यो रेडियो नेपाल हो, अब ध्रुव थापाबाट समाचार सुन्नुहोस् ।’
कुनैबेला रेडियो नेपालमा बिहान–बेलुका यो वाक्यमा गुञ्जिने ‘बोल्ड’ आवाज रेडियो नेपालको ‘ब्रान्ड’ नै बनेको थियो ।
सीमित सञ्चारमाध्यम भएको समयमा बिहान बेलुका मानिसहरू देश–विदेशका समाचार एवं सूचनाका लागि रेडियो नेपालमै निर्भर रहनु स्वाभाविक थियो । त्यसैले पनि बिहान ७ बजे, बेलुकी ७ बजे रेडियो नेपालको समाचार सुन्ने नेपालीको सङ्ख्या निकै हुन्थ्यो ।
मुख्य बुलेटिनका लागि समाचार लेखिएका पाना चेपेर जब समाचारवाचक रेडियो नेपालको स्टुडियोभित्र छिर्थे, त्यतिबेला लाखौं नेपालीहरू रेडियोमा कान थापिरहेका हुन्थे । समाचारपूर्वको धुन बजिसकेपछि समाचारवाचक बोल्न थाल्थे– ‘यो रेडियो नेपाल हो, अब…’
त्यसपछि समाचारवाचकले आफ्नो नाम भन्नु अघि नै धेरैजसो स्रोताले उनीहरूलाई चिनिसकेका हुन्थे । सबैजसो समाचारवाचकको आवाजसँग स्रोता परिचित हुन्थे । यिनैमध्ये एक हुन्– ध्रुव थापा । उनले रेडियो नेपालबाट अवकाश पाएको १२ वर्ष भइसके पनि कतिपयको मस्तिष्कमा उनको आवाजको तरङ्ग अझै गुन्जिरहेको छ ।
रेडियो नेपालमा आवेदन
उपसम्पादकका रूपमा रेडियो नेपालमा प्रवेश गरेका थापा त्यतिबेला २३ वर्षे ठिटो थिए । २०२६ सालमा रेडियो नेपालमा नेपाली भाषाका लागि दुई र अङ्ग्रेजी भाषाका लागि एक उपसम्पादक माग गर्दै विज्ञापन आह्वान गरिएको थियो । रेडियो नेपालको समाचार शाखामा लोक सेवामार्फत विज्ञापन आह्वान गरिएको त्यो नै पहिलो पटक भएको थापा बताउँछन् ।
उनले विज्ञापनअनुसार नेपाली भाषामा उपसम्पादकका लागि आवेदन दिए । तर यो क्षेत्र उनका लागि विल्कुल नौलो थियो । उनीसँग रेडियोमा सुन्नु र कहिलेकाहीँ गोरखापत्र हेर्नुबाहेक समाचारको खासै अनुभव थिएन । आवेदन दिइसकेपछि त्यसलाई औपचारिकतामा मात्र सीमित गर्नुभन्दा एउटा अवसरका रूपमा लिएर रेडियो नेपालको जागिरे बन्नु उनको सपना बन्न थाल्यो ।
त्यसपछि उनले सञ्चार क्षेत्रका अनुभवी मानिसहरूसँग सम्पर्क बढाए । उनले पहिलो सम्पर्क भैरव रिसालसँग गरे । रिसाल राष्ट्रिय समाचार समितिमा कार्यरत थिए । ‘त्यतिबेला उहाँ (भैरव रिसाल) कुपन्डोलमा बस्नु हुन्थ्यो,’ थापाले भने, ‘उहाँकै कोठामा पुगेर भेटेँ ।’
रिसालसँग लगातार सात दिनसम्म उनले रिपोर्टिङ, समाचार छनोट, लेखनशैली लगायतका आधारभूत ज्ञान लिए । त्यसपछि उनी रिसालकै सल्लाहमा गोपालप्रसाद भट्टराईलाई भेट्न गए । गोपालप्रसाद नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईका दाजु हुन्, जो त्यतिबेला गोरखापत्रमा कार्यरत थिए । त्यसैगरी केशवराज पिँडाली, रामचन्द्र न्यौपानेसँग समेत भेटेर उनले पत्रकारिताको ज्ञान लिए ।
