभन्दा स्वतन्त्रता दिनुपर्छ।
शहरका सचेत अभिभावकले बच्चा स्कूलमा पठाउँछन्, अर्थोक सोच्ने फुर्सद छैन। गाउँका अभिभावकलाई रोजीरोटीको जोहो गर्दैमा फुर्सद छैन।
अभिभावक शिक्षाको कुरा गर्नुभयो। तपाईंले त ३० वर्ष पढाउनुभयो, अझ बूढानीलकण्ठ जस्तो स्कूलमा। बालबालिकालाई पठनपाठनमा कसरी संलग्न गराउने गर्नुभएको थियो?
२०३६ सालमा बूढानीलकण्ठ स्कूलमा पढाउने मौका पाएँ। त्यहाँ कक्षा अनुसार विद्यार्थीलाई बाहिरी पुस्तक पढ्न प्रेरित गरिन्थ्यो र पुस्तकालयमा भेटेसम्मका पुस्तक राख्ने गरिन्थ्यो। अंग्रेजीका पुस्तक त पाइन्थे, तर नेपालीका पुस्तक भने कक्षा अनुसार त्यसरी उपलब्ध हुँदैनथे। त्यही भएर स्तरीय नेपाली साहित्यका पुस्तक किनेर नै पुस्तकालयमा राख्थ्यौं। भूपी शेरचनका कवितादेखि विजय मल्लका नाटकसम्म, रमेश विकल लगायतका कथाहरू पुस्तकालयमा राख्थ्यौं। विद्यार्थी सबै आवासीय हुने भएकाले बाहिरी पुस्तक पढ्ने पाउँथे।
त्यस्तै, प्रत्येक दिन विद्यार्थीले एक पृष्ठ हातले लेख्नुपर्थ्यो। कक्षा ९ सम्म सबै विद्यार्थीलाई अनिवार्य थियो। त्यहाँ भएका घरका विद्यार्थीबीच प्रत्येक वर्ष नाटक प्रतिस्पर्धा हुन्थ्यो। देशभरका विद्यार्थी आउने हुँदा स्कूलमा देशको संस्कृतिको सङ्गम हुन्थ्यो।
त्यति वेला त बालसाहित्यका पुस्तक कमै हुन्थे। अहिले त उल्लेख्य संख्यामा छापिंदा पनि बालसाहित्यले पाठक पाइरहेको छैन नि?
नेपालमा जब ‘रूम टु रीड’ ले गुणस्तरीय बालसाहित्यका किताब निकाल्न थाल्यो, तब राम्रा किताब छापिनुपर्छ भन्ने सन्देश दियो। अहिले प्रकाशनगृह पनि बढेका छन्। राम्रा किताब आइरहेका पनि छन्, तर स्कूलमा पुग्दोगरी बालसाहित्य आउन सकेको छैन। देशभर घुम्दा पनि राम्रो र गतिलो पुस्तकालय कहीं देख्न पाइनँ।
सानै उमेरदेखि पठन संस्कृतिमा अभ्यस्त बनाउनुपर्छ। झन् अहिले त प्रविधिको प्रचुरताले समग्र पठन नै घटेको छ। इन्टरनेटको लतले बच्चाहरूको बानी बिग्रिरहेको छ। यसलाई रोक्न पनि स्कूलले राम्रा पुस्तकालय बनाउनुपर्छ। सरकारी स्कूल राम्रो बनाउन सरकारले नै गम्भीर पहलकदमी चाल्नुपर्छ। निजी स्कूलले पैसा कमाउनेतिर मात्र ध्यान नदिई विद्यार्थीलाई ज्ञान दिलाउनेतिर पनि ध्यान दिन जरूरी छ।
ज्ञानको दायरा फराकिलो बनाउन पाठ्यक्रम थोपर्ने मात्र नभई स्वतन्त्रता दिनुपर्छ। पाठ घोकाउने, पास-फेल गराउने मात्र नभई समग्र विकास कसरी गराउन सकिन्छ, त्यतातिर ध्यान दिनुपर्छ। किनकि, कुनै पनि विद्यार्थी फेल हुँदैन। उसले त आफ्नो क्षमता अनुसार ज्ञान हासिल गर्ने हो।
तपाईंंले त पूर्व युवराज दीपेन्द्र लगायत राजपरिवारका सदस्यलाई पनि पढाउन पाउनुभयो। नेपाली पढाउन बेलायत पनि जानुभयो। त्यो अवसर कसरी मिल्यो?
