यो मौसममा बालबालिकाको हेरचाह कसरी गर्ने ?

बर्षा, झरी र चिसोमा बालबालिकामा धेरै समस्या देखिने चिकित्सक बताउँछन्।  यो मौसममा बालबालिकालाई बढी सताउने समस्या भनेको मौसमी रुघाखोकी हो। नाकबाट पानी बग्ने समस्या बालबालिकामा यो मौसममा धेरै देखिने गरेको छ। रुघा लागेको बेलामा मानिसको मन पनि एकाग्र हुँदैन।  रुघाखोकी भाइरसको कारणले लाग्छ भनिएता पनि अरू कारणले पनि आउने चिकित्सक बताउँछन्। बालबालिकामा मौसमी रुघा-खोकीको समयमा उपचार नगर्दा निमोनिया समेत हुनसक्छ। यो मौसममा बालबालिका र नवजात शिशुको कसरी हेरचाह गर्ने त ? प्रस्तुत छ यसै विषयमा आधारित रहेर वरिष्ठ वालरोग विशेषज्ञ डा. रिता सिंहसँग गरिएको सफल कुराकानीको सम्पादित अंशः

चिसोमा बालबालिकालाई बढी सताउने स्वास्थ्य समस्या के हुन् ?
चिसोमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले बालबालिकालाई नाकबाट पानी बग्ने, रुघाखोकी र झाडापखालाको समस्याले धेरै सताउने गर्छ। जाडो बढेसँगै बालबालिका मात्र होइन अरूमा पनि धेरै समस्या देखा पर्छन्। विशेषतः बालबालिकामा अरू समयमा भन्दा चिसोमा धेरै समस्या देखा पर्दछन्। धेरै चिसोमा बच्चालाई नुहाउँदा पनि चिसो लाग्छ। चिसो लागेपछि नाकबाट पानी बग्ने समस्या झन् धेरै हुन्छ। दमको बच्चालाई चिसोले दुःख दिन्छ। चिसो हुँदा सास फेर्न गाह्रो हुने हुन्छ।

कस्तो बच्चामा रुघाखोकी बढी लाग्ने हो ?
रुघाखोकी प्राय सबै बच्चामा हुन्छ। विशेष गरेर स्कुल जाने साना बच्चामा यो समस्या एकबाट अरूमा पनि सर्नसक्छ। त्यसमा पनि अभिभावकले विशेष ध्यान दिनुपर्छ। साथै बालबालिकालाई न्यानो बनाएर राख्यो भने यो समस्या निको हुन्छ।
यस्तो समस्या हुँदा घरमा के गर्न सकिन्छ ?
बालबालिकामा साधारण ज्वरो रुघाखोकी लाग्यो भने साधारण तापक्रममा राख्ने गर्नुपर्छ। मनतातो पानी, सुप, बेसार पानी खुवाउने, नाक थुनियो भने तोरीको तेलले सफा गर्ने गर्नुपर्छ। नुन पानी राखेर नाक सफा गर्ने गर्नुपर्छ। न्यानो कपडा लगाइदिने गर्दा अस्पताल आउनु पर्दैन।

धेरैमा तीन दिन भन्दा बढी ज्वरो आयो भने अस्पताल नै जानु पर्दछ। नेपालमा धेरै ज्वरो नआएसम्म अस्पताल जाने चलन छैन। मेडिकल गएर आफै रुघाखोकी लाग्यो भनेर औषधि किनेर धेरैले खाने गर्नुहुन्छ। मेडिकलमा गयो भने औषधि सजिलै किन्न पाइन्छ। तर, त्यसले धेरै फाइदा गर्दैन। त्यसैले त्यो औषधि नखुवाएको नै राम्रो हो। घरेलु औषधिले भएन भने सम्बन्धित डाक्टरकोमा गएर जाँच गरेर मात्र औषधि खानुपर्छ।

यो मौसममा बालबालिकाको हेरचाह कसरी गर्ने ?
स्कुल जान नसक्ने बालबालिकालाई प्रशस्त मात्रामा आमाको दूध खुवाउने गर्नुपर्छ। मनतातो बनाएर पानी खुवाउने, फलफूलहरू र जुस पनि मनतातो पानीमा डुबाएर खुवाउनुपर्छ। अरु रुघाखोकी लागेका मान्छेहरूले उनीहरूलाई छुनु हुँदैन। स्कुल जाने बच्चामा ज्वरो रुघाखोकी लाग्यो भने उनीहरूलाई स्कुलमा पठाउनु हुँदैन। स्कुलमा पठाएको बच्चाले समयमा खाना खायो कि छैन ? कसरी खाएको छ भन्ने कुरामा ध्यान दिनुपर्छ ? स्कुलबाट फर्केपछि उसलाई हल्का मनतातो पानीले पुछेर न्यानो कपडा लगाउने गर्दा बच्चालाई यो चिसोबाट बचाउन सकिन्छ।

स्कुलमा शिक्षकले पनि बच्चाको स्वास्थ्य कस्तो छ। त्यसमा ध्यान दिनुपर्छ। किनभने अभिभावकलाई स्कुलमा बच्चा पठाएपछि अब यति घण्टाको लागि ढुक्क भयो अब काममा जान्छु भन्ने हुन्छ। त्यसैले रोगी बच्चालाई छुट्टै राख्यो भने यो रुघाखोकी धेरै सर्दैन। रुघाखोकीमा सकेसम्म घरेलु उपचारमा ध्यान दिने र सामान्य तापक्रममा राख्ने गर्नुपर्छ। त्यो गर्दा पनि रुघा लाग्ने समस्या कम हुन्छ। ज्वरो आयो भने चाहिँ चिकित्सकको सल्लाहमा औषधि चलाउने गर्नुपर्छ।

चिसोमा नवजात शिशुको कसरी हेरचाह गर्ने ?
कोठामा २६ डिग्री तापक्रममा राख्ने, आगोमा भन्दा पनि हिटरको तातोमा तेल लगाउने गर्नुपर्छ। रुघाखोकी लागेको मान्छे आएर त्यो बच्चालाई नछोइदिने हो भने बच्चा स्वस्थ हुन्छ।

वरिष्ठ वालरोग विशेषज्ञ डा. सिंह काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत हुनुहुन्छ ।


ताजा खबर