*****
”थापालाई सानै उमेरदेखि उनका पिताले चण्डी पाठ गर्न लगाउने रहेछन् । दैनिक एक–दुई अध्याय चण्डी पाठ गर्ने थापाका लागि रेडियो नेपालको स्वर परीक्षामा चण्डी नै वाचन गर्न पाउनु ‘सुनमा सुगन्ध’ भइदियो । निर्धक्क भएर उनले चण्डी पढे । उक्त परीक्षामा उनले तेस्रो नम्बरमा नाम निकाले भने रेडियो नेपालमै काम गर्दै आएका अन्य दुई जना क्रमशः पहिलो र दोस्रो भएका थिए । त्यसपछि उनी लिखित परीक्षाको तयारीमा लागे ।”
*****
परीक्षामा ‘दुर्गा कवच चण्डी’ पढ्न लगाइयो
पत्रकारिताका हस्तीहरूसँग आधारभूत ज्ञान लिएर परीक्षाको तयारी गरेका थापा त्यतिबेला चकित भए, जब उनलाई स्वर परीक्षामा ‘दुर्गा कवच चण्डी’ पढ्न लगाइयो । लोक सेवाका प्रतिनिधिसमेत रहेको उक्त परीक्षामा उनलाई रेडियो नेपालकै उच्च अधिकारीका तर्फबाट दुर्गा कवच चण्डी पढ्न लगाइएको थियो । उनी भन्छन्, ‘मलाई दुर्गा कवच चण्डी पढ्न दिए, त्यो देखेर लोक सेवाकै प्रतिनिधि पनि छक्क परेका थिए ।’
पछि उनले बुझ्दै गए, उनलाई त्यतिबेला दुर्गा कवच चण्डी पढ्न दिइनुको कारण । ‘नेपाली भाषाको उपसम्पादकका लागि खुलेको विज्ञापनमा आवेदन दिएको, संस्कृत पढ्न लगाउँछन्, म पनि एकछिन त छक्क परेँ,’ थापाले भने, ‘क्षेत्रीको छोरो, संस्कृत पढ्न जान्दैन भनेर मलाई चण्डी पढ्न दिइएको थियो सायद ।’
थापाले फरर चण्डी पढ्दा सबै छक्क
स्वर परीक्षामा थापाले नबिराईकन फरर चण्डी पढे । ‘मैले भाका मिलाएर, नबिराईकन चण्डी पढेको देखेर सबै छक्क परे,’ उनले भने, ‘मलाई अप्ठेरोमा पार्न सोधिएको थियो होला, तर मलाई त्यो झन् सजिलो भइदियो ।’
थापालाई सानै उमेरदेखि उनका पिताले चण्डी पाठ गर्न लगाउने रहेछन् । दैनिक एक–दुई अध्याय चण्डी पाठ गर्ने थापाका लागि रेडियो नेपालको स्वर परीक्षामा चण्डी नै वाचन गर्न पाउनु ‘सुनमा सुगन्ध’ भइदियो । निर्धक्क भएर उनले चण्डी पढे । उक्त परीक्षामा उनले तेस्रो नम्बरमा नाम निकाले भने रेडियो नेपालमै काम गर्दै आएका अन्य दुई जना क्रमशः पहिलो र दोस्रो भएका थिए । त्यसपछि उनी लिखित परीक्षाको तयारीमा लागे ।
पास हुनुअघि नै जागिर
लिखित परीक्षाको नतिजा प्रकाशित नहुँदै उनले रेडियो नेपालमा काम पाइसकेका थिए । स्वर परीक्षामा उनको दमदार प्रस्तुति नै उनले पास हुनुअघि नै जागिर पाउनुको मुख्य कारण थियो ।
