सहरिया जीवनको ब्यस्तताको भुमरीमा रुमलिएको दीपेश आफैभित्र हराएको एउटा रङ्गमञ्चको पात्र झैं थियो। कलेजमा शिक्षण पेशामा आवद्ध नवविवाहित दीपेश आफ्नी सुन्दर पत्नीलाई भाडाको कोठामा एक्लै छोडेर बाध्यतावश बिहानदेखि बेलुकासम्म नै जागीर खान र ट्युसन पढाउनमा ब्यस्त हुन्थ्यो ।जीवनको गाडी गुडाउन र आफ्नी पत्नीलाई सुखसुविधा दिन उसले आफ्ना व्यक्तिगत खुशी र आकाङ्क्षाहरुलाई बाध्यताको भारले न्यौछावर गरेको थियो, हरसम्भव प्रयास गरेको थियो । बिहान छ बजे भटभटे चढेर डेराबाट निस्किएको दीपेश बेलुका सात बजे गुँडमा फर्कन्थ्यो, खाना खान्थ्यो र एकछिन पत्नीसँग कुराकानी गरेर बिस्तरामा थकित मुद्रामा पल्टिन्थ्यो र भुसुक्कै निदाउँथ्यो । बिहान साढे पाँच बजेतिर उठेर नित्यकर्म सकेर छ बजे काममा निस्किहाल्थ्यो । यसरी नै उसको नियमित दिनचर्या बित्थ्यो ।
दीपेश करीब दश वर्ष अघि आफ्नो उच्च शिक्षा अध्धयन गर्नको लागि झापाबाट काठमाण्डू आएको थियो । आकर्षक व्यक्तित्व, मिजासीलो स्वभावको र सङ्गीतमा मिठो स्वरको धनी दीपेश उच्च शिक्षापश्चात एउटा क्याम्पसमा अध्यापन गर्दथियो । अध्यापनको साथसाथै ऊ विभिन्न साङ्गीतिक कार्यक्रम र रेडियोमा पनि गीत गाउने गर्दथियो । अविवाहित दीपेशको क्रियाकलाप र व्यक्तित्वबाट आकर्षित एउटी उसकै छात्रा दीपिकाले उसलाई मनको एउटा कुनामा सजाएर राखेकी थिई । काठमाण्डूबासी सम्भ्रान्त परिवारकी एउटी छोरी दीपिका हरसम्भव दीपेशलाई आफ्नो बनाउन चाहन्थी ।
यही बहानामा उसले आफ्ना अरबपति ब्यापारी बाबुलाई मनाएर दीपेशलाई आफ्नो घरमा सङ्गीतको ट्युसन पढाउने गुरुको रुपमा ल्याई । राजधानीकी रैथाने उच्च घरानाकी सुन्दर कन्या दीपिकाको सामीप्यता र चञ्चलताले झापाली युवक दीपेशको दिलमा पनि प्रेमको बीज अङ्कुरण हुन थाल्यो ।यी गुरुचेलीको सम्बन्धले शिक्षादीक्षाको साँघुरो दिवार नाघेर प्रेमालापको क्षितिज नाघ्न थाल्यो । उनीहरू लुकीलुकी कहिले पार्कमा, कहिले रेस्टुरेण्टमा र कहिले सिनेमाघरमा भेटेर आफ्नो प्रेम दर्साउन थाले ।
हुनत दीपेश र दीपिकाको कुल घराना, सामाजिक प्रतिष्ठा आदिमा आकाश जमिनको फरक थियो । झापाली बाहुनको छोरा र काठमाण्डूकी नेवारकी एकल सन्तानबीच रीतिरिवाज, रहनसहन आदिबीच ठुलो खाडल थियो । तर दीपिकालाई आफ्नो मनको राजा पाउन यी सामाजिक खाडलहरुले रोक्न सक्दैन थिए ।फलस्वरूप एकदिन दीपिका घरबाट भागेर दीपेशसँग पोखरा गई ।