आज बडा दशैंको सातौं दिन अर्थात फूलपाती । आश्विन शुक्ल सप्तमीका अवसरमा शनिबार देशभरका शक्तिपीठ र घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्रयाइएको छ । दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्रयाउने कार्य गरिन्छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज फूलपाती स्वरूप उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्रयाउने प्रचलन छ । नौ पातमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आहृवान गरेर पूजा पनि गरिन्छ । केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ । यिनिहरुलाई देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक मानिन्छ ।
सो दिन विशेषगरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानी आदिको समेत पूजा गर्ने प्रचलन छ । हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ । रासस