भूकम्पअघि चिनियाँहरुको लागि तातोपानी नाका महत्वपूर्ण थियो। साेही नाका भएर उनीहरू आवतजावत गर्ने गर्थे। सडकमार्फत आउने चिनियाँहरू दैनिक पाँच सयदेखि हजारसम्म हुन्थे।
भूकम्पपछि सुरक्षाको कारण देखाउँदै तातोपानी नाका बन्द भयो। केरुङ नाका खुल्यो। केरुङ नाका असुरक्षित छ भन्ने समाचार फैलिए जसले गर्दा अहिले दिनमा ६०–७० जना व्यापारी मात्रै सडकमार्फत आउजाउ गर्छन्। सरकारले पुनः ताताेपानी नाका सञ्चालनकाे तयारी अन्तिम चरणमा पुर्याएकाे छ। जुन नेपाली पर्यटनकाे लागि पनि एउटा खुसीकै खबर हाे।
अहिले नेपाल–चीन हवाइ कनेक्टिभिटी राम्रो हुँदै गएको छ। हिमालय एयरलाइन्सले पनि चीनका विभिन्न सहरमा उडान भर्दै आएको छ। अब नेपाल एयरलाइन्सले पनि ग्वान्झाउ उडानको तयारी गरेको छ। चिनियाँ हवाइजहाजहरुले चीनका विभिन्न सहरबाट काठमाडौं उडान भरिरहेका छन्। तर अरुको तुलनामा चीन–नेपाल उडान महंगो छ।
चीनबाट थाइल्यान्ड जान र आउन मात्र १ सय २० अमेरिकी डलर भएपुग्छ भने नेपाल आउनको लागि ७ सय अमेरिकी डलरसम्म भाडा लाग्छ। हवाइभाडा शुल्कमा चिनियाँ एयरलाइन्सहरुको एकलौटी छ। यसले गर्दा चिनियाँहरु नेपाल घुम्न महंगो भएको महशुस गर्छन्।
काठमाडौंको ट्राफिक जाम, धूलो र धूवाँले गर्दा हामीले चिनियाँ पर्यटकलाई खुसी बनाउन सकेका छैनौं। तर चिनियाँहरु नेपाल आए भने खुसी भएरै फर्किने गरेका छन्। नेपाल विकास हुँदै छ। यहाँका मानिसहरुको मुस्कान भरिएको अनुहार छ। उनीहरु नेपाल हिमाल वा लुम्बिनी हेर्न मात्र नभई नेपालको संस्कृति हेर्नका लागि समेत आउँछन्।
त्यसो त नेपाली आतिथ्य संस्कृति गजबको छ, सबैले मन पराउने एउटा पाटो यो पनि हो। यसर्थ चिनियाँले पनि नेपाली संस्कृति धेरै मन पराउने गरेका छन्। नेपालीहरुको सम्मान गर्ने बानी र अरुलाई सहयोग गर्ने संस्कारलाई चिनियाँहरुले बढी रुचाउने गरेका छन्। तत्काल पूर्वाधारको विकासले चिनियाँ पर्यटकलाई लोभ्याउन नसके पनि हाम्रो संस्कृतिले चिनियाँलाई आकर्षित गर्न सक्छौँ।
पहिला चिनियाँ पर्यटक नेपालमा आउँदा चिनियाँहरुकै होटल तथा रेस्टुरेन्टमा जान्थे। चिनियाँ पर्यटक बढ्दै जाँदा अरु होटल तथा रेस्टुरेन्टले सामान्य चिनियाँ भाषा बुझ्ने मान्छे राख्न थालेपछि अचेल उनीहरु जता पनि बस्छन्। अर्को नयाँ प्रविधिको कारण पनि एपले दोभाषेका काम गर्न थालेपछि उनीहरुलाई सजिलो भएको छ। चिनियाँहरुलाई सफा, द्रुतगतिकाे वाइफाइ भएको होटल, नुहाउनको लागि तातोपानी अनिवार्यजस्तै हुन्छ।
सन् २०१८ को तथ्याङ्कअनुसार १ लाख ३० हजार पर्यटक नेपाल आएका छन्। अहिले आइरहेका चिनियाँ पर्यटकको लागि गाइड धेरै नै छन्। गाइडहरुले काम पाइरहेका छैनन्। भ्रमणवर्ष २०२० को लागि ५ लाख चिनियाँ पर्यटक आए पनि समस्या नै त हुँदैन। तर सबै राम्रो चिनियाँ भाषा जानेका गाइड हुँदैनन्। अग्रेजी र चिनियाँ भाषा मिलाएर बोल्ने गाइड हुँदा समस्या हुँदैन।
