रवि र सुगमले तयार गरेको दशैं-तिहार गीतको सफलताको कथा

वर्षमा दिनमा लैलै, हर्षका दिन यी लैलै
दसैं–तिहार चाड र बाड, खुसीले सारा भर्‍यो नि संसार…

चाडबाडले ल्याउने उमंग, हर्षोल्लास । अनि घरगाउँको सम्झना ! त्यही चाडसँगै आउने प्रियजनको सम्झनाका चाङ ! चाडमा आफ्नाहरूका लागि गरिएको पर्खाइ अनि त्यही पर्खनेहरूलाई परदेशमा सम्झिबस्नेहरूको पीडा !

चाडबाडको यस्तै हाँसो र रोदन, पर्खाइ अनि सम्झना समेटेकै कारण होला, गायक सुगम पोखरेलको ‘दसैं/तिहार’ बोलको गीत पछिल्लो १० वर्षयताको दसैं ‘एन्थम’ नै बनेको छ । एकातिर दसैंले ल्याउने खुसी, जमघट, हाँसो अर्कोतिर दसैंसँगै आउने पीडा, रोदन अनि सम्झना । एउटै गीतले दसैं र तिहारमा नेपालीहरूले अनुभूति गर्ने फरक–फरक भावना, आवेग–संवेग बोक्छ । त्यसैले दसैं आउनुअघि नै सुगमको यो गीत आउँछ, घर–घरमा बज्छ, घर/परिवारदेखि टाढा अमेरिका, युरोपदेखि अरबका खाडीहरू जताततै गुन्जन थाल्छ । देशभित्र त भयो नै, ‘दसैं/तिहार’ गीतलाई डायस्पोरामा अझ बढी आत्मसात् गरिन्छ । यो गीत नबजे वा नसुने त दसैं आएको महसुस नै नहुनेजस्तो भइसक्यो ।

गीतका सर्जक सुगमलाई पनि ‘दसैं/तिहार’ बजेपछि मात्रै दसैं आएको महसुस हुँदोरहेछ । यस पटक १५–२० दिनअघि कुनै डिपार्टमेन्टल स्टोरमा पुग्दा त्यहाँ यो गीत बजिरहेको उनले सुने । सुगमलाई लाग्यो, ‘ए ! अब त दसैं पो आउन लाग्यो ।’ ३ करोड ३८ लाखभन्दा बढी पटक युट्युबमा हेरिसकिएको यस गीतको ‘कमेन्ट बक्स’ मा पनि रोचक टिप्पणी भेटिन्छन् ।

२०७५ वैशाख २९ मा युट्युबमा अपलोड गरिएको यस गीतको म्युजिक भिडियोमा अहिलेसम्म झन्डै साढे ११ हजार कमेन्ट्स आएका छन् । कतिपय कमेन्ट्समा नै ‘दसैं आउन यति दिन बाँकी’ भन्दै ‘काउन्ट डाउन’ चलाइरहेको हुन्छ । मानौं, यो गीतबिना दसैं आउने दिनको गन्ती नै अधुरो भइजान्छ । सुगमलाई गीत मात्रै होइन यही गीतसँगै आउने ‘मिम’ हरूले पनि दसैं आएको अनुभव दिलाउँछ । ‘यो गीतमा खासमा उपस्थिति जनाउन पनि आइपुग्छन् । २०१४ को दसैं छेकोमा कमेन्ट गरेकाहरू अहिलेको दसैंमा फेरि कमेन्ट गर्न आइपुग्छन् । दसैं भन्नेबित्तिकै नयाँ लुगा लगाउने, मासुभात खाने बुझिएजस्तै यो गीतले पनि दसैंमा आफ्नै ट्रेन्ड बनाइसकेछ,’ सुगमले भने ।

‘दसैं–तिहार’ गीत जन्मनुको कारणबारे गायक सुगमसँग रोचक अनुभूति छ । सन् २००८ तिर सांगीतिक कार्यक्रम लिएर अमेरिका पुगेका उनी दसैं/तिहारमा घर फिर्न पाएनन् । चाडपर्वमा घरपरिवारबाट टाढा भएर विदेशमा नै मनाउनुपर्दा उनलाई नमिठो अनुभूति भइदियो । उनले त्यस क्षण देशलाई सम्झे, परिवार सम्झे । छोरी भर्खरै बामे सर्दै थिइन्, उनलाई ‘मिस’ गरे । विराटनगरको रंगेलीमा रहेको घरमा बिताएका बाल्यकालीन दसैं–तिहारको रमाइलो सम्झे । हुन त त्यो नै उनको दसैं–तिहारमा घरदेखि टाढा हुनुपरेको क्षण थिएन, त्यसअघि पनि दसैं–तिहारमा विदेश पुगेर कार्यक्रम गरिरहेकै थिए । तर, त्यतिबेलाको अनुभूतिले बेग्लै गरी सुगमलाई चिमोटिदियो । त्यही भावमा शब्द जन्मिए, ‘वर्षमा दिनमा लैलै, हर्षका दिन यी लैलै ।’ त्यसपछिका पंक्ति भने फुर्दै फुरेनन्, उनलाई ।