दीपेन्द्र बेलायतको इटन कलेज पढ्न जाने भएपछि ‘ओ लेभल’ मा नेपाली पनि पढाइ गर्नुपर्ने भयो। त्यसपछि क्याम्ब्रिजले स्वीकृत गरेको ‘ओ लेभल’ को कोर्समा मैले पढाउने अवसर पाएको हुँ।
दीपेन्द्रलाई बूढानीलकण्ठमा पनि नेपाली पढाएको थिएँ। स्कूल नभएको बखतमा नेपालीको छुट्टै कक्षा लिइरहेको हुन्थें। त्यसैले पनि बेलायतमा पढाउन जाने अवसर पाएँ। २०४४ सालमा दीपेन्द्रलाई पढाएँ भने २०५२ सालमा निराजनलाई पनि एक वर्ष पढाएँ।
दीपेन्द्रको नेपाली भाषा, साहित्यप्रतिको लगाव, रुझान कस्तो थियो?
दीपेन्द्रको असाधारण व्यक्तित्व हो। उनमा असाधारण प्रतिभा थियो। प्रख्यात दार्शनिक रूसोले ‘मेरो विचार र मेरो उमेरको कहिले पनि भेट भएन’ भनेका छन्। उनले भने जस्तै कहिलेकाहीं १२-१३ वर्षको उमेरमा २२-२३ वर्षको जस्तो सोच हुन्छ। दीपेन्द्रको पनि त्यस्तै थियो।
राम्रो कविता लेख्थे। उनले लेखेका कतिपय कविता अझै मसँग छन्। पुस्तकका आकारमा प्रकाशन गर्न पुग्ने जति छन्। उनले लेखेको ‘आमा’ शीर्षकको कविता आमाको जन्मदिनमा २०४४ सालमा गोरखापत्रमा प्रकाशित भएको थियो। इटन कलेजमा हुँदा लेखिएको त्यो कविता गोरखापत्रमा पठाइएको थियो।
दीपेन्द्रसँग कसरी यहाँको निकट सम्बन्ध रह्यो?
इटनमा आठ-दश महीना सँगै बसियो। त्यहाँ हुँदा उनले मलाई सम्बोधन गरेर लेखेका १४-१५ वटा चिठी पनि मसँग सुरक्षित छन्। मैले उनलाई लेखेको एउटा चिठीको फोटोकपी पनि मसँग छ।
उताबाट फर्केर आएपछि पनि सामीप्य थियो। यहाँ आउँदा त मेरो घरमा पनि आउने, काँक्रो भए काँक्रो खाने, बस्ने गर्थे। दरबार भन्नु सुनको पिंजडा त हो, त्यो पिंजडाबाट मुक्त हुन खोज्दा मेरो घरमा पनि आउने गर्थे।
म बूढानीलकण्ठ स्कूलको आवासमा बस्दा त्यहाँ पनि आउँथे। कहिले मोटरसाइकलमा आउँथे। कहिले त ७-८ बजे आउँथे। जहिले आउँदा पनि पूर्व जानकारी नदिईकनै आउँथे, अकस्मात् नै आउँथे। एकदम सौहार्द सम्बन्ध थियो।
युवराज दीपेन्द्रसँगै रामबाबु सुवेदी।
इटनमा पढाएपछि पनि सम्बन्ध निरन्तर थियो?
इटनपछि त्रिभुवन विश्वविद्यालयमा बीए पढे। त्यति वेला पनि नेपाली विषय पढ्नुपर्दा मैले नै पढाएँ। एमएमा पढ्दा पनि नेपालीको छुट्टै कक्षा लिइरहे। मैले कुनै पाठ्यक्रमको आधारमा पढाएको होइन। स्वतन्त्रतापूर्वक पढाउँथें। एउटा किताबबारे केही आधार तयार पारेर निरन्तर पढाइरहेको थिएँ।
दीपेन्द्रलाई मन पर्ने लेखक को थिए?
उनलाई सबैभन्दा मन पर्ने लक्ष्मीप्रसाद देवकोटा हुन्। त्यस्तै, भूपि शेरचन, पारिजात लगायत पनि मन पर्ने लेखक थिए।
निराजनको चाहिं कस्तो बानी थियो?