‘म केहीगरी फेल भएँ भने पनि मलाई करारमा लिने कुरा भइसकेको रहेछ,’ उनले भने, ‘त्यही भएर मलाई लिखितको नतिजा प्रकाशित हुनुअघि नै बोलाइयो ।’
नतिजा प्रकाशित हुँदा आफ्नो नाम नै देखेनन् थापाले
लिखित परीक्षाको नतिजा प्रकाशित भएको खबर सुनेर थापा हतार हतार सिंहदरबारस्थित लोक सेवा आयोगमा पुगे । सूचना पाटीमा लामो सूची टाँसिएको थियो ।
एकछिन त उनी पनि चकित भए । आवेदन माग गरिएको सिट सङ्ख्या ‘तीन’ तर नाम दर्जनौँ छन् । यीमध्येबाट पनि फेरि कुनै परीक्षामार्फत तीन जना छानिने होला भन्ने उनको मनमा प¥यो । प्रकाशित सूचीमा उनले आफ्नो नाम खोजे ।
सरर हेर्दा उनले आफ्नो नाम देखेनन् । फेरि दोहो-याएर माथिदेखि तलसम्म उनले एक–एक गरी हेरे । ‘अहँ, त्यो सूचीमा मेरो नामै रहेनछ,’ उनले भने, ‘फेल पो भएँछु भन्ने लागेर निराश भएँ, अब फर्कनु प¥यो भनेर यसो हिँड्न मात्र लागेको थिएँ, एक जना आएर मलाई बधाई दिनु भयो ।’
*****
” एउटा सामान्य मानिसको मृत्यु हुँदा पनि वरपरका मानिस जम्मा भएर दुःख मनाउने हाम्रो समाजमा राजाको वंश नै नाश हुने गरी त्यत्रो घटना हुँदा सरकारी सञ्चारमाध्यमले १७ घण्टासम्म समाचार दिन नसक्नु ‘विडम्बना’ भएको उनको भनाइ छ । रेडियो नेपालको समाचारको मूल स्रोत नै राष्ट्रिय समाचार समिति भएका कारण पनि राष्ट्रिय समाचार समितिले समाचार नदिएसम्म समाचार बनाउन नसकिने अवस्था त्यतिबेला रहेको थापा बताउँछन्।”
*****
त्यो बधाई आफूलाई जिस्क्याउन दिइएको उनले बुझे । ‘म त फेल भएँछु– मलाई बधाई दिने मान्छेलाई मैले भनेँ,’ थापाले अगाडि भने, ‘तपाईं पास हुनु भएको छ, यो सूची त फेल हुनेहरूको हो भनेर ती मान्छेले मलाई माथिल्लो तलामा लगे ।’
ती मानिस आयोगका कर्मचारी थिए, जसले थापालाई छोटो समयमै ख्याल गरिसकेका रहेछन् । उनले माथिल्लो तलामा रहेको सूचना पाटीमा टाँसिएको अर्को सूची देखाए, जसमा पास हुनेहरूको नाम थियो । नेपाली भाषामा दुई उपसम्पादक मागिएकोमा थापा मात्र पास भएका रहेछन् ।
दरबार हत्याकाण्ड पछिका १७ घण्टा
रेडियो नेपालको जागिरे जीवनमा थापालाई सबैभन्दा हीनताबोध भएको घटना ‘दरबार हत्याकाण्ड’पछिका १७ घण्टा हुन् । तत्कालीन राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको उक्त घटनाका बारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार प्रसारण तथा प्रकाशन गरिसकेका थिए । देशभित्रै र विदेशबाट पनि थापालाई रेडियो नेपालको समाचार प्रमुख भएको नाताले फोन आउँथ्यो– ‘दरबारमा के भएको हो ? राजारानीको अवस्था के छ ?’