उनीहरुले पोखराको बिन्द्यबासिनी मन्दिरमा देवीलाई साक्षी राखेर प्रेम विवाह गरे। सुखसयल र लाडप्यारमा हुर्किएकी एकल सन्तानले काठमाण्डूका नेवारहरुले काँठे भनाउँदो दीपेशसँग भागीविवाह गरेकोमा दीपिकाका बाबुआमा अति नै चिन्तित थिए ।दीपिकालाई खोसेर ल्याऊँ त समाजमा इज्जत जाने,नल्याऊँ त त्यत्रो सम्पतीकी वारिस र बुढेसकालको सहारा छोरी बिना कसरी जीवन काट्ने? दीपिकाका बाबुआमा दोधारमा थिए र आँसुको घुटको पिउँदै बाँचिरहेका थिए ।
एक हप्ता पोखरामा मधुमास मनाइसकेपछि ती नवजोडी काठमाण्डू फर्किए ।दीपेशले दीपिकालाई आफ्नो डेरामा भित्र्यायो । नेवार जातका घरपति साहुसाहुनी, जसको आयात निर्यातकों ठुलो ब्यापारिक कारोबार थियो र त्यो कारोबार अविवाहित छोराले सम्हाल्थ्यो उनीहरुका एकल छोरा हिमेशले, जो दीपेशको मिल्ने साथी थियो,ले नवविवाहित दम्पतीलाई भव्य स्वागत गरे । भोलिदेखि नै दीपेशको पहिलाको झैँ नियमित अध्यापन र ट्युसन पढाउने काम सुरु भयो । बिहान निस्कियो बेलुका फर्कियो। बेलुका खाना खायो र दिनभरिको परिश्रमले लखतरान मान्छे बिस्तरामा पल्टिने बित्तिकै भुसुक्कै निदायो । जिन्दगीको गाडी चलाउनको लागि दीपेश हप्तामा सातै दिन ब्यस्त हुन थाल्यो । यता दीपिका चाहिं दिनभरि एक्लै बस्नु पर्दा दिक्क हुन्थी। जाऊँ त एक्लै कता जाऊँ? बसौं त दिनभरि एक्लै बस्दा बस्दा ऐण्ठन नै हुन लाग्यो । ऊ एक्लोपनाको पीडाले छटपटाउन थाली।
एकदिन अचानक दीपेशलाई शैक्षिक तालिमको सिलसिलामा तीन महिनाको लागि सिङ्गापुर जानुपर्ने भयो । ऊ बिलखबन्दमा पर्यो । नवविवाहिता दीपिकालाई लिएर जान पनि नमिल्ने, एक्लै डेरामा छोडेर जान पनि अप्ठ्यारो हुने र माइतीमा पठाउन पनि के मुख लिएर पठाउनू पोइला गएकी छोरीलाई? अपरिहार्यतालाई आत्मसात गर्दै नवजोडीले एउटा निष्कर्ष निकाले । दीपिकालाई घरपति र आत्मीय साथी हिमेशको संरक्षणमा छोडेर दीपेश तीन महिनाको लागि बिदेश जाने । ‘हिमेश ! मेरो अनुपस्थितिमा भाउजूको हेरचाह र सुरक्षा गर है साथी’ भन्दै दीपेश बिमानस्थलबाट बिदा भयो । बिदाइपछि आँखाबाट आँसु झार्दै दीपिका हिमेशसँगै आफ्नो डेरामा फर्की ।
डेरामा फर्केपछि दीपिका खाना पनि नखाई आफ्नो बिस्तरामा थचक्कै बसी । नवविवाहित जोडीको चाहना हरपल एक अर्कासँग नछुट्टी सँगै बस्ने, घुम्ने, रमाइलो गर्ने आदि हुनु स्वाभाविक नै हो । त्योभन्दा पनि धेरै नवयौवना नारीले विवाह पछिको लुप्त प्राकृतिक चाहना दबाएर बस्नुपर्दा दीपिका अधैर्य बनेकी थिई । जब असीमित इच्छा अप्राप्तिले अधैर्यताको बाँध फुट्छ तब मानिसको होस गुम्न पनि सक्छ र सामजिक मूल्य मान्यताहरू तोडिन पनि सक्छन् । डेरामा