क्योकुसिन कान कराँते फुल कन्ट्याक्टका ब्ल्याक बेल्ट थ्री डान शशी देवकोटाको खेल जीवन ११ वर्षको कलिलो उमेरबाट सुरु भएको हो । सर्लाही जिल्ला हालको लालबन्दी नपा-२ का स्थानीय बासिन्दा शशी २०६० देखि लालबन्दी डोजोमा प्रशिक्षकका रूपमा आबद्ध रही हालसम्म सिक्दै र सिकाउँदै आइरहनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्द्वारा नेपालका सक्रिय खेलाडी तथा प्रशिक्षकहरूलाई मात्रै दिइने प्रशिक्षण ‘एसिस्टेन कोचेज कोर्स २०१०’ मा आफ्नो उपस्थिति जनाउनुभएका उहाँले भारतको कोलकातामा सम्पन्न १५ दिने ‘क्लोजिङ क्याम्प’मा पनि प्रशिक्षण लिनुभएको थियो । ‘नेसनल समर क्याम्प २०१९’को प्रशिक्षण लिनुभएका उहाँ विभिन्न तौल समूहको खेल प्रतियोगितामा उत्कृष्ट उपाधि हात पार्न सफल हुनुहुन्छ । शशी आफैं पनि विभिन्न खेल प्रतियोगिताको निर्णायक मण्डलमा रहेर कार्यसम्पादन गर्दै आउनुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका प्रतियोगितामा सहभागी भई दर्जन बढी मेडल र सम्मान आफ्नो पक्षमा पार्नुभएका शशी नगर खेलकुद विकास समिति लालबन्दीका सदस्य, फुल कन्ट्याक्ट महासंघ तदर्थ समितिका सदस्य पनि हुनुहुन्छ । खेलमार्फत् राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचान बनाउन उहाँ सफल हुनुभएको छ । खेलकुदलाई विश्वसामु चिनाउने हो भने अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना हुन जरुरी रहेको बताउनुहुने शशी देवकोटासँगको सफल कुराकानी ।
खेलकुदले के दिन्छ ?
एउटा मान्छे खेलका माध्यमबाट स्वस्थ, सुखी र समृद्ध बन्न सक्छ । राष्ट्रको गौरव बढाउन सक्छ । एउटा भनाइ छ, ‘स्वस्थ शरीर, निरोगी मस्तिष्कबाट सुन्दर भविष्यको रूपरेखा कोर्न सकिन्छ ।’ सुखी जीवन, खुसी संसारबाट मात्र संसारका सबै वस्तु प्राप्त गर्न सकिन्छ । अनि उपयोग र उपभोग गर्न सकिन्छ । त्यसैले खेललाई मानव जीवनको महत्वपूर्ण अंगका रूपमा लिनुपर्छ ।
भनेपछि स्वस्थ रहनका लागि पनि खेल आवश्यक छ ?
मानव जीवनमा खेलको महत्व अझ फराकिलो र गहिरो बनिरहेको छ । हाम्रा शरीरका सबैै अंगहरू स्वस्थ, क्रियाशील, सक्रिय र दुरुस्त कायम राख्न खेलबाहेक अन्य विकल्प देखिँदैन । विज्ञानको युग, प्रविधिको युगको विकासले अझ खेलप्रति मान्छेको रुचि र झुकाव बढाएको पाइन्छ । आजभोलि खेललाई स्वास्थ्यसँग जोडेर हेर्ने गरिन्छ । खेलको महत्व र त्यसका लाभलाई बुझेर खेलप्रति सबै उमेरका समूहहरू सामेल र सहभागी बनिरहेको देखिन्छ । यसलाई सकारात्मकरूपमा लिनुपर्छ ।
खेलकुदमा लगानी बालुवामा पानी भन्छन् नि ?
खेल देशको प्रतिष्ठासँग जोडिएको क्षेत्र हो । मान्छेको शारीरिक, मानसिक स्वास्थ्यसँग गाँसिएको विषय पनि हो । अब खेलकुद मानव जीविकोपार्जनको नारा बन्नुपर्छ । स्वास्थ्य लाभको नारा बन्नुपर्छ । नेपालमा खेलकुद विकासका लागि काम नभएको होइन । तर, ती सबै बालुवामाथि पानी खन्याएझैँ भएको छ ।
खेल क्षेत्रको विकास हुन किन नसकेको होला ?