पूर्वेली भाकामा ‘लाला’ शब्द घुसाएर गीतको पहिलो हरफ गुनगुनाए, मेलोडी बन्यो । तर, गीत अधुरै थियो । उनले गीतलाई दसैंसँग मात्रै सम्बन्धित बनाएनन्, तिहार पनि जोडिदिए । विदेशको कार्यक्रम सकेर नेपाल फर्कनेबित्तिकै उनले सञ्चारकर्मी साथी रवि श्रेष्ठसँग मिलेर गीतका शब्द पूरा गरे । ‘रविले एकै दिनमा गीत लेखेर दियो । मेरो अनुभव ठ्याक्कै शब्दमा उतारिदिएको थियो । मैले तिहारको पनि जोडौं भनेर एक लाइन लेखेको थिएँ । उसले त्यसमा थपिदिएको रहेछ । उसको शब्दलाई चलाउनै परेन,’ सुगमले भने, ‘मैले अलिकति सुरु गरेको थिएँ, उसले पूरा गरिदियो । उसले गीत लेखेर दिएको कागज अहिलेसम्म पनि मसँग सुरक्षित छ ।’

गीतका शब्द कुँदिएपछि सुगमले विवश पौडेललाई एरेन्ज गर्न दिए । त्यसको केही समयपछि गीत रेकर्ड गरे । तर, सार्वजनिक गरिसकेका थिएनन् । सन् २०१० तिर युट्युबमा यो गीत सार्वजनिक गरे । त्यो बेला युट्युबका कन्टेन्ट अहिलेको ‘वाईफाई जोन’ मा जस्तो हेर्ने अभ्यास नै थिएन । गीतको भ्युज त्यो बेला युट्युबमा खासै गएन पनि । तर पछिल्ला वर्ष आम दर्शकमा जब युट्युब ‘फ्रेन्ड्ली’ हुँदै जान थाल्यो, ‘दसैं–तिहार’ गीतले आफ्नो रौनक देखाउँदै आइरहेको छ ।

सुगमले पनि सुरुवातमा खासै ‘पिकअप’ नलिएको यो गीतले यसरी अचानक उधुम मच्चाउँदै जाला भनेर चिताएका पनि थिएनन् । ‘विदेश जाँदा आफैंले गरेको अनुभवमा इमान्दार भएर काम गरियो, फरक चाडबाडमा हाम्रो सोहरू विदेशमा भइरहेको हुन्छ । त्यहाँ पनि छुट्टै तरिकाको रमाइलो त हुन्छ । तर दसैंमा आफू जन्मिएको गाउँठाउँ, परिवारबीच हुन पाउनु नै मज्जाको कुरा रहेछ । त्यसैले मलाई यसमाथि एउटा गीत त चाहिन्छ भन्ने लाग्यो,’ सुगमले भने, ‘गीतबाट त्यस्तो धेरै केही अपेक्षा थिएन । केवल मैले आफ्ना निजी अनुभूति पोख्न चाहेको थिएँ ।’

सन् २०१४ पछि ४ वर्षसम्म कसैको ‘नोटिस’ मा नपरेको यो गीत एकाएक ‘भाइरल’ भयो । अहिले पनि त्यो दिन सम्झँदा सुगम छक्क पर्छन् । ‘यसरी चर्चा होला भनेर अपेक्षा गरेकै थिइनँ । पछि आएर के लाग्यो भने, मैले मेरो अधिकांश एल्बम दक्षिणकालीमा गएर रिलिज गरेको छु । अरु एल्बम पनि दसैंकै वरपरमा रिलिज गरियो । सायद यो गीत मेरा लागि देवीको प्रसाद हो,’ उनले भने, ‘खासमा मैले यो गीतमा मेरो मनको वह पोखेको थिएँ । यो गीत सच्चा मनले बनाएको गीत हो ।’