थापा फोनमा सोधिएका प्रश्नको जवाफ दिन त सक्दैनथे, समाचार बनाएर प्रसारण गर्ने कुरा त परै जावस् । ‘चिनेजानेकै मान्छे, आफन्तहरूले समेत देश–विदेशबाट सोध्थे,’ उनले भने, ‘खै के हो के भनेर टार्थेँ म ।’
पत्रकारिताको जीवनमा त्यो नै आफ्ना लागि सबैभन्दा लाजमर्दो र बिर्सनलायक क्षण भएको उनको भनाइ छ । ‘रेडियो नेपालको समाचार प्रमुख थिएँ, देशभर जनता दरबारमा के भएको हो भन्ने सूचना खोजिरहेका थिए, हामी १७ घण्टासम्म त्यो विषयमा मौन रह्यौँ ।’
घटनाबारे थापाले राति नै जानकारी त पाइसकेका थिए, जानकारी पाएलगत्तै उनी राति दरबारको चक्कर लगाउन निस्किए । यता–उता डुले, उक्त घटनाबारे आधिकारिक रूपमा बोल्ने कोही फेला पार्न सकेनन् । झिसमिसे नहुँदै उनी रेडियो नेपाल पुगे । कतैबाट केही पत्तो पाउन सकेनन् । अनौपचारिक रूपमा उनले घटनाको जति गहिराइ बुझिसकेका थिए, औपचारिक रूपमा बोलिदिने, घटनाबारे जानकारी दिने उनले कोही फेला पारेनन् । दरबार, प्रधानमन्त्रीको कार्यालय, सञ्चार मन्त्रालय लगायत कोही बोल्न तयार नभएको उनको भनाइ थियो ।
‘कसैले घटनाबारे औपचारिक रूपमा जानकारी नदिएसम्म आफै जान्ने भएर यसो भएको हो भन्न मिलेन,’ आफ्नो बाध्यता सुनाउँदै थापाले भने, ‘१७ घण्टापछि मात्र त्यसबारे रेडियो नेपालले समाचार प्रसारण गरेको थियो ।’
*****
“पञ्चायतकाल र २०४६ सालको जनआन्दोलनपछि पनि दरबार, राजसंस्थाको लोकप्रियतामा आँच आउने, राजतन्त्र समाप्त भएका विश्वका घटना नेपालका सरकारी सञ्चारमाध्यमले समाचारको सूचीमा सकेसम्म राख्दैनथे । राखे पनि न्यून प्राथमिकता दिएको स्मरण गर्दै उनी भन्छन्, ‘अरू मुलुकमा राजा फालेका, राजतन्त्र हटेका समाचार रोकेकै भरमा के नेपालमा राजतन्त्र टिक्यो त ?”
*****
एउटा सामान्य मानिसको मृत्यु हुँदा पनि वरपरका मानिस जम्मा भएर दुःख मनाउने हाम्रो समाजमा राजाको वंश नै नाश हुने गरी त्यत्रो घटना हुँदा सरकारी सञ्चारमाध्यमले १७ घण्टासम्म समाचार दिन नसक्नु ‘विडम्बना’ भएको उनको भनाइ छ । रेडियो नेपालको समाचारको मूल स्रोत नै राष्ट्रिय समाचार समिति भएका कारण पनि राष्ट्रिय समाचार समितिले समाचार नदिएसम्म समाचार बनाउन नसकिने अवस्था त्यतिबेला रहेको थापा बताउँछन् ।
सूचनामा जनताको सहज पहुँच हुनुपर्ने उनले बताए । ‘लुकाएर वा लुकाउन खोजेर घटना लुक्ने होइन,’ उनले भने, ‘भएको कुरालाई सम्बन्धित निकायले समयमै यस्तो भएको हो भनेर भन्न सक्नुपर्छ ।’
समाचार लुकाउँदैमा राजतन्त्र टिक्यो र ?
पञ्चायतकालमा रेडियो नेपाल लगायत सरकारी सञ्चारमाध्यममा राजा, पञ्चायत, मन्त्रिपरिषद्, घटनाप्रधान गरी समाचारका प्राथमिकताक्रम तोकिएका हुन्थे । सरकारी सञ्चारमाध्यमले प्राथमिकताक्रम अनुसार समाचार चयन गर्नु पथ्र्यो ।
‘राजतन्त्रमा आँच आउने खालका समाचार नदिनू’ भन्ने विशेष निर्देशन हुने गरेको थापाको अनुभव छ । इरानका ‘शाह’ (राजा) अपदस्थ भए, अफगानिस्तानका राजालाई हटाइयो तर नेपालका सरकारी सञ्चारमाध्यमले ती समाचार थाहा नपाएर होइन, त्यही ‘विशेष निर्देशन’का कारण समयमै प्रसारण गरेका थिएनन् ।
‘नेपालको राजसंस्था वा राजपरिवारको मात्र नभएर विश्वको जुनसुकै मुलुकका राजा–रजौटाको भए पनि नराम्रो समाचार प्रसारण गर्नु हुँदैनथ्यो,’ उनले भने, ‘समाचार दिइहाल्नुपर्ने स्थिति आएको खण्डमा न्यून प्राथमिकताका साथ घटनालाई न्यूनीकरण गरेर प्रस्तुत गर्नुपर्ने अवस्था हुन्थ्यो ।’ पञ्चायतकाल र २०४६ सालको जनआन्दोलनपछि पनि दरबार, राजसंस्थाको लोकप्रियतामा आँच आउने, राजतन्त्र समाप्त भएका विश्वका घटना नेपालका सरकारी सञ्चारमाध्यमले समाचारको सूचीमा सकेसम्म राख्दैनथे । राखे पनि न्यून प्राथमिकता दिएको स्मरण गर्दै उनी भन्छन्, ‘अरू मुलुकमा राजा फालेका, राजतन्त्र हटेका समाचार रोकेकै भरमा के नेपालमा राजतन्त्र टिक्यो त ?’