छिपिएको रातमा उसले आफूलाई नितान्त एक्लो महसुस गरी र छटपटीबीच रातको अन्तिम प्रहरमा मात्र निदाउन सकी । यसरी नै दीपिकाले एक्लोपनको सागरमा पौडी खेल्दै तीन रात काटी । एक दिन अचानक उसलाई टाउको दुखेर ज्वरो आयो । यो कुरा उसले मोबाइल फोन मार्फत दीपेशको साथी अथवा घरपतिको छोरा हिमेशलाई भनी । हिमेशले दीपिकालाई आफ्नो गाडीमा राखेर अस्पताल लग्यो । स्वास्थय परीक्षणपश्चात औषधीमुलो गरेर दीपिका पुन आफ्नो डेरामा फर्किई ।
भोलिपल्ट सॉझपख हिमेशले दीपिकाको सञ्चोबिसञ्चोको खबर बुझ्न दीपिकाको कोठाको ढोकामा गएर टकटक गर्यो । दीपिकाले आकस्मिक र अनजान आवाज सुनेर भयमिश्रित भावमा ढोका खोली र हिमेशलाई भित्र आएर सोफामा बस्न अनुरोध गरी । ‘भाउजू ! हजुरलाई अहिले कस्तो छ? सञ्चै हुनुहुन्छ?’ भन्दै हिमेश सोफामा थचक्क बस्यो । ‘ बाबुको सहयोगले अहिले मलाई सञ्चो भएको छ’ भन्दैे दीपिका हिमेशको लागि चिया बनाउन भान्सातीर गई ।
दीपिका पनि आजकल हिमेशको सहयोग र सामीप्यता पाएर एक्लोपनको आभासदेखि केही हदसम्म भुल्लिएकी थिई ।हिमेश पनि दीपिकालाई एक्लोपनले नसताओस भनेर आफ्नै गाडीमा राखेर कहिले रेस्टुरेण्टमा र कहिले पार्कमा लिएर जान्थ्यो । दुवैजना दीपिकाको कोठामा बेलुका अबेरसम्म बसेरसँगै खाना खान्थे र घण्टौ बात मारेर बस्थे ।आजकल दीपिकाको मुहारमा पहिलेको जस्तो एक्लोपनाको बेचैनी देखिदैनथियो ।
एक रात दीपिकाले बिछौनामा पल्टेर मनमनै कल्पन थाली ‘एउटा डेरामा बसेर अभावै अभावको जिन्दगी बिताउनु पर्ने मैले त्यसमाथि पनि दीपेशको अति ब्यस्तताले न बाहिर घुम्न जान पाइने न रमाइलो नै गर्न पाइने । दीपेश दिनभरिको कामले थाकेर बेलुका छिटै सुत्छ । मेरा लुप्त इच्छाहरुको र अतृप्त चाहनाहरुको तिलाञ्जलिदिनु पर्ने मैले? ऐस्वर्याताले भरपुर माइतीघरमा स्वतन्त्र भएर उडेको मेरो जीवन अहिले डेराभित्र कैदी जीवन व्यतीत गरिरहेको छ।’ उसले हिमेशको पुष्ट शरीर, हँसिलो मुहार र विलासी जीवन सम्झी र दीपेशको जिन्दगीसँग तुलना गरी ।
उसलाई कता कता नरमाइलो, कता कता दिक्क लाग्न थाल्यो आफ्नो जिन्दगीसँग । अल्लारे बैँसमा दीपेशसँग सोचविचार नगरी जोडी बाँधेकोमा अहिले उसलाई पश्चाताप हुन थाल्यो ।दीपेशसँग घृणा लाग्न थाल्यो ।उ आफ्ना बाबुआमा सम्झेर भक्कानिदै रून थाली रातभर मनका नानाभॉतीका तरङ्गहरुले दीपिकालाई सुत्नै दिएनन् । ऊ बिहानी अबेरसम्म निदाइ ।उसको टाउको पनि बेजोडले दुखिरहेको थियो । उसले खाना पनि खाइन र दिनभरि सुतिरही । ‘भाउजू ! के गर्दै हुनुहुन्छ? सञ्चै छ हजुरलाई ?’ साँझमा हिमेशले दीपिकालाई फोन गर्यो ।