भीभीआईपीको लागि चिनियाँ रेस्टुरेन्ट नेपालमा खासै छैनन्। भीभीआईपीले पाँचतारे सुविधासहितका गोप्य ठाउँ खोज्छन्। त्यस्तो सुविधा दिनसक्ने रेस्टुरेन्ट छैनन्। अहिले अर्को समस्या लामो समयदेखि गाइडको काम गरिरहेकाहरुसँग लाइसेन्स छैन। लाइसेन्स लिनको लागि स्नातक तह पास गर्नुपर्छ।
चिनियाँ भाषा जानेका गाइड छन् तर स्नातकको प्रमाणपत्र नहुँदा लाइसेन्स लिन पाएका छैनन्। भ्रमण वर्ष आउनै लागेकाले चिनियाँ भाषा जानेका गाइड स्नातक पास नगरे पनि एक प्रकारको लाइसेन्स दिनुपर्छ।
फ्रेस हुन चाहने पर्यटक धेरै आउँछन्
नेपाल घुम्न आउने पर्यटकमा उमेर समूहअनुसार रुचि फरक हुन्छ। युवा तथा देशविदेश घुमेकाहरु नेपालमा हाइकिङ, ट्रेकिङको अनुभव लिने सोच बनाएर आएका हुन्छन्। अर्काथरि पर्यटक त्यहाँ काम गरेर थाकेका हुन्छन्। उनीहरुको चाहना मर्सिडिज गाडीमा घुम्न खोज्ने, लक्जरियर्स होटल खोज्छन्।
यस्ता फ्रेस हुन आएका पर्यटकहरु चितवन जाने हात्ती चढ्ने, पोखरा जाने प्यारा ग्लाइडिङ गर्ने खालका हुन्छन्। यस्ता पर्यटकको संख्या धेरै छ। अर्का धार्मिक पर्यटक आउँछन्। काठमाडौंका गुम्बाहरुसहित स्वयम्भू, बौद्ध र लुम्बिनी जान्छन्। अरु ठाउँ जान खोज्दैनन्।
चीनमा नेपालबारे मार्केटिङ भएकै छैन
चिनियाँहरुको लागि नेपालमा फ्रि भिसा छ भन्ने धेरै चिनियाँहरुलाई थाहा नै छैन। सन् २०१६ देखि चिनियाँहरुलाई फ्रि दिएको भिसाबारे त्यहाँ मार्केटिङ हुनसकेको छैन। नेपालले चिनियाँलाई कस्तो सुविधा दिएको भन्न सक्नुपर्छ। चिनियाँ सोसल मिडियामार्फत मार्केटिङ गर्नुको विकल्प छैन।
चिनियाँहरुको लागि हाम्रो संस्कृतिलाई बढी प्रचार गर्नुपर्छ। जस्तो छेन्दुबाट काठमाडौं आउँदा फरक–फरक अनुहार भएका मान्छे, खाने कुराको फरक छ। हाम्रो विविधताको विषयमा चीनमा प्रचार गर्न सकियो भने चिनियाँहरु ओइरो लागेर आउँछन्।
केही समयअघि चिनियाँ कलाकार स्वि छिङ नेपाल घुमेर फर्किँदा नेपालबारे बनाएको भिडियोमा डेढ करोड बढी भ्युअर्स (दर्शक) छन्। यसले चिनियाँहरुलाई नेपालबारे केही थाहा भयो। त्यसअघि राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपाल छुट्टै देश रहेछ। सुरक्षाको लागि पनि कुनै समस्या छैन भन्ने सन्देश गएको छ। यस्ता कुराले चिनियाँहरुले नेपालबारे थाहा पाउन ठूलो सहयोग गरेको छ।
धूलो र धूवाँले दिक्क
लक्जरियर्स लाइफबाट धूवाँ, धूलो जाममा आउँदा उनीहरुलाई सहन गाह्रो हुने गरेको छ। नेपालीहरु पनि दुई वर्ष विदेश बसेर आउँदा त काठमाडौंको धूलो र धूवाँले दिक्क मान्छन् भने चिनियाँहरुले नमान्ने कुरै भएनन्। बाटो सानो भए पनि सफा भए हुन्थ्यो भन्ने चिनियाँहरुको चाहना हुने गर्छ।
उनीहरु छोटो दूरीमा हिँडेरै जान चाहन्छन् तर ट्राफिक जाम, धूलो, फोहोरको विषयमा गुनासो सुनाउने गरेका छन्। अर्को साना होटल तथा रेस्टुरेन्टले तातो र सफा पनि नराख्ने गरेको पनि गुनासो गर्छन्।
त्यसकारण यी समस्या समाधानमा हामीले विशेष जोड दिनुपर्छ। पर्यटक आउने किसिमको वातावरण तयार गर्न नेपाल पछि पर्नुहुँदैन।
लेखक आचार्य पर्यटन व्यवसायि हुन ।