आज शिवरात्री : शिवालयहरुमा दर्शनार्थीको भीड

हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । दर्शनार्थीहरूको पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा विहानैदेखि घुइँचो छ ।

शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।

सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइने प्रचलन छ । व्रतमा सर्वाेत्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको पि्रय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ ।

पशुपतिनाथमा दर्शन गर्न हरेका वर्ष भारत लगायतका देशहरुबाट सयौंको संख्यामा भक्तजनहरु आउने गरेका छन् । यस्तै, केदारनाथको शिरको रुपमा पुजिने भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको घुइँचो लागेको छ ।

डोलेश्वरमा मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि बिहान ४ बजेदेखि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुल्ला गरिएको छ । अरू दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि शिवरात्रीको दिन भने दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर आफैले पूजा एवम् दर्शन गर्ने व्यवस्था मिलाइएको छ । रासस


ताजा खबर