‘एकछिन आउनु न बाबु यता मलाई टाउको दुखिरहेको छ’ दीपिकाले रुञ्चे स्वरमा उत्तर दिई । आफ्नो अफिस बन्द गरेर हिमेश सिधै दीपिकाको कोठामा जान्छ । हिमेशलाई देखेपछि दीपिका आँखाभरी आँसु पारेर ऊ नजिकै गएर सोफामा गएर सँगै बस्छे र हिमेशलाई ग्वामलाङ्गै अँगालो मारेर भक्कानिदै रुन थाल्छे । हिमेश दीपिकाको अकल्पनीय र आकस्मिक व्यवहार देखेर विचलित हुन्छ । दीपिका हिमेशसँग झन झन टाँसिएर रुन्छे । सायद यो रोदन र व्यवहार दीपिकाको अतृप्त चाहना पुरा गर्ने अन्तस्करणको बोलावट थियो होला । जवान र अविवाहित हिमेश पनि बासनायुक्त नारीस्पर्शमा अनियन्त्रित बन्छ । हिमेशले दीपिकालाई बोकेर बिस्तरामा राख्छ र क्रमश दुवै आत्माहरू सशरीर एकाकार हुन्छन् । अब त दीपिका र हिमेशको प्रेमालापले सामजिक मान्यताको क्षितिज पनि नाघ्न थाल्यो । छिमेकीहरुले पनि कुरा काट्न थालिसके ।
दीपेश पनि तालिम सिध्याएर काठमाण्डू फर्कियो । आजकल दीपिकाको व्यवहारमा धेरै परिवर्तन आएको दीपेशले महशुस गर्न थालेको छ । दीपिका प्राय फेसबुक चलाइरहने र घरको छतमा एक्लै गएर कसैसँग मोबाइलमा कुरा गरिरहने गर्छे । दीपिका दीपेशसँग पहिलाको झैँ हाँसखेल पनि गर्दिन र कुरा चपाएर मात्र बोल्छे । एक दिन दीपिकालाई सारै पेट दुखेर दीपेशले आफ्नो साथी हिमेश सहित उसैको गाडीमा राखेर उपचारको लागि अस्पाताल लग्यो । अस्पतालमा दीपिकालाई जाँच गरेपछि ऊ गर्भवती भएको पत्ता लाग्यो । दीपेश छाँगाबाट खसे झैँ भयो । दीपेशलाई थाहा थियो कि उनीहरुबीच सुरक्षित शारीरिक सम्पर्क मात्रै भएको थियो ।
दीपेशलाई दीपिकाको बदलिएको व्यवहार र हाउभाउले दिक्क र चिन्तित बनाउँछ । दीपिका र हिमेशको आत्मीयता र उग्र चोचोमोचोले दीपेशलाई अनियन्त्रित बनाउदै गइरहेको उसलाई आभास हुन्छ । ऊ आजकल आफ्नो मानसिक पीडा कम गर्न मदिराको सहारा लिन थालेको छ । दीपेश आफ्नो अध्यापन पेशा र साङ्गीतिक दुनियाबाट पनि भाग्दै गइरहेको छ । उसलाई दीपिकाको पेटमा भएको नासो पनि आफ्नो रगत होइन भन्ने लाग्न थालेको छ ।आजकल किन हो कुन्नि आत्मीय साथी हिमेश पनि दीपेशबाट टाढिदै गएको छ ।उसले आफ्नो आर्थिक हैसियत,हिमेशको सामजिक र आर्थिक हैसियत र दीपिकाको लुप्त चाहनाबारे तुलना गर्यो । उसले आफूले आफैंलाई एउटा हारेको जुवाडे र सर्वहारा सुकुम्बासी समान पायो र अनियन्त्रित पारामा रक्सीको लतमा फँस्दै गयो ।