निराजन गौप्राणी। असाध्यै सोझो मान्छे, ज्यादै सरल मान्छे। दीपेन्द्र जत्तिको चलाख हैनन्। मध्यम खालका थिए। हामीले पढाउँदा पनि नामले नै सम्बोधन गर्थ्यौं। कुनै विशेष व्यवहार गर्नुपर्दैनथ्यो। सर भनेरै सम्बोधन गर्थे।
राजपरिवारका सदस्यलाई कहिलेसम्म पढाउनुभयो?
मैले जुन दिन दरबारमा पढाउन थालें, त्यो वेलादेखि दरबार हत्याकाण्ड नहुँदासम्म निरन्तर पढाइरहेको थिएँ।
एउटा कुरा सुनाऊँ। शुक्रबार घटना भयो। म बिहीबार दरबार गएको थिएँ। दरबार गएर दीपेन्द्रको सचिवको कक्षमा बसिरहेको वेला निराजनको सचिव आएर ‘ए सुवेदी सर आउनुभएछ’ भनेर निराजन र श्रुतिलाई पढाएको पैसा बाँकी रहेछ भनेर मलाई एउटा खाम दिनुभयो। मैले सही गरें। १३ हजार रुपैयाँ रहेछ। त्यो दरबार हत्याकाण्ड हुनु ठीक अघिल्लो दिनको कुरा थियो।
तपाईंको घरमा आउँदा कस्तो व्यवहार गर्नुहुन्थ्यो?
एक दिन म कक्षामा हुँदा घरमा आएछन्। त्यो इटन पढिरहँदा बिदामा आएको वेला थियो। घरमा भएको अलिकति धान सुकाइएको रहेछ। पानी छिट्याउन थालेपछि परिवारले बटुलेर ठिक्क पारेका पाँच-सात वटा धानका बोरा दीपेन्द्रले बोकेर भित्र लगेछन्। त्यस्तो सरल मान्छे। घरमा जे छ, त्यही खाने। काँक्रो भए काँक्रै खाने। पिरो भएन भने ‘खुर्सानी थपौं’ भनेर खुर्सानी पिन्थे, त्यस्तो बानी थियो।
तपाईंंको चाहिं मूल्याङ्कन कस्तो छ?
मेरो दृष्टिकोणमा उनी राम्रा विद्यार्थी हुन्। हामीले त खानपानबारे केही पनि थाहा पाएनौं। इटनमा हुँदा सिगरेट खाने गरेको थाहा थियो।
एक पटक बेलायतमा हुँदा म विपरीत दिशाबाट आइरहेको थिएँ। उनी सिगरेट खाइरहेको वेलामा पुगेछु। उनले सिगरेट समातेको हात पछाडि लुकाए। त्यो हात अगाडि आएन। मरेकाटे पनि त्यो हात अगाडि ल्याएनन्। त्यसरी गुरुको सम्मान गर्ने प्रवृत्ति थियो।
तपाईंंले २०४४ सालमा दीपेन्द्रले लेखेको ‘आमा’ कविताको प्रसङ्ग सुनाउनुभयो। आमजनमा त दीपेन्द्रको आमासँगको सम्बन्ध ठीक थिएन भन्ने धारणा छ। कतिपयले दरबार हत्याकाण्डमा पनि जोड्ने गरेका छन्। कहिलेकाहीं आफ्ना असजिलाहरू तपाईंंसँग खुलाउने गर्थे त?
