पश्चिम नवलपरासीको सुस्तामा भारतीय पक्षले अवरोध गरेपछि नदी किनारमा बनाउनुपर्ने तटबन्धन बाटो र खेत नजिकबाट निर्माण गरिएको छ । अवरोधकै कारण अन्य केही क्षेत्रमा अझै पनि तटबन्धन निर्माण हुन सकेको छैन ।
नारायणी नदी किनार हुँदै विगत पाँच वर्षअघिबाट सुस्तामा तटबन्धनको निर्माण कार्य सुरु भइरहेको छ । नदीबाट हुने क्षतिलाई कम गर्न तटबन्धन सुरु गरिएको हो ।
तटबन्धन कार्य नदी छेउको नेपालीहरुको पूर्जा रहेको स्थान ‘धनैया रेता’ भन्ने क्षेत्रबाट गर्नुपर्ने थियो । तर भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले बनाउन नदिएपछि बाटो र खेत नजिकैबाट तटबन्धन गरिएको सुस्तावासीको गुनासो छ ।
धनैया रेतालाई छाडेर नजिकैबाट तटबन्धन गरेका कारण सोही बहानामा उक्त जग्गा भारतीयहरुले आफ्नो भन्दै दाबी गर्न सक्ने संभावना पनि उत्तिकै बढेको छ ।
तर आफूहरुसँग यथेष्ट प्रमाण रहेकाले यस विषयमा सरकारले सोधखोज गर्नुपर्ने सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँको भनाइ छ ।
तटबन्धन नगरे नदीले खेती योग्य जमिन कटान गर्ने भएकाले तत्काललाई विवाद नगरी खेती जोगाउन धनैयाँको जमिन छाडेर तटबन्धन गरिएको सुस्तावासीको भनाइ छ ।
अहिलेसम्म करिब १० करोड लागतमा साढे दुई किलोमिटर तटबन्धन कार्य सकिएको छ । रकम अभावले अझ डेढ किलो मिटर तटबन्धन हुन सकेको छैन ।
पछिल्लो पटक सीमा नजिक रहेको नदी छेउको दक्षिण/पूर्वको सीमा भन्दा ६५ मिटर अघिबाट पनि भारतीयले तटबन्धन गर्न नदिएको स्थानीय रवीन्द्र जयसवालको भनाइ छ ।
सुस्ता गाउँपालिका–५ मा रहेको सुस्ता गाउँको कूल क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टर हो । जसमध्ये अहिलेसम्म १४ हजार हेक्टर भारतले अतिक्रमण गरिसकेको छ ।
१९ हजार ४ सय ८० हेक्टर क्षेत्रफलको जग्गासहितको जंगल, प्रति र चरन क्षेत्र कसैले पनि जोतभोग नगर्ने भन्दै २०६४ सालदेखि खाली छाडिएको छ ।
तीनतर्फबाट भारतको बिहारले घेरेको सुस्ता गाउँ नारायणी नदी पारीको पूर्वमा छ । धनैया रेताको माथिल्लो भागदेखि उत्तरतर्फ अस्थायी पिलरको रुपमा रहेको सिमलको रुखसम्म तटबन्धन गर्न बाँकी छ ।
जसका लागि सातदेखि आठ करोड रुपैयाँ बजेट आवश्यक रहेकोले तत्काल नेपाल सरकारले बजेट विनियोजन गरी तटबन्धन कार्य थालनी गर्न सुस्तावासीले माग गरेका छन् ।
रासस