एक साँझ दीपेश एउटा रेस्टुरेण्टको कुनामा बसेर एक्लै रक्सी पिइरहेको थियो । यो रेस्टुरेण्ट उसको लागि चिरपरिचित थियो । धेरै पटक यो रेस्टुरेण्टमा दीपेश र दीपिका आइसकेका थिए। उसको मन तरङ्गित र बीचलित थियो । रेस्टुरेण्टको अर्को कुनाको साउण्डबक्समा रामेश —रायनको गीत ‘वर्गीय समाजमा वर्गीय प्रेम मात्रै न्यानो र चोखो हुन्छ’ बजिरहेको थियो । यो गीतको भावले उसलाई छोयो र आत्मपरिचय पनि दिलायो । नशाले चुर भएको अनियन्त्रित दीपेशका आँखाहरू रेस्टुरेण्टका अन्य टेबलहरुमा पर्नथाले । परको टेबलमा दीपिका र दीपेशपनि हाँस्दै र मस्किदै खाना खाइरहेका थिए । यो चोर प्रेमजोडीलाई दीपेश त्यहाँ भएको आभास पनि थिएन । यो दृश्यले दीपेशको मनको शङ्काको बादल फाटेर सत्यताको नीलो आकाश छर्लङ्ग देखियो ।
नशाले चुर दीपेशले अनियन्त्रित हुँदै गएर रक्सीको बोतलले हिमेशको टाउकोमा बजार्यो । दीपिका आतिएर डरले चिच्याउन थाली । छेउका मानिसहरुले दीपेशलाई दुवै हातमा समातेर नियन्त्रणमा लिए । त्यतिनै खेर हिमेश उठेर फुटेको रक्सीको बोतलले दीपेशको छातीमा प्रहार गर्यो । रक्ताम्मे दीपेश ढल्यो र बेहोश भयो । दीपेशलाई अस्पताल लागियो । अस्पतालमा चार दिन पछि दीपेशको निधन भयो । यता त्यो अकल्पनीय दृश्य देखेर दीपिका पनि बेहोश थिई जसलाई हिमेशले अस्पताल लगेको थियो र दीपिका ठिक भए पछि ऊ हिमेशकै घरमा गएकी थिई । हिमेश रेस्टुरेण्टमा झगडा गरेको कारण एकछिन पुलिस हिरासतमा बस्यो तर ऊ उसको धनदौलत र शक्तिको आडमा हिरासतबाट तुरुन्तै छुटिहाल्यो ।
लाश बुझ्न कोही पनि नआएपछि दीपेशको बेवारिसे लाशलाई अस्पताल नजिकैको आर्यघाटमा अस्पताल प्रशाशनले दाहसंस्कार गर्यो । जलिरहेको लाशबाट धुँवा चारैतिर फैलिरहेको थियो । आर्यघाट छेउको सडकमा मशानघाटबाट बहिरहेको धुँवाको पत्र चिर्दै हिमेश र दीपिका चढेको चिल्लो कार आर्यघाट नजिकैको प्रेमजोडी टहल्ने पार्र्कितर हुइकिदै थियो । बिवश धुवाँ मडारिदै आकाशतिर यात्रा गरिरहेको थियो र आगोको लप्कोसँगै चटचट पड्किरहेको दीपेशको लाशको क्रन्दनयुक्त आवाज हिमेशको चिल्लो कारको म्युजिक सिस्टमबाट निस्किएको पप गीतको उच्च ध्वनिको तरङ्गमा थिचिएर बिलाइरहेको थियो । अल्लारे बैंसालु जवानीको जोशमा होश गुमाएर दीपेशलाई अँगाल्न पुगेकी दीपिका,आफ्नो धरातल र वर्ग नजोखी जुन छुन खोज्ने दीपेश र स्वार्थ र धोकेबाजीको माला लगाएको साथीमारा हिमेशको समर्पण,प्रेम र धोकाको अशान्त त्रिवेणी रातको अन्धकारमा टिलपिल गर्दै रोइरहने ताराले आँखाभरी आँसु पार्दै हेरिरहेका थिए। मशानघाटबाट दीपेशको अशान्त आत्मा कालरात्रिमा धुँवा भएर सगरतिर लम्किरहेको थियो।