उपचार गर्दापनि ग्यास्ट्रिक निको नभएको भए , तपाइँलाई ग्यास्ट्रो एसोफेगल रिफ्लक्स डिजिज भएको हुनसक्छ

घाँटी पोल्ने, घाँटीमा केही अड्केको महशुस गर्ने, केही चिज खाएपछि अमिलो डकार, अमिलो पानी आउने या छातिको बीचतिर दुख्ने, छाति पोल्ने, सुक्खा खोकी लागिरहने लगायतका लक्षण महसुश गर्नुभएको छ ?

विशेष गरी पल्टेपछि वा सुतेपछि अथवा बिहानीपख यस्ता समस्या बढ्ने गरेको छ भने तपाइँलाई ग्यास्ट्रो एसोफेगल रिफ्लक्स डिजिज भएको हुनसक्छ ।

यो समस्या बिशेष गरी युवा वर्ग, महिला, मोटो ब्यक्ति, मानसिक तथा शारीरिक थकान बढी हुने किसिमका काम गर्ने व्यक्तिहरुमा यो समस्या देखिन्छ।

खानपिनको ख्याल नराख्ने, समयमा खाना खाजा नखाने, घर बाहिर बढी खाजा र खाना खाने ब्यक्तिहरुमा यो समस्या बढि हुन्छ।

रिफ्लक्सका अधिकांश बिरामी ‘ग्यास्ट्रिक’ भन्दै उपचार गराइरहेको पाइन्छ । समस्याको सही पहिचान समयमा नहुँदा मानिस  पनि ग्यास्ट्रिककै औषधि लामो समयसम्म खाइरहेका हुन्छन्। यसमाथि  धेरै बिरामीहरुले औषधि खाँदा हल्का निको भएको अनुभव पनि गर्छन तर, कति बिरामी त औषधि खाँदा ठीक तर औषधि छोड्न साथ गाह्रो महसुस गर्छन्।

लामो समयदेखि ग्यास्ट्रिकको औषधि सेवन गर्दै हुनुहुन्छ र पूर्ण रूपमा समस्या निको भाको छैन वा औषधिमा बानी परेको छ भने ख्याल राख्नुस्  तपाँईलाई  जिइआरडी (ग्यास्ट्रो एसोफेगल रिफ्लक्स डिजिज) पनि भएको हुनसक्छ। यसको उपचार ग्यास्ट्रिकको भन्दा केही फरक हुन्छ। एकपटक पेट तथा कलेजो रोग बिशेषज्ञकहाँ आएर सल्लाह गरी उपचार थाल्नु बुद्धिमानी हुन्छ ।

पानी बढी पिउने, हरियो साग सब्जी, तरकारी खाने, गिलो गरेर दाल भात खाने, खाजा राम्रो खाने। खाली पेट बस्दै नबस्ने तर खान पायो भन्दैमा धेरै टन्नै पनि नखाने। खाना खान साथ नपल्टने। खाना खाएको २ घण्टा पछि मात्र सुत्ने। बेलुका को खाना थोरै र हलुका खाने । दिन मा थोरै तर  ३/ ४ घण्टाको फरकमा पटक, पटक थोरै र हलुका केही खाइरहने। चिल्लो, पिरो, अमिलो, जंकफुड सकेसम्म नखाने। सिरानी हल्का अग्लो बनाएर सुत्दा समस्या कम हुनसक्छ।

नियमित व्यायाम, वजन घटाउने, रोगको सही पहिचान, डाक्टरको सल्लाह बमोजिम औषधी केही समय मिलाएर खानुपर्छ। यसो गर्न सके यो समस्याबाट टाढा रहन सकिन्छ।

(ग्याष्ट्रो एण्ड लिभर फाउण्डेशन नेपालका अध्यक्ष ,बरिष्ठ पेट तथा कलेजो रोग बिशेषज्ञ डा. अखिलेश कुमार कश्यपसँगको कुराकानीमा आधारित  आलेख )


ताजा खबर