प्रधानमन्त्रीद्वारा प्रस्तुत विश्वासको मतको प्रस्ताव अस्वीकृत

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राख्नुभएको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

प्रधानमन्त्री प्रचण्डले राख्नुभएको प्रस्तावको पक्षमा ६३ मत पर्‍यो भने विपक्षमा १ सय ९४ मत पर्‍यो ।

प्रतिनिधिसभामा मत विभाजनको नतिजा घोषणा गर्नुहुँदै सभामुख देवराज घिमिरेले आजको बैठकमा २ सय ५८ जना सांसदको उपस्थिति रहेको र १ मत तटस्थ अर्थात् कतै पनि मत दिन्न भन्नेमा परेको बताउनुभयो ।

यसअघि, प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनमा कुनै सम्झौता नगर्ने आफ्नो अठोटका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले विश्वविद्यालयमा योग्यता प्रणालीमार्फत नेतृत्व चयन गर्ने, जनतालाई सुशासनको अनुभूति गराउने, जनतामा जागेको असन्तोषलाई सम्बोधन गर्ने प्रयास गरेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सहमति विपरीत संविधान संशोधनका नाममा राष्ट्रलाई  द्वन्द्वतिर नलैजान आग्रह गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले संविधानसभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचारविमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गर्नुहुँदै राष्ट्रिय सहमतिको पहलकदमी दिनकै उज्यालोमा हुनुपर्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादकत्व वृद्धि, रोजगारी सृजना, सुशासन प्रवद्र्धन र सार्वजनिक सेवा प्रवाहमा सुधारमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय हितको रक्षालगायत सबै जिम्मेवारीमा सरकार आम जनताले देखिने र बुझिने गरी राम्रो अङ्कका साथ उत्तीर्ण भएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन जटिल र संवेदनशील विषय भएकाले सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले समावेशीतालाई खारेज गर्ने मनशायले नयाँ गठबन्धन बनेको भन्दै जनताको स्वीकार्यता र राष्ट्रियसभाको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रलाई किनारा लगाएर सम्भव नहुने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दल मिलेर सरकार नबन्ने भन्दै यस्तो गठबन्धनले निरङ्कुशता र  लोकतन्त्रलाई कमजोर बनाउने बताउनुभयो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार सञ्चालन गर्न आफूलाई कुनै रुचि नभएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले देश बाढीपहिराेको चपेटामा परेकाले सरकार चौबिसै घण्टा उद्धार र राहतका काममा लागिरहेका बेला सरकारलाई प्रभावहीन बनाउन प्रयास भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले  नेकपा (एमाले)ले विश्वासको मत फिर्ता लिएपछि दीर्घकालीन असरका निर्णय र कुनै पनि नियुक्ति नगरिएको स्पष्ट पार्नुभयो ।

छलफलमा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले विश्वासको मतको अस्थिरता हटाउन र मुलुकमा आर्थिक स्थायित्व कायम गर्न प्रमुख दलहरू एक ठाउँमा उभिएको बताउनुभयो ।

प्रमुख सचेतक लेखकले मुलुकमा लोकतन्त्र स्थापना र संविधान निर्माणमा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै परिवर्तन र लोकतन्त्रलाई संस्थागत गर्ने विषयमा काँग्रेस सधैँ दृढ रहेको बताउनुभयो ।

प्रमुख सचेतक लेखकले संविधानको समयानुकूल संशोधन संवैधानिक सर्वोच्चताको उपज भएको भन्दै समावेशीता र लोकतन्त्रलाई कमजोर पार्ने नभई थप समृद्ध तुल्याउने बताउनुभयो ।

छलफलमा नेकपा एमाले सचिव एवं सांसद योगेशकुमार भट्टराईले देशलाई अग्रगमनमा लैजान आफूहरूले संविधान संशोधनको कुरा उठाएको बताउनुभयो ।
सांसद भट्टराईले नेकपा माओवादीको सहभागितासहित संविधान संशोधन गर्न चाहेको बताउनुभयो ।

सांसद भट्टराईले  जनताको असन्तुष्टि सम्बोधन गरी मुलुकमा राजनीतिक र आर्थिक स्थायित्व कायम गर्न दुई ठूला दल एक ठाउँमा आएको बताउनुभयो ।

यसअघि, बैठकमा सांसदहरुले बाढीपहिरोका कारण देशका विभिन्न भू–भागमा भएको जनधनको क्षतिप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद्हरुले आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै ६० जना यात्री बेपत्ता भएको भन्दै बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले जोखिमयुक्त ठाउँका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, बाढी पहिरोबाट पीडित नागरिकलाई उचित राहत, उद्धार  र क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक असार ३० गते आइतबार दिनको ३:०० बजे बस्ने छ । रासस


ताजा खबर