महाकवि देवकोटाले नेपालको नाम विश्वभर चम्काउनुभयो

महाकवि लक्षमी प्रसाद देवकोटा सीधै अंग्रेजीमै पनि लेख्न सक्नुहुन्थ्यो। आफूले लेखेको ‘शाकुन्तल’ महाकाव्यलाई आफैंले अंग्रेजीमा अनुवाद पनि गर्नुभएङ्को थियो । नेपालमा पनि विश्वस्तरका साहित्य लेखिन्छन् भनेर अन्तर्राष्ट्रिय जगतलाई देखाउनुपर्छ भन्ने उहाँको अभिलाषा थियो। त्यसै कारण उहाँ तत्कालीन सोभियत संघको तासकन्द शहरमा आयोजित अफ्रो-एशियाली साहित्य सम्मेलनमा भाग लिन जानुभएको थियो । त्यसअघि पनि उहाँ भारत, रोमानिया, चीन लगायत देशका साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनुभएको थियो ।

हाकवि लक्षमी प्रसाद देवकोटा जसले धन कमाउनेतर्फ कहिल्यै आकृष्ट हुनुभएन, राष्ट्रको नाम कमाउने कार्यमा अहोरात्र जुटिरहनुभयो र नेपालको नाम विश्वभर चम्काउनुभयो । ती महापुरुष हुनुहुन्छ महाकवि लक्ष्मीप्रसाद देवकोटा । उहाँले नेपाली साहित्य क्षेत्रमा अतुलनीय एवं अद्वितीय गुण लगाउनुभएको छ । उहाँ एक असाधारण व्यक्ति हुनुहुन्थ्यो । उहाँको हृदय पनि त्यतिकै विशाल थियो । दया, माया र क्षमा भएका विराट् प्रतिभाशाली कवि हुनुहुन्थ्यो उहाँ । उहाँको मस्तिष्क ज्ञानैज्ञानको भण्डारण थियो । उहाँको कल्पना वा बौद्धिक शक्ति प्रचुर मात्रामा थियो । देखे, सुनेका कुराहरूलाई तुरुन्त कवितामा कोर्न सक्ने अद्भूत क्षमता उहाँमा थियो ।

यस्ता बहुआयामिक प्रतिभाका धनी महाकवि देवकोटाको जन्म विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाको दिन भएको थियो । लक्ष्मीको प्रसाद स्वरूप पाएको पुत्रको रूपमा सम्झी उहाँका मातापिता अमर राज्यलक्ष्मी तिलमाधव देवकोटाले लक्ष्मीप्रसाद नाम राख्नुभएको थियो । उहाँले १० वर्षको उमेरमा कविता कोरेर आफ्नो बहुमुखी प्रतिभाको परिचय दिनुभएको थियो । उहाँका कविताका पङ्क्ति यस प्रकार छन् :

घनघोर दुःख संसार जान भाइ

नगरे घमण्ड कहिले मर्नू छ हामीलाई ।। 

यस्ता गहन एवं तार्किक कविता कोरेपछि साथीभाइ र इष्टमित्रसमेत आश्चर्यमा पर्नुभएको थियो । यसरी उहाँको बाल्यकालदेखि नै साहित्यिक यात्रा सुरु भएको थियो तर उहाँको कविता प्रकाशन भने विसं १९९१ अर्थात् २५ वर्षको उमेरमा मात्र प्रकाशित भएको थियो । विसं १९९१ मा उहाँको ‘पूर्णिमाको जलधि’ र ‘गरिब’ नामक कविता गोरखापत्र र शारदामा प्रकाशित भयो । जुन कृतिबाट उहाँ चर्चाको शिखरमा पुग्नुभयो । त्यसपछि उहाँ निरन्तर आफ्नो साहित्यिक यात्रालाई अगाडि बढाउनुभयो । सर्वप्रथम कविताबाट साहित्यिक यात्रा थाल्नुभएका देवकोटाले थुप्रै साहित्यिक कृतिहरू कथा, नाटक, उपन्यास, निबन्ध, प्रबन्ध, खण्डकाव्य, महाकाव्य र लोकगीतको समेत सिर्जना गर्नुभयो । देवकोटाले आधा दर्जन जति महाकाव्य, डेढ दर्जन जति खण्डकाव्य र सयभन्दा बढी फुटकर कविता रचना गर्नुभयो । उहाँले एक दिनमा कुञ्जिनी, १० दिनमा सुलोचना र तीन महिनामा शाकुन्तल महाकाव्य लेख्नुभएको थियो ।

