यो तिजको सबैलाई शुभकामना

शोभा पाण्डेय/ सिलवाल

सुन्नुहोला दिदी बहिनी ,सुन्नुहोला दाजुभाइ
यो तिजमा अभिवादन, गर्छु  सबैलाई ।
वर्षैैपिच्छे आउने तिज, अहिले पनि आको छ
दुईचार कुरा भन्न मन ,मलाई लाको छ ।
दुई हजार एकासी ,कस्तो साल आएछ?
विनाश र विकृति ,यसले ल्याएछ।
असारको अठ्ठाइस गते, समय थ्यो बिहान
दुइटा बसका यात्रु भए ,एउटै चिहान ।
यसै वर्ष सौर्य विमान ,दुर्घटना भएको
क्याप्टेन बाहेक सबैको, ज्यान गएको ।
ठाउँठाउँमा बाढीपहिरो , जताततै  गएको
किन होला नेपालमा, यस्तो भएको ?
कतिको त पहिरोले, उठीबास भएको
सरकारको नजर यता, किन नगाको ?
सरकारमा बस्नेलाई छैन,  चिन्ता जनताको
हाम्रो पीडा नबुझ्ने ,यिनलाई के भाको?
जनतालाई बढाएर ,महँगी र करको भार
नेताहरू चढी हिँड्छन् , चिल्लाचिल्ला कार ।
शिक्षा ,स्वास्थ्य ,रोजगार सब देऊ सरकार
हैन भने राजिनाम् देऊ, अहिले भर्खर ।
जे जस्तो भए पनि ,मनाउनै पर्ने चाड
तडकभडक नगरी, मनाऊँ बरिलै ।
नौलो आयो प्रविधि ,नौलो आयो जमना
यो तिजको सबैलाई, शुभकामना ।

ताजा खबर