वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।
मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुआत भएको मानिन्छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ ।
अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । त्यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।
जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुने धार्मिक विश्वास छ ।
यस अवसरमा निराहार ब्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने विश्वास गरिन्छ । भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ ।
वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो । गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने भएकाले शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सक्खर र चिनीमा बनाइएको शीतल सर्बत र पुष्टिवर्धक अन्न जौको सातुको प्रयोगमा अक्षय तृतीया पर्वले जोड दिएको छ ।
किन रोजियो जौ र सर्वत ?
जौ र सर्वत रोज्नुको पनि विशेष महत्व रहेको बताइन्छ । इतिहासकारहरूका अनुसार यो पर्व वैदिक काल(१५ सय इसापूर्वदेखि १००० इसापूर्वसम्म) र महाकाव्य(नौ सय इसापूर्व) कालदेखि नै चलेको पाइन्छ । सो समयमा जौ नेपाल लगायत भारत वर्षमा सबभन्दा मुख्य उब्जाउ हुने खेती थियो ।
त्यतिबेला नै विभिन्न यज्ञ यज्ञादि कर्महरूमा समेत धेरै उपलब्ध हुने हिसाबले जौको प्रयोग हुन थाल्यो । सकयक्रमसँगै बिस्तारै जौको उत्पादन कम हुन थाल्यो । त्यसपछि पुरानो परम्परा जोगाउनको लागि मात्रै भएपनि यसलाई एउटा पवित्र अन्नको रुपमा मान्न थालियो । जुन परम्परा अहिलेसम्म चल्दै आएको इतिहासकारहरूको मत छ ।
अक्षय तृतीयाको पौराणिक मत
अक्षय तृतीयाको पौराणिक इतिहास महाभारत कालदेखिकै पाइन्छ । जब पाण्डवहरु १२ वर्ष निर्वासनमा थिए, एक दुर्वासा ऋषि उनीहरूको कुटीमा आए । उनीहरूको कुटीमा आएका उनलाई द्रौपदीले भक्तिपूर्वक सत्कार गरिन् । जे छ त्यही खान दिइन् । यही सत्कारबाट खुसी भएका दुर्वासाले द्रौपदीलाई एउटा अक्षय भाँडा प्रदान गरिन् ।
भाँडा दिँदै दुर्वासाले द्रौपदीलाई अक्षय तृतीयाको महत्वको बारेमा समेत बताएर गएका थिए । यस दिन पृथ्वीमा जो कोहीले विष्णुलाई विधि विधानले पूजा गर्छ वा चना, सातु, मौसमी फल, कपडा र पानीले भरिएको घडा दान गर्छ उनको घरको भण्डार सधैं पूर्ण रहनेछ । त्यही कथाको आधारमा यो पर्वको महत्व बढ्न गएको हो । रासस