मुनामदन, लुनी, कुञ्जिनी, राजकुमार प्रभाकर, मायाविनी सर्सी, मैना, म्हेन्दु, दुष्यन्त शकुन्तला भेट, रावण जटायु युद्ध, सीता हरण जस्ता डेढ दर्जनभन्दा बढी खण्डकाव्य र महाराणाप्रताप, वनकुशुम र शाकुन्तल, सुलोचना, प्रमिथस र पृथ्वीराज चौहान जस्ता आधा दर्जन महाकाव्यको रचना उहाँले गर्नुभएको छ । वसन्ती गीतिकाव्य र चम्पा नामक उपन्यासको समेत पनि उहाँले रचना गर्नुभयो । कथामा उहाँको ‘तीज’ को कथा बढी प्रसिद्ध छ । मने उहाँको पहिलो कथा हो । नाटकमा भरत मिलन, रजतपूतरमणी, कृष्णाष्टमीका साथै सावित्री सत्यवान् रहेका छन् । नाटकमा सावित्री सत्यवान् उत्कृष्ट रहेको छ । त्यस्तै कविताको क्षेत्रमा उहाँको पागल कविता सर्वाधिक लोकप्रिय भएको छ । जुन कवितामा आफूलाई पागल भन्ने बुद्धिजीविहरूलाई व्यङ्ग्य प्रहार गर्दै कवितात्मक शैलीमा जवाफ फर्काउनुभएको छ । यो कविता अङ्ग्रेजीमा पनि अनुवाद भएको छ । त्यस्तै भिखारी, यात्री र प्रश्नोत्तर कविता पनि उत्तिकै पाठकहरूको मन जित्न सफल भएको छ । निबन्ध विधामा उहाँको ‘लक्ष्मी निबन्ध सङ्ग्रह’ र ‘दाडिमको रुखनेर’ बढी प्रसिद्ध छ । उहाँका सबै कृति उत्कृष्ट र गहन छन् । तर मुनामदनले उहाँलाई चर्चाको शिखरमा पु¥यायो । जुन कृति उहाँको अत्यन्त प्यारो थियो । उहाँले देहत्याग गर्ने बेला

भन्नुभएको थियो–“अरू सबै कृति जलाए पनि मेरो मुनामदन चाँहि नजलाउनू ।”

क्षेत्रीको छोरो यो पाऊँ छुन्छ, घीनले छुँदैन 

मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन ।।

यस कविताबाट प्रस्ट हुन्छ देवकोटा महान् उदारवादी कवि हुनुहुन्थ्यो । समाजमा ठुलो जाति र सानो जातिको नाममा भइरहेको विभेद र छुवाछुतलाई उहाँले आफ्नो कृति मार्फत तिखो प्रहार गर्नुभएको छ । उहाँ विशुद्ध प्रगतिवादी, मानवतावादी, क्रान्तिकारी कवि हुनुहुन्थ्यो भन्ने कुरा उहाँको पहाडी पुकार कविताबाट छर्लङ्ङ हुन आउँछ । त्यस्तै उहाँको रोमान्टिक क्रान्तिकारी गीति नाट्य ‘कृषिवाला’ लाई पनि हामी बिर्सन सक्दैनौँ । ‘आखिरमा रहेछ श्रीकृष्ण एक, नभो भक्ति नभो विवेक’ उहाँको अन्तिम कविता हो । मृत्यु शøयामा रहेका बेला महाकवि देवकोटाले उक्त धार्मिक भावले ओतप्रोत कविता रचेर आफ्नो साथीको हातमा राखिदिनुभएको थियो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी, प्रगतीवादी र राष्ट्रभक्तवादी कविको रूपमा प्रख्यात उहाँले नेपाली साहित्यमा विलियम शेक्सपियरको स्वच्छन्दतावादी धारालाई भिœयाउनुभएको थियो । त्यस्तै उहाँ समालोचनाका स्रष्टा पनि हुनुहुन्थ्यो । उहाँले समालोचनाको क्षेत्रमा समेत कलम चलाएर आफ्नो बहुआयामिक खुबीको उजागर गर्नुभएको थियो । उहाँको यही गुणले नै महाकविको दर्जामा पु¥यायो । सानै उमेरमा कविताको क्षेत्रमा आफ्नो प्रतिभा देखाउनुभएका देवकोटाले आफ्नो ज्ञानचक्षुद्वारा नेपाली साहित्यलाई सगरमाथा झैँ नयाँ उचाइमा पुर्याउनुभयो ।

महाकवि देवकोटा एक दक्ष भाषाविद् पनि हुनुहुन्थ्यो । नेपाली, संस्कृत, नेवारी, अङ्ग्रेजी, हिन्दी, उर्दू, बङ्गाली, फ्रेन्च, जर्मनी गरी नौ भाषाका ज्ञाता उहाँले विश्वप्रसिद्ध साहित्यकार शेक्सपियरको ‘म्याकवेथ’को नेपालीमा अनुवाद गर्नुभएको थियो । विसं २०१६ मा उहाँ नेपालको शिक्षामन्त्रीसमेत हुनुभएको थियो । शिक्षामन्त्री भएका बेला उहाँले नेपाली भाषा–साहित्यको विकासमा महìवपूर्ण योगदान दिनुभयो । उहाँले नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको स्थापना गर्नुभयो । साहित्यद्वारा नेपाली भाषाको विकास होस् भन्ने मूल उद्देश्यले उहाँले प्रतिष्ठानको स्थापना गर्नुभएको थियो । नेपाली साहित्यका सम्राट उहाँ एक जाज्वल्यमान तारा हुनुहुन्थ्यो । नेपाली साहित्यमा जीवन समर्पित गर्दागर्दै महापुरुष देवकोटाले विसं २०१६ भदौ २९ गते क्यान्सर रोगले ग्रसित भएर मृत्युवरण गर्नुभयो । उहाँको निधनसँगै नेपाली साहित्यमा अपुरणीय क्षति हुन पुग्यो जुन कहिल्यै पुरा हुन सकेन ।

कैयौँ मरेर गए खरानी भए, विलीन भए । निधन भए पनि नेपाली माटोमा उहाँ सदा अजर अमर हुनुभयो । नेपाल आमाको शिर युगयुगसम्म उँचो पार्नुभएका उहाँ नेपालीको मन मुटुमा बस्नुभएको छ ।


ताजा खबर