नेपालले खेलकुद क्षेत्रको विकासमा जुन गतिमा फड्को मार्नुपथ्र्यो र विश्वसामु मुलुकलाई प्रतिनिधित्व गराउन सक्नुपथ्र्यो त्यसो हुन सकेन । त्यसको मूल कारण राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेप नै प्रमुख कारण हो जस्तो लाग्छ ।
खेल क्षेत्रको विकासका लागि के गर्नुपर्ला ?
गर्नुपर्ने धेरै छ । स्वास्थ्य र राष्ट्रको गौरवसँग जोडिएको खेलकुदको विकासमा जोड दिन सकेमात्र मुलुकको भविष्य उज्ज्वल हुनेछ । वस्तुगत धरातललाई आत्मसात गर्दै यो क्षेत्र विकासका लागि सबै एकजुट हुन आवश्यक छ ।
खेल क्षेत्रबाट राज्यलाई आर्थिक लाभ हुँदैन भन्छन् नि ?
विकसित मुलुकहरूले खेलकुदको व्यावसायीकरणबाट अर्थतन्त्रमा आर्थिक सुधारका कार्यक्रममा ठूलो योगदान पुर्याएको देखिन्छ । विश्व खेलकुद बजारलाई नजिकबाट हेर्ने हो भने ठूला-ठूला आर्थिक सफलता पाएको मात्र छैन, अन्तर्राष्ट्रियरूपमा मान, शान र गौरव बढाएको देखिन्छ । खेलकुदलाई विश्वसामु चिनाउने हो भने अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना हुन जरुरी छ । प्रतियोगिता आयोजना गर्नका लागि विभिन्न राष्ट्रहरूको प्रतिस्पर्धाले केवल राष्ट्रिय गौरवका लागिमात्र नभएर देशको बहुआयामिकता झल्काउने र मुलुकको प्रतिष्ठामा ठूलो योगदान प्रदान गर्दछ । विभिन्न आयामहरूमध्ये आर्थिक पाटो पनि मुख्य हो ।
मोफसलमा बसेर खेलकुदलाई अगाडि बढाइरहनुभएको छ ।
सर्लाही जिल्लाभित्रको समग्र खेलको अवस्था कस्तो छ ?
म लालबन्दी नपा सर्लाहीको नगर खेलकुद विकास समितिको सदस्य पनि भएको नाताले युवा पुस्तालाई खेलकुदप्रति आकर्षित गर्न हरसम्भव प्रयास गरिरहेको छु । तराई भेग भएकाले खेतबारीको कामबाट फुर्सद निकालेर पनि, क्योकुसिन कान कराँतेको प्रशिक्षण लिन आउनेहरूको संख्या कम भए पनि त्यसलाई कतिपयले निरन्तरता नदिएको अवस्था छ । खेलकुदको विकास र विद्यालयस्तरबाटै खेलप्रतिको रूचि बढाउन विभिन्न खेलकुद प्रतियोगिताहरूका बारेमा हामीले जोड दिँदै आइरहेका छाँै ।
खेल क्षेत्रमा लागेर सन्तुष्ट हुनुहुन्छ ?
यो मेरो रुचिको क्षेत्र भएकाले असन्तुष्ट हुने कुरै भएन । यति लामो खेल जीवनमा बेलाबखत उतारचढाव हुनु स्वाभाविक हो । त्यसलाई सकारात्मकरूपले लिँदै मिहेनत, लगनशीलता र धैर्यताका साथ अगाडि बढ्न सक्नुपर्छ ।
यो क्षेत्रमा आउन चाहनेहरूलाई के भन्न चाहनुहुन्छ ?
यस क्षेत्रमा आउन चाहनेले खेलको कुन विद्यामा रुचि छ त्यसको अध्ययन र प्रशिक्षण लिनु जरुरी हुन्छ । तुरुन्तै सफलता पाउने क्षेत्र नभएकाले सहनशीलता र धैर्यताको आवश्यकता छ । नयाँ प्रतिभाको खोजी हुनु र अवसर पाउनुले पुरानाहरू निखारिँदै जानुले समग्र देशको खेलकुदमा योगदान बढ्ने कुराको ज्ञान होस् भन्न चाहन्छु ।