एक पटक बेलायतमा दुवै जना बसेर पढिरहेका थियौं। नेपालबाट फोन आयो। फोनमा कुरा गरेर आएपछि ‘मुड अफ’ भएको थियो। ‘के भएको रछ?’ भनेर मैले सोधें।
त्यो दिन तत्कालीन अधिराजकुमार धीरेन्द्रलाई राजसी पदबाट हटाइएको निर्णय भएको रहेछ। आज यस्तो भएको रहेछ भनेर मलाई भने। त्यो दिन दुई पटक आमाप्रति नकारात्मक अभिव्यक्ति सुनें। ‘यो सबै काम ममीको हो, सर’ भने। दीपेन्द्रले ‘सर, आज नपढौं’ भनेपछि कक्षा पनि स्थगित गरियो।
अर्को पटक दीपेन्द्र र म सँगै फर्कने भयौं। नेपालीको कक्षा सकिए पनि दीपेन्द्रको अरू विषयको कक्षा नसकिएको हुँदा म थप तीन महीना बसें र नेपालीका अतिरिक्त कक्षाहरू लिएँ। कक्षा सकिएपछि फर्कने वेलामा तत्कालीन राजदूत ईश्वरी पाण्डे आउने ठीकठाक परेर झोलीतुम्बा पनि कसिसकिएको थियो। तर, यताबाट ‘दीपेन्द्रलाई सरसँग आउन सकिन्छ’ भन्ने स्वीकृति मिलेपछि राजदूतको आउने कुरा ‘क्यान्सिल’ भयो र म दीपेन्द्रसँग आउने तय भयो।
त्यसपछि ‘सर, केही लानु छ त’ भनेर दीपेन्द्रले मलाई सोधे। मेरो त केही ल्याउनु थिएन। मैले ‘छैन’ भनें।
दीपेन्द्रले नै ‘ममी पनि के के बेठीक कुरा गर्नुहुन्छ, सरको केही लाने कुरा भयो भने तिमीले नल्याउनू है भन्नुहुन्छ’ भने।
दीपेन्द्रको भनाइ हुन्थ्यो- ममीको यो अति गर्ने कुरा चाहिं ठीक छैन।
त्यति वेला ‘सरसँग आठ-दश महीना सँगै बसियो। सँगै जाऔं’ भन्ने दीपेन्द्रको भनाइ थियो। तर, रानीले ‘सरको र आफ्नो ब्यागेज छुट्टै बनाउनू’ भनेको कुरा दीपेन्द्रलाई ठीक लागेको थिएन।
दीपेन्द्रले त्यहाँ पाइने नोटबूक किनेर मेरो ब्यागमा रोखेका थिए। तीन-चार सय पाउन्डका नोटबूकहरू मेरो ब्यागेजमा परेका थिए। मेरो ब्यागेजमा आएको त मेरो घरमा पुगेर अनि दरबार जानुपर्ने हुन्थ्यो। त्यो गर्दा छुट्टिए जस्तो, मेरो ब्यागेज चेक हुने, दीपेन्द्रको ब्यागेज चेक नहुने जस्तो देखिन गयो। त्यो उनलाई चित्त बुझेको थिएन।
फेरि बालसाहित्यमै फर्किऔं। यति लामो अनुभव छ। हाम्रो बालसाहित्यको यात्रा कस्तो देखिन्छ?
विगतमा भन्दा अहिले बालसाहित्यको अवस्था राम्रो छ। बालसाहित्यका राम्रा राम्रा किताब छापिएका छन्। राम्रा राम्रा बालगीत बनेका छन्। स्कूलमा बालबालिकालाई गीत तथा नृत्य सिकाउँदा उपयोग भइरहेका छन्, हुनु पनि पर्छ। किनभने बालबालिकालाई युवाका लागि बनेका प्रेमका गीतबाट पर राख्नुपर्छ। यसमा अब स्थानीय तहले पनि पहलकदमी लिनुपर्छ।
व्यक्तिको विकास दुई किसिमले हुन्छ। एउटा शारीरिक विकास, अर्को मानसिक विकास। शारीरिक विकासका लागि खानपानको आवश्यकता पर्छ। जस्तो- देश विकासका लागि बाटो, घाटो, पुल, पुलेसा, स्कूल, कलेज, अस्पताल चाहियो। यी देखिने पूर्वाधारसँगै मान्छेको आत्मिक विकासका लागि कला, साहित्य, सङ्गीतको आवश्यकता पर्छ। यसतर्फ स्थानीय सरकारले सोच्नुपर्छ। संघीय मन्त्रालयको एउटा शाखा वा महाशाखाले कार्यक्रम गर्नुभन्दा सबै स्थानीय सरकारले एउटा खाकामा काम गर्दा बढी प्रभावकारी हुन्छ।
अहिले स्थानीय सरकारको ध्यान पूर्वाधार विकासमा मात्रै छ। आत्मिक विकासमा त कसैले सोचेकै छैन।
आज हामी जति बिग्रिंदै भत्कँदै गएका छौं, त्यति नै बालबालिका पनि बिग्रिंदै गएका छन्। बेवास्ता गरेपछि, छोडेपछि जो पनि बिग्रिन्छ। उनीहरूलाई सँगेल्ने, कर्तव्यमा लगाउने हाम्रो दायित्व हो। त्यसका लागि अभिभावकले पनि बालसाहित्य पढ्नुपर्छ।
साभार: हिमाल खबर पत्रिका