यो गीत लेखिरहँदा सुगम लोकसंगीत अध्ययन गरिरहेका थिए । हजुरआमादेखि नातिनातिना समेट्ने गीत सोच्दै हाकपारे समातेर समलामा गीत निकाले । ‘दसैं–तिहार’ अत्याधिक दर्शकमाझ नपुग्दै यो गीत यस्ता दर्शकले मन पराएका थिए, जसको प्रतिक्रिया अहिले पनि सुगम सम्झन्छन् । ‘ताप्लेजुङ हो वा सोलुखुम्बु, कताबाट यो गीतलाई राम्रो लाग्यो भन्दै एक जना आर्मी रुनुभएको थियो । उहाँ यो गीतको सुरुवाती दर्शक हुनुहुन्छ,’ सुगमले १० वर्षअघिको समय सम्झे । ती सैनिकले दसैंमा घर जान नपाएको पीडा सुगमसामु राखे ।

त्यतिबेला सुगमलाई लाग्यो– गीतले यसरी चाडमा घरपरिवारकहाँ फर्कन नपाउने र विदेशमा रहेका नेपालीलाई पनि छुने रहेछ । फेरि सुगमले गीतमा परदेशीहरूको पीडालाई पनि समेटिदिएका छन् । सयपत्री बहिनी, अर्काको देश र सम्झना, रातो अक्षता अनि जमरा, रातो निधार, आँसुको धारालगायतका शब्दहरूमा चाडले ल्याउने फरक भावहरू समेट्यो पनि :

अर्काको देशमा लैलै, सम्झना आ’को नि मैलाई लैलै

सयपत्री फूलेको आँगन लैलै, रातो अक्षता, जमरा लगाई लैलै

यता मेरो आँसुको धारा, उता होलान् रातै ती निधार

‘नेपालको हरेक घरका एक न एक जना विदेशमै हुन्छन् । सायद त्यसैले पनि गीतले त्यता पनि छोयो होला । समग्रमा यो गीतले खुसी, दुःख सबै कुरा समेटेको छ,’ सुगमले भने । सुगमका अनुसार बिदेसिने नेपालीहरूको जुन नियति छ, त्यही भावलाई पक्रेकै कारण पनि युट्युबमा सार्वजनिक गरेको ४ वर्षपछि गीतले चर्चा कमाएको हो ।

‘दसैं–तिहारमा विदेशमा रहनुभएका नेपालीहरूले नेपाललाई धेरै सम्झनुहुन्छ । उता पनि रमाइलो छ । तर, उहाँहरूले नेपाल, यताको परिवारलाई त सम्झनुहुन्छ,’ सुगमले भने, ‘नेपालीहरू अहिले विश्वका थुप्रै देशहरूमा छरिएर रहनुभएको छ । चाडमा देश फर्कन छुट्टी मिलाउनुपर्छ । सायद यसरी विदेशमा भएका नेपालीहरूले यो गीतलाई मन पराइदिनुभयो । उहाँहरूको अव्यक्त भावना, गीतले बोलिदियो ।’

सन् २०१४ तिर दसैं, चंगा अनि सुगम र छोरीको तस्बिरसहितको एउटा ‘मिम’ ले खुबै चर्चा पायो । त्यसपछि सुगमलाई गीतले चर्चा कमाइसकेको थाहा भयो । अहिले सुगमकी छोरी कक्षा १२ मा पढ्छिन् । ‘दसैं/तिहार’ को म्युजिक भिडियो खिच्दा उनी निकै सानी थिइन् । अहिले सुगम र छोरीलाई एकसाथ देख्नेहरू सोध्छन्, ‘दसैं–तिहारमा देखिएकी छोरी उनै हुन त ?’

हुन त यो गीतपछि पनि सुगमले दसैंसम्बन्धी २ गीत निकालिसके । तर, ‘दसैं–तिहार’ यस्तो गीत बन्यो, जसलाई सुगम करिअरकै सफल गीतका रूपमा चर्चा गर्छन् । ‘फेरि त्यो दिन’, ‘मेरो एउटा साथी छ’ लगायतका अरु थुप्रै गीत चले पनि, ‘दसैं–तिहार’ गीतले गर्दा म हरेक नेपाली घरको छोरो भएको छु । सायद यो गीतलाई अरु गीतले भेट्दैन पनि ।’ यसबीच कतिले सुगमलाई ‘दसैं–तिहार’ को नयाँ भर्सन ल्याउन सुझाउँथे । तर, उनले गीतको ‘ओरिजिनालिटी’ लाई चलाउन चाहेनन् ।