पञ्चायतकालमा पञ्चायती शासन व्यवस्थाको गुणगान गाउनुपर्ने अवस्था रहेको उनी सुनाउँछन् । राजाले ‘पञ्चायती व्यवस्थान नै निर्विकल्प शासन व्यवस्था हो’ भनेर देशवासीका नाममा सम्बोधन गरेपछि वर्षौंसम्म मन्त्रीहरूले हरेक कार्यक्रममा त्यही रटान लगाउने र सधैँजसो कुनै न कुनै मन्त्रीले त्यही रटान दोहोर्याउने गरेको स्मरण पनि उनले गरे । ‘हामीलाई नै वाक्क लाग्थ्यो, तर पनि त्यही कुरालाई बारम्बार समाचार बनाइरहनु पथ्र्यो,’ उनले भने ।
आफू रेडियो नेपालको समाचार प्रमुख भएपछि दरबारलाई हेर्ने उनको दृष्टिकोणमा केही परिवर्तन आयो । ‘दरबारबाट यस्तो निर्देशन आएको छ’ भनेर बारम्बार उनले हाकिमहरूबाट सुन्ने गरेका थिए तर आफू समाचार प्रमुख भएपछि भने उनले दरबारबाट त्यस्तो निर्देशन कहिल्यै सुनेनन् । ‘सायद दरबारलाई खुसी पार्न भनेर हाकिमहरू नै आफै जान्ने भएका पो थिए कि !’ उनले भने, ‘मलाई चाहिँ दरबारबाट त्यस्तो निर्देशन कहिल्यै आएन ।’
समाचारलाई जति रोक्यो, जनतालाई सूचनाबाट जति वञ्चित गर्न खोज्यो, जति भ्रममा पार्न खोज्यो, त्यसले त्यति नै भयावह रूप धारण गर्ने उनको बुझाइ छ । विश्वसनीयता भङ्ग भएपछि सञ्चारमाध्यमको समेत अर्थ नरहने प्रष्ट पार्दै उनले भने, ‘खुला समाजमा तपाईं एकातिर लुकाउन खोज्नुहोस्, अर्कोतिरबाट अर्कोले बाहिर ल्याइसक्छ, त्यसैले समाचारमा ढाकछोप गर्नुको अर्थ हुँदैन ।’
उतिबेलाको सरकारी सञ्चारमाध्यम र अहिलेको सरकारी सञ्चारमाध्यमको अवस्थामा निकै भिन्नता आइसकेको थापा बताउँछन् । ‘अहिले सरकार, सत्तारुढ दल, शासनसत्ताका प्रभावशाली व्यक्तित्वहरूका बारेमा पनि उनीहरूले खराब काम गरेका रहेछन् भने समाचार बन्ने गरेको छ,’ उनले भने, ‘अचेल रेडियो नेपालमै पनि त्यस्ता समाचार बजेको मैले सुनेको छु ।’
सञ्चारमाध्यममको सङ्ख्या बढेसँगै सूचनामा जनताको पहुँच पनि बढेको र लुकाउन खोजेकै भरमा समाचार लुक्ने अवस्था नरहेको उनको बुझाइ छ ।
रतोपाटीबाट साभार