एक दशकदेखि दसैंमा सधैं बज्दै आएको यो गीत ‘धेरै बज्ने’ गरेको प्रतिक्रिया नआउने पनि होइनन् । दसैं नजिकिँदै जाँदा जहींत्यहीं यो गीत बज्दा दर्शक वाक्क हुँदो हो भन्ने सुगमलाई पनि लाग्छ । तर, दर्शकले दिएको मायाका लागि उनीसँग धन्यवादका लागि शब्द छैनन् । ‘यो गीत धेरै बज्न थाल्यो दाइ, दिक्कै लागिसक्यो भन्छन् । तर, उहाँहरूले नै फेरि गीतलाई माया पनि गरिदिनुभएको छ,’ सुगमले भने । ‘दसैं–तिहार’ बोलको यो गीतमा सुगमले दुई चाड समेटेका छन् । तर, यो गीतले तिहारभन्दा पनि दसैंको अपनत्व बढी पाएको छ ।

‘दसैं–तिहार’ को म्युजिक भिडियोसँग जोडिएको रमाइलो प्रसंग छ, सुगमसँग । हतारमा म्युजिक भिडियो खिच्दा सालोको दौरा–सुरुवाल मागेर लगाएका थिए उनले । भिडियो चाँडै सार्वजनिक गर्ने तयारी थियो । त्यसैले केही फुटेज टेलिभजनबाट मागे । केही दृश्य खिच्ने योजना बन्यो । श्रेसन र भीषण योञ्जन भिडियो निर्देशन गर्न तयार थिए । लुगाको जिम्मा सुगमलाई नै छाडिदिएका थिए । दसैंमा के लगाउने त ? सुगमको दिमागमा ठ्याक्क दौरा–सुरुवाल र ढाका टोपीको दृश्य घुम्यो । त्यतिबेला उनीसँग दौरा–सुरुवाल थिएन, सालोसँग मागेर त्यही लुगा लगाएर भिडियो खिचे । ‘त्यो दिन खिच्ने पनि सोच थिएन । भिडियो खिच्ने भन्ने भएपछि दाह्री काटें । अनि घरको कौसीमा गएर भिडियो खिचियो,’ सुगमले भने, ‘भिडियोमा काम गर्न म अल्छी पनि छु । त्यसैले मेरो भागको दृश्य घरको कौसीमा खिच्ने भनें, त्यसरी नै खिचियो ।’ २/३ दिन लगाएर खिचेको यो गीतको भिडियोमा सुगमको सासु र ससुरा पनि देखिएका छन् ।

टीका लगाउने दृश्यका लागि उनले नै सासु र ससुरालाई नै अनुरोध गरेका थिए । ‘बजारमा गीत चलोस् वा नचलोस्, म्युजिक भिडियो त बनाउनुपर्छ भन्ने थियो । खासमा अहिले गीत सुन्ने होइन, हेर्ने चलन छ । त्यसैले म्युजिक भिडियो बनायौं,’ सुगमले भने । भिडियोको अन्तमा माला उनेर दाइको पर्खाइमा बसेकी बहिनी अनि विदेशबाट फर्केको दाइको मिलन देखाइएको छ ।

सुगम तिहारमा दिदीबहिनीहरूले दाजुभाइहरूका लागि गरिएको पर्खाइको मिठो अनुभव भिडियोमा उतार्न चाहन्थे । ‘जीवनमा हाम्रो दुःख छ, अनेक छ । रोजगारीका लागि रहरले वा करले हामी विदेशमा छौं । तर, चाडबाडमा आफ्नो देश फर्किन पाए खुसी यतै छ भनेर देखाउन खोजेको थिएँ । मलाई यो गीतलाई संयोगान्त बनाउनु थियो । त्यसैले गीतमा पनि विदेशमा भएको दाइ तिहारमा घर फर्किएको देखाइएको छ,’ सुगमले भने, ‘त्यहाँ विदेशबाट एक जना पात्र मात्रै फर्किएको छ, अरु जो फर्कन सक्दैनन् उनीहरूले खादा लगाएर बिदाइ गरेको पनि देखाइएको छ ।’

सुपारी माला यो दाइलाई लैलै,

बाटोभरि आँखा ती फैलाई लैलै

बस्दै होली मेरी बहिनी लैलै,

दाजु आउने दिनहरू गन्दै लैलै

यसपालि पक्कै आउँछु म बहिनी,

सजाउनलाई आफ्नै त्यो संसार…

भिडियो सौजन्य : वन एम बि